बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दैलेखमा प्रहरीले युवालाई निर्घात कुटपिट गरेको भन्दै भिडियो भाइरल, के हो वास्तविकता ?

शुक्रबार, २८ कात्तिक २०८२, १६ : ५२
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा प्रहरीले युवाहरूलाई कुटपिट गरेको आरोप लागेको छ, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • घाइते युवाहरूले प्रहरी चौकीका असई धनसिंह ठकुरीलाई कारबाहीको माग गर्दै मानवअधिकार हनन गरेको आरोप लगाएका छन्।
  • प्रहरीले युवाहरूले होहल्ला गरेको र अटेर गरेपछि नियन्त्रणमा लिँदा सामान्य चोटपटक लागेको दाबी गरेको छ, घटनाको अनुसन्धान भइरहेको छ।

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँधमा प्रहरीले युवाहरूलाई निर्घात कुटपिट गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल छ ।

जम्बुकाँधस्थित प्रहरी चौकीका प्रमुख, असई धनसिंह ठकुरीले तीन युवालाई निलडाम हुनेगरी कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट चामुण्डाबिन्द्रासैनी–५ का प्रकाश थापा, वडा नम्बर ८ का लोकेश बुढा र वडा नम्बर ४ का सुशील शाही घाइते भएको बताइएको छ ।

सार्वजनिक भिडियोहरूमा युवाहरूको शरीरका विभिन्न भागमा लागेका निलडाम र चोटहरू देखिन्छन् । घाइतेमध्ये प्रकाश थापालाई गम्भीर चोट लागेको जनाइएको छ ।

स्थानीयले प्रहरी चौकी घेराउ गर्दै असई ठकुरीलाई तत्काल कारबाहीको माग गरेका छन् । उनीहरूले प्रहरीले मानवअधिकार हनन गरेको, युवाहरूलाई विनाकारण कुटपिट गरेको र असई ठकुरीले मदिरा सेवन गरी यो घटना गराएको आरोप लगाएका छन् ।

बिहीबार साँझ करिब ७ बजे घरतर्फ जाँदै गरेका युवाहरूलाई असई ठकुरीले नियन्त्रणमा लिएर कुटपिट गरेको भिडियोमा देखाइएको छ ।

के भन्छ प्रहरी ?

यसैबिच, जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष रोकायाले सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य नभएको दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले ती युवाले जम्बुकाँधस्थित एक होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको बताए ।

‘होटल बाहिर मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेका व्यक्तिहरूलाई स्थानीयको गुनासोको आधारमा नियन्त्रणमा लिएको हो,’ रोकायाले भने ।

उनले सुरुमा प्रहरीले सम्झाएर पठाउन खोज्दा युवाहरूले ‘प्रहरी को हो र ?’ भन्दै अटेर गरेको बताए । त्यसपछि नियन्त्रणको प्रयास गरिएको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुनसक्ने उनले बताए । केही पक्षबाट प्रहरीले एकतर्फी कुटपिट गरेको भन्दै भ्रम फैलाइएको उनको भनाइ छ ।

प्रहरी निरीक्षक रोकायाका अनुसार, घटनापछि शुक्रबार दिनभर जम्बुकाँध बजार र प्रहरी चौकी तनावग्रस्त बनेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयले एक प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल जम्बुकाँध पठाएको छ ।

‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । वस्तुस्थिति मूल्याङ्कन गरी थप कमजोरी भएको खण्डमा प्रहरी चौकी प्रमुख, असई ठकुरीलाई आवश्यक कारबाही गरिनेछ,’ रोकायाले भने ।

उनले प्रहरीले सबै पक्षको निष्पक्ष मूल्याङ्कन गरी सत्यतथ्य बाहिर ल्याउने र सोहीअनुसार आवश्यक निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप