गण्डकीको संसद् पशुपंक्षी निर्देशनालयमा सर्ने
पोखरा । जेनजी आन्दोलनमा कार्यालय सबै जलेपछि गण्डकी प्रदेश सभा बैठक २ महिना प्रभावित भयो । कात्तिक २४ गते आन्दोलनपछिको पहिलो बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बस्यो ।
त्यसका लागि भाडामा सामान ल्याएर तयार गरिएको थियो । तर सभाहल साँघुरो र सचिवालयका लागि आवश्यक कार्यालय नपुगेपछि वैकल्पिक ठाउँको खोजी गरिएको छ ।
अब संसद् बैठक सरकारले खारेज गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट चलाइने भएको छ । प्रदेश सभाको आफ्नै भवन तयार नहुँदासम्म निर्देशनालयबाटै काम चलाउने संसद् सचिवालयले जनाएको छ । निर्देशनालयलाई संसद्को रूपमा प्रयोग गर्न दिने निर्णय मन्त्रिपरिषद् बैठकबाट पनि भैसकेको सरकारका प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।
सभामुख कृष्ण धिताल काम चलाउन हिसाबले संसद् सार्न खोजिएको बताउँछन् । ‘अहिलेको सदन सकिएपछि तयारी गर्ने भनेका छौँ । सम्भवतः हिउँदे अधिवेशन त्यहाँबाट सुरु हुन्छ,’ उनले भने, ‘सभाहल हेर्दा काम चल्छ भन्ने रिपोर्ट आएको छ । कोठाहरू पुग्ने गरी पर्याप्त त छैनन् । काम चलाऊ हिसाबले सर्न लागेका छौँ ।’ निर्देशनालयमा सर्दा खासै धेरै खर्च पनि नलाग्ने उनको भनाई छ । ‘धेरै ठुलो खर्च लगाउने सोच हाम्रो छैन । त्यसैले भाडाका भवन खोज्नुभन्दा र नयाँ खर्च गर्नुभन्दा भइरहेको कार्यालय चलाउँदा राज्यलाई पनि नोक्सान हुँदैन,’ उनी भन्छन्, ‘निर्देशनालयबाट काम चल्छ भनेपछि हामी सर्ने निर्णयमा पुग्यौँ ।’
आन्दोलनका क्रममा भएको प्रदेश सभाको मात्र १६ करोड २५ लाख भन्दा बढीको क्षति भएको छ । आगजनीले दुई तले प्रशासनिक भवन, सभाहल, संसदीय दलका कार्यालयहरू, संसदीय समितिका भवन, पुस्तकालयदेखि सबै जलेर नष्ट भएका छन् । भवनभित्र रहेका सबै कम्प्युटर, ल्यापटप, अन्य सामग्रीहरू लुटपाट र आगजनीबाट जलेको छ । संसद्ले प्रयोग गर्दै आएको चार पाङ्ग्रे ६ वटा गाडी र १२ वटा दुई पाङ्ग्रे गाडी जलेका थिए । प्रदेश सभा स्थापनादेखि हालसम्मको सबै अभिलेख समेत जलेर नष्ट भएको सचिवालयले जनाएको छ ।
बन्दै गरेको कार्यालय तयार भएपछि संसद् नदीपुरमै सर्ने छ । नदीपुरमा यसअघि संसद् भवन भएकै ठाउँ नजिक नयाँ कार्यालय भवन निर्माण भइरहेको छ ।
२५ करोड लागतमा बन्ने भवन तयार हुन अझै २ वर्ष लाग्छ । अस्थायी व्यवस्थापनका रूपमा नयाँ ठाउँको खोजी गरिएको संसद् सचिव गोविन्द पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
-
बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना
-
इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना
-
अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइन
-
घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण