बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

हामी विश्व राजनीतिको नवयुगमा छौँ

तपाईँलाई पोलिसिनमा स्वागत छ, यो युग पक्कै गज्जब हुनेछ
शनिबार, २९ कात्तिक २०८२, १० : ४०
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • लेखकले वर्तमान युगलाई ‘पोलिसिन’ (बहुविध) युगको रूपमा चिनाएका छन्, जसमा बहुपक्षीयता र जटिलता प्रमुख छन्।
  • लेखमा जलवायु परिवर्तन, प्रविधि, भूराजनीति र बहुआयामिकताका कारण सिर्जित नयाँ अवस्थाको चर्चा गरिएको छ।
  • लेखकले अमेरिका, चीन र रुस जस्ता देशहरूले सहकार्य र सहअस्तित्वका माध्यमबाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

केही वर्षयता म आफैसँग कहिल्यै नसोधिएको एउटा प्रश्न गर्दैछु– हामी बाँचिरहेको युगलाई के भनेर चिन्ने ?

म ‘शीतयुद्ध’ को युगमा जन्मिएको मान्छे हुँ । मेरो लेखकीय जीवनको धेरैजसो समय ‘शीत युद्धोत्तर’ कालमा बित्यो । सन् १९८९ पछिको यो अवधि अमेरिकी प्रभुत्व चलेको अवधि थियो । शीत युद्धोत्तर अवधि पनि सन् २०२० को दशकमा अफगानिस्तानबाट अमेरिकाको भद्रगोल शैलीको बहिर्गमन तथा युक्रेनमा रुसको आक्रमणसँगै अन्त्य भयो । 

यी घटनाक्रमले युरोपमा शीत युद्ध र त्यसपछिको सुरक्षा प्रबन्ध (आर्किटेक्चर) लाई ध्वस्त बनाइदिए । यी सबै घटनाक्रमका बिच अमेरिकासँग आर्थिक र सैन्य क्षेत्रमा हाराहारीको प्रतिद्वन्द्विका रुपमा चीनको उदय पनि जोडिन आइपुग्यो ।

आज हामी बाँचिरहेको युगको नामकरणका सन्दर्भमा यसलाई ‘उत्तर शीत युद्धोत्तर’ युग पो भन्ने हो कि, भन्ने पनि नलागेको होइन । तर त्यसले खास अर्थ नदिने देखियो । आज हामी यस्तो अवस्थामा आइपुगेका छौँ, जहाँ सन् १९४० को दशकमा सुरु भएको दुई ध्रुवीय विश्व व्यवस्थाको अन्त्यसँगै झनै नयाँ र झनै जटिल परिस्थितिहरू सिर्जना भएका छन् । हामी यसैमा घुलमिल भएर बस्नुपरेको छ । यस्तोमा प्रश्न उठ्छ– यो युगलाई के नाम दिने होला ?

जलवायुको क्षेत्रमा काम गर्ने धेरै वैज्ञानिकहरू आजको युगलाई ‘एन्थ्रोपोसिन’ भन्नु पर्छ भन्दैछन । ‘एन्थ्रोपोसिन’ अर्थात मानव गतिविधिले जलवायुमा हेरेफेर गर्न सुरु गरेको युग । प्रविधि क्षेत्रमा काम गर्नेहरु ‘इन्फरमेसन एज’ अर्थात सूचनाको युग वा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात कृत्रिम वैदिकताको युग भन्ने गर्छन् । 

केही रणनीतिकारहरू ‘भूराजनीति फर्किएको’ समय भन्छन् । इतिहासकार रोबर्ट कागानले अहिलेको समयलाई ‘जङ्गलहरू पुनः हुर्कन थालेको’ अवस्था भन्ने गरेका छन् । यी कुनै नामले पनि अहिलेको समयलाई पूर्ण रूपमा अभिव्यक्त गर्दैन । 

बढ्दो जलवायु परिवर्तन एवं प्रविधि, जीवविज्ञान, ‘कनेक्टिभिटी’, भौतिक विज्ञान, भूराजनीति तथा भू–अर्थनीतिमा भएको रूपान्तरणको मिश्रणले अहिलेको मौलिक अवस्था सिर्जना गरेको छ । यस्तो मिश्रण र अन्य विषयको सम्बन्धबाट नयाँ अवस्था सिर्जना हुँदैछ । आजका दिनमा जताततै द्विपक्षीय वा ‘बाइनरी’ प्रणाली सकिएर बहुपक्षीय प्रणाली उदाउँदै गरेको देखिन्छ । 

कृत्रिम बौद्धिकताको क्षेत्रमा ‘पोलिम्याथिक आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ आउँदैछ । जलवायु परिवर्तनले ‘बहुपक्षीय सङ्कट’ वा ‘पोलि–क्राइसिस’ सिर्जना गर्दैछ । भूराजनीतिमा ‘बहुकेन्द्रिय’ तथा ‘बहुसम्बन्ध’ सहितका  पंक्तिबद्धता (अलाइनमेन्ट) देखिन थालेका छन् । कुनै समय हाबी रहेको द्विपक्षीय व्यापार अहिले ‘बहु–आर्थिक’ आपुर्ति सञ्जाल बन्न थालेको छ । आजको दिनमा हाम्रो समाज पनि ‘बहुरुपि’ इन्द्रेणी जस्तै बन्दैछ ।

सन् १९४० को दशकमा सुरु भएको दुई ध्रुवीय विश्व व्यवस्थाको अन्त्यसँगै झनै नयाँ र झनै जटिल परिस्थितिहरू सिर्जना भएका छन् । यस्तोमा प्रश्न उठ्छ– यो युगलाई के नाम दिने होला ?

वैदेशिक मामलाका स्तम्भकारको रूपमा म अहिले केवल महाशक्तिहरूको प्रभाव र अन्तरक्रिया मात्रै नियालिरहेको छैन । यसका साथै ‘सुपर–इन्टेलिजेन्ट’ यन्त्रहरु, महा–सशक्तिकरण भएका व्यक्तिहरू तथा उनीहरुले आफ्ना सुपर–ग्लोबल कर्पोरेसनहरू फैलाइरहेको पनि हेर्दैछु । यस्तो विस्तारले सिर्जना गरेका ठुला तुफान देख्दै छु । साथै लिबिया र सुडान जस्ता ‘सुपर–फेलिङ स्टेट’ अर्थात अति–असफल राज्यहरु पनि देख्दै छु ।

म एक दिन माइक्रोसफ्टका अनुसन्धान तथा रणनीति विभागका पूर्व–प्रमुख क्रेग मुन्डीसँग यत्तिकै गफिँदै थिएँ । कुराकानीका क्रममा मैले आफ्नो लेखनको क्षेत्रमा पछिल्लो समय ‘लेफ्ट–राइट’ वाला परम्परागत विभाजन हराउँदै गएर बहुल प्रकारका तथा आपसमा जोडिने प्रणालीहरू देखा पर्दै गएको बताएँ । यसै प्रक्रियामा शीत युद्ध र शीत युद्धोत्तर समयका सैद्धान्तिक प्रस्थापनाहरू पनि हराउँदै गएको उल्लेख गरेँ । 

worldorder

हाम्रो कुराकानीकै क्रममा उनले भने, ‘यो नवयुगलाई तपाईँले पोलिसिन भन्नुपर्छ ।’

यो शब्द शब्दकोषमा थिएन । हाम्रो छलफलमै एकाएक बन्यो । ग्रीक शब्द ‘पोलि’ को अर्थ धेरै वा ‘बहु’ भन्ने हुन्छ । झट्ट सुन्नासाथ मलाई यही शब्द आजको युगको नाम राख्न काम दिन्छ जस्तो भान भयो । स्मार्टफोन, कम्प्युटर तथा चौतर्फी आपसी सम्पर्क, सम्बन्ध, सञ्जाल वा कनेक्टिभिटीका कारण आज प्रत्येक व्यक्ति तथा यन्त्रसँग आफ्नो आवाज छ । एक–अर्कोलाई प्रभाव पार्न सक्ने केही आधार छ । यस्तो सम्बन्ध यसअघि कहिल्यै कल्पनासमेत गर्न नसकिने आकार र गतिमा पनि छ ।

त्यसैले आजको युगलाई हामी– ‘पोलिसिन’ अर्थात बहुविध युग भन्न सक्छौँ । 

तपाईंलाई पोलिसिनमा स्वागत छ । यो युग पक्कै गज्जब हुनेवाला छ ।

मान्छे भन्दा उन्नत

पोलिसिनबारे आफ्नो बुझाई तय गर्न मैले विभिन्न चरण पार गरेको छु । ‘च्याटजीपीटी’ सार्वजनिक भएको दुई वर्षपछि अर्थात सन् २०२४मा म उनै मुन्डीसँग कृत्रिम बौद्धिकताबारे बुझ्न र छलफल गर्न थालेको हुँ । मेरो सौभाग्य नै भन्नुपर्छ, मैले विभिन्न विषयका विज्ञहरुको सञ्जाल नै विकास गर्ने मौका पाएको छु । म उहाँहरूलाई आफ्नो गुरु मान्छु, जसमध्ये मुन्डीसँग भने मैले भेटेरै लामो छलफल गर्ने तथा ‘कम्प्युटिङ’ बारे विस्तृतमा बुझ्ने अवसर पाएको छु ।

संसारभर शक्तिको स्वरूप कसरी फेरिँदै छ भन्नका लागि मेरो पहिलो ध्यान पेन्टागन वा अमेरिकाको विदेश मन्त्रालयमा हुँदैन । बरु म त्यसबारे गहिरोसँग बुझ्नका लागि सिलिकन भ्यालीका ‘एप्लाइड मेटेरियल’ प्रयोगशाला हेर्न पुग्छु ।

उनले व्याख्या गरेको पहिलो विषय एआई क्रान्तिले सिर्जना गर्न सक्ने भनिएको ‘पोलिम्यथिक आर्टिफिसियल इन्टेलिजेन्स’ बारे थियो । त्यो भनेको यस्तो यन्त्र हो, जसले भौतिकशास्त्र, जीवशास्त्र, रसायनशास्त्र, कम्प्युटर विज्ञान, दर्शनशास्त्रको अध्ययन मात्रै नभएर मोजार्ट, सेक्शपियरका रचनाको अध्ययन तथा उच्च कोटिमा सिर्जना गर्न सक्छ । वेसबल लगायतका खेलमा पनि मान्छेभन्दा राम्रो गर्न सक्छ । सबै क्षेत्रमा उच्चस्तरीय तर्क गर्नसक्छ । मान्छेले कहिल्यै गर्न नसक्ने नयाँ–नयाँ कामहरू पनि गर्न सक्छ ।

केही विज्ञहरू हामी कहिल्यै पनि त्यस्तो ‘पोलिम्याथिक एजीआई’ बनाउनै सक्दैनौ भन्ने तर्क पनि गर्छन् । तर मुन्डी जस्ता धेरै विज्ञहरू भने ढिलो चाँडो बनेरै छोड्ने तर्क गर्छन् । चेतनाको विकासमा अहिलेको समाज भीमकाय परिवर्तनको संघारमा छ । हामी ‘प्रोग्रामेबल कम्प्युटिङ’ को चरणमा थियौँ, जहाँ मान्छेले ‘प्रोग्राम’ मार्फत दिएको निर्देशन मात्रै कम्प्युटरहरुले पालना गर्थे । 

अब हामी त्यसबाट ‘पोलिम्याथिक एजीआई’ मा जादैछौँ । जसमा अब हामीले कस्तो नतिजा खोजेको हो भन्ने मात्रै निर्देशन दिँदा पुग्छ । एआईले आफ्नै सृजनशीलता, बुझाई तथा व्यापक ज्ञानको मद्दतले काम गरेर नतिजा दिन्छ । मुन्डीका अनुसार– हामी मान्छेले कतिसम्म कल्पना गर्न र ‘प्रोग्राम’ गर्न सक्छ भन्ने अवस्थाबाट कम्प्युटरले कतिसम्म कल्पना गर्न र रचना गर्न सक्छ भन्ने समयमा जादछौँ । यही नै कम्प्युटिङको नयाँ चरण विकासको अवस्था हो । साथै प्रजातिस्तरमै आधारभुत परिवर्तनको अवस्था पनि हो ।

माइक्रोचिपको उदविकास

सबै पछिल्ला प्राविधिक विकासहरुका पछाडि ‘बाइनरी’ बाट ‘पोलि’ तर्फ थप विकास हुँदै गरेका माइक्रोचिपहरुको भूमिका छ । बाइनरी युगमा चिफहरूले शृङ्खलाबद्धरुपमा तथ्यांकको प्रशोधन गर्थे । ‘०’ र ‘१’ को स्वरुपमा निर्देशनको कार्यान्वयन र नतिजा तयार हुन्थ्यो । अबको पोलियुगमा भने चिफहरूले समानान्तर रूपमा काम गर्छन् । एकैसाथ हजारौँ स–साना कामहरू सम्पन्न हुन सक्छन् । यसो गर्दा एकैसाथ सम्पन्न हुँदै गरेका काम आपसमा सम्बन्धित हुन पनि सम्भव हुन्छ । 

सन् २०००को दशकमा समानान्तर प्रशोधनको क्षेत्रमा भएको विकासले आजको एआई बन्न सम्भव तुल्याएको थियो । यसले कम्प्युटरको ‘मस्तिष्क’मा ठुलो मात्रामा तथ्याङ्क राख्न तथा तिनीहरूको बिचमा ‘न्युरल नेटवर्क’ तयार गर्न सम्भव बनायो । जसमा ’पारामिटर’ भनिने मसिना प्रबन्धहरू अर्बौको संख्यामा प्रयोग गरेर यन्त्रलाई तालिम दिन सकिने भयो । एआईले सिक्दै जाँदा त्यस्ता प्रबन्ध (सेटीङ्) हरु आपसमा समायोजन गर्दै जान्छ । यसरी विभिन्न पद्धतिमार्फत यन्त्रहरू बिस्तारै थप ‘स्मार्ट’ बन्दै जान्छन् । 

म पछिल्लो समय ‘कम्प्युटिङ’ को क्षेत्रमा भएको विकासक्रमलाई मसिनो गरी नियाल्ने प्रयास गरिरहेको छु । संसारमा शक्ति कसरी फेरिदैछ भन्दै गर्दा मेरो पहिलो ध्यान प्रायः पेन्टागन वा अमेरिकाको विदेश मन्त्रालयमा हुँदैन । बरु म त्यसबारे गहिरोसँग बुझ्नका लागि सिलिकन भ्यालीका ‘एप्लाइड मेटेरियल’ प्रयोगशालामा हेर्न पुग्छु । त्यहाँ विभिन्न सटिक यन्त्र तथा सामाग्री तयार गरेर ‘एनभिडिया’, ‘टी.एस.एम.सी.’, ‘इन्टेल’ तथा ‘सामसङ’ जस्ता कम्पनीलाई उपलब्ध गराइन्छ । जसले पछिल्लो पुस्ताका अत्याधुनिक माइक्रोचिप निर्माण गर्छन् । 

यसरी ‘एप्लाइड मेटेरियल’ को अवस्था हेर्दा प्राविधिक विकासको दौडमा कुन मुलुक अगाडl छन् र कुन पछि पर्दैछन भन्ने अरु भन्दा पहिले नै थाहा पाउन सकिन्छ ।

मैले पछिल्लो समय ध्यान दिँदै गरेका गुरुहरुमा ग्यारी डिकर्सन तथा ट्रिस्तान होल्टाम पनि हुन । उनीहरु वर्षौदेखि कसरी ‘पोलिमोर्फिक चिप’ का कारण हामी पोलिम्याथिक एआई बनाउन सक्षम हुँदैछौ भनेर मलाई बुझाई रहेका छन् । 

होल्टाम भन्छन्, ‘हामी मोनोलिथिक डिजाइनबाट अब विखण्डित डिजाइनमा गईरहेका छौँ । जहाँ ‘चिप’ हरु अझ मसिना ‘चिपलेट’ मा विभाजित हुन्छन । हरेकको आफ्नै विशेष भूमिका हुन्छ । यी सबै अन्ततः एकीकृत प्रणालीमा समाहित हुनपुग्छन ।’ 

त्यसले ‘एउटै प्रणालीलाई पनि लजिक, मेमोरी, सञ्चार तथा ग्राफिक्स जस्ता विभिन्न काम गर्न सक्ने प्याकेज बनाउन सजिलो हुन्छ । यी प्रणालीहरू आपसमै सह–अस्तित्वमा रहँदै थप दक्षता हासिल गर्दै जान सम्भव हुन्छ ।’, उनी थप्छन । यसरी कम ऊर्जा खपतमा थप बढ्ता कम्प्युटिङ क्षमता हासिल हुँदै जान्छ ।

जब डिजाइनरहरु द्वि–आयामिक प्रणालीमा अर्को विशेषता थप्छन पुरै प्रणाली त्री–आयामिक बन्छ । चिपहरु सर्किटका विभिन्न तह बन्दै नयाँ स्तरमा पुग्छन् । ट्रान्जिस्टरका स–साना सेलहरू जोडिएर ‘माइक्रोस्कोपिक’ वा अझै भनौँ ‘नास्कोपिक वायरिङ’ हुँदै थप विकसित हुँदै जान्छन् । विस्तारै चिपको क्षमता बढ्दै जान्छ । सिक्ने, पूर्वानुमान गर्ने तथा निर्णय गर्ने क्षमता बढ्दै जान्छ ।

यी सबै आपसमा मिल्दै जाँदा पोलिसिनको सिलिकन तयार हुने आधार खडा हुन्छ । जसमा एकसाथ विभिन्न खालका ‘इन्टेलिजेन्स’हरु आपसमा जोडिदै सँग–सँगै सिक्दै, विकसित हुँदै जान्छन् ।

जलवायु संकटदेखि पोलिक्राइसिससम्म

सन् २०२४ मा मलाई एआईबारे बुझाउने गुरु मुन्डीसँगको पढाईको एक हफ्तापछि वातावरणबारे सिकाउने गुरु जोहान रकस्ट्रोमको इमेल आयो । हाल ‘पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट रिसर्च’ का निर्देशकका रुपमा कार्यरत उनी विश्वकै प्रमुखमा गनिने पृथ्वी प्रणालीका वैज्ञानिक हुन । उनी र उनका अन्य विज्ञ साथीहरू मिलेर न्युयोर्कमा जलवायु सप्ताह सञ्चालन गर्दै रहेछन । जसमा मलाई सहजकर्ताको भूमिका लिन अनुरोध गरिएको थियो । 

उनको आग्रहलाई सहर्ष स्विकार गर्दै मैले कार्यक्रमको मुख्य विषयबारे जिज्ञासा राखेँ ।

उहाँले भन्नुभयो, ‘कार्यक्रम पोलिक्राइसिस अर्थात बहु–संकट बारे हुनेछ ।’

मलाई लाग्यो, ‘ओहो यो त गज्जब कुरा हो ।’ 

हामी मोनोलिथिक डिजाइनबाट विखण्डित डिजाइनमा गइरहेका छौँ, जहाँ ‘चिप’हरु अझ मसिना ‘चिपलेट’मा विभाजित हुन्छन् । त्यसमा लजिक, मेमोरी, सञ्चार तथा ग्राफिक्स जस्ता विभिन्न काम गर्न सक्ने प्याकेज बनाउन सजिलो हुन्छ ।

मलाई मेरा एआई गुरुले ‘पोलिम्याथिक एआई’ बारे बताउँदैछन । माइक्रोचिपका गुरुले ‘पोलिचिप’ बारे भन्दैछन । यता पर्यावरण गुरुहरु ‘पोलिक्राइसिस’ बारे कुरा गर्दैछन । जताततै पोलि (बहुविध) को कुरा छ । के हो यो ?

पोलिक्राइसिस अर्थात बहु–संकट शब्द दशकौँदेखि प्रयोगमा थियो । तर, यसलाई लोकप्रिय बनाउने काम भने कोलम्बिया विश्वविद्यालयका इतिहासकार आडम टुजले गरेका हुन । उनले कसरी कोभिड वा युक्रेन युद्ध जस्तो एउटा संकटले अरु संकटलाई बढाउँदै संसारभर विभिन्न संकट सिर्जना गर्दैछ भन्ने अर्थमा यसको प्रयोग गरेका थिए ।

रकस्ट्रोम र होमर–डिक्सनले यस्तै अवधारणालाई फैलिँदो पर्यावरणीय संकटको सन्दर्भमा प्रयोग गरेका थिए, जहाँ हाम्रो ‘धर्तिको सीमा’ नै पार गर्ने संकटबारे चर्चा गरिएको थियो । हाम्रो जलवायुको स्थायित्व, हाम्रा समुद्रहरूको अवस्था, जङ्गल तथा माटो जस्ता आपसमा जोडिएका जीवन प्रदायी प्रणालीहरू, जसको संरक्षण मानवताको सुरक्षा तथा प्राकृतिक जगतको सशक्तिकरणका लागि आवश्यक हुन्छ । यीनकै चर्चा हुने गरेको थियो ।

दशकौँदेखि जब हामी जलवायु परिवर्तनको कुरा गथ्र्यौं, हाम्रो भाष्य सामान्य र बाइनरी नै हुन्थ्यो । अर्थात थप तातो हुनु खराब र ताप घट्नु राम्रो भन्ने गरिन्थ्यो ।

जलवायु परिवर्तनबारेको चिन्तनमा समय अनुसार परिवर्तन हुँदै आएको छ । रकस्ट्रोमको बिचारमा जलवायु परिवर्तन यस्तो झिल्को बनेको छ, जसले आपसमा जोडिएका धेरै संकटहरु सल्काइदिन्छ । सबै संकटहरुले एकमुष्टमा पृथ्वीलाई अप्ठेरोमा पुर्‍याउँछन् । पृथ्वीको तापक्रमको नियमन गर्न सक्ने ध्रुवीय क्षेत्रको हिउँको सतहमा निरन्तरको गिरावट तथा अमेजनको जङ्गलमा भएको विनाश जस्ता घटनाले हामीलाई जिवाष्म इन्धनको प्रयोग बेगर पनि निरन्तर तापक्रम वृद्धिको बाटोमा पुर्‍याइ दिन्छन । जसले थप खडेरी, बाढी, डढेलो, वालिमा देखिने समस्या तथा समुद्री सतहमा वृद्धि जस्ता अवस्था बढाउन भूमिका खेल्छन । 

फलस्वरुप आर्थिक संकट, झट्का, ठूलो संख्यामा हुने बसाईसराई, कमजोर राज्यहरू असफल हुने तथा वैश्विक रुपमा विश्वासको संकटलाई बढाउँदै लैजान्छ ।

सन् २०२२ को नोभेम्बर १३ मा न्युयोर्क टाइम्समा रकस्ट्रोम र होमर–डिक्सनले लेखेको लेखमा पृथ्वीलाई बहुसंकटको दिशामा धकेल्ने दुई कारक तत्वबारे चर्चा गरिएको छ । पहिलो, मानवजातीले गर्ने स्रोत साधनको उपभोग तथा प्रदूषण उत्सर्जनको स्तर हो । यसले आफै सुरक्षित रहन सक्ने प्राकृतिक प्रणालीलाई झन्–झन् कमजोर पार्दैछ । जलवायुमा तापक्रम बढ्ने प्रक्रिया थप खराब हुँदै गएको छ । जैविक विविधतामा ह्रास हुँदैछ । तथा विभिन्न भाइरसहरु निस्केर महामारी फैलिने सम्भावना बढेको छ । 

दोस्रो, ‘हाम्रो आर्थिक तथा सामाजिक प्रणालीको व्यापक अन्तर्सम्बन्ध’ हो । यी दुई विशेषताका कारण एउटा मुलुक वा समुदायमा देखिएको समस्या असाध्यै छिटो अन्यतर्फ फैलिन्छ । कुनै सीमाले त्यसलाई रोक्न सक्दैन । सन् २०११ मा मैले यस्तै दृष्य सिरियामा देखेको थिएँ । मैले त्यसको रिपोर्टिङ पनि गरे । 

सिरिया, शताब्दीमै एक पटक हुने खालको खडेरीको मारमा पर्‍यो । ग्रामीण भेगका हजारौँ मानिस छेउछाउका सहरहरूमा ओइरिन थाले । धेरै जसो एलेप्पो तथा दमास्कस जस्ता सहरमा केन्द्रित भए । बढ्दो जनसंख्या तथा खडेरीले त्यहाँ खाद्यान्नको मूल्य आकासियो, बेरोजगारी बढ्न थाल्यो, लामो समयदेखि विद्यमान जातीय तथा समुदायगत समस्याहरू सतहमा देखिन थाले । ठिक त्यहि बेला सिरियालीहरुको हातमा मोबाइल फोन आइपुग्यो । उनीहरुले मोबाइलमा इजिप्ट तथा ट्युनिसिया जस्ता मुलुकमा चलेका आन्दोलन हेर्न थाले । बढ्दो खाद्यान्नको मूल्यका कारण भड्किएको भिड अब त्यस्तै आन्दोलनमा लाग्यो, जसले सिरियालाई नै अर्कै अवस्थामा पुर्‍याइदियो । सिरियाले के–के भोग्नु पर्‍यो भन्ने हाम्रा सामु छँदैछ ।

भूराजनीतिक बदलाव

विखण्डित राज्यहरू तथा शीत युद्धकालकालीन गठबन्धनमा आएको खण्डीकरणले भूराजनीतिलाई बहुपक्षीय बनाइदियो ।

सन् २०११मा इतिहासकार वाल्टर रसेल मिडले सन् १९९०को दशकमा सोभियत संघको विघटन गराउने क्रान्ति पश्चात् रुसीहरूमाझ लोकप्रिय एउटा भनाई उल्लेख गरेका थिए । ‘माछाको सुपलाई अक्वारियम बनाउनु भन्दा माछा राख्ने अक्वारियमलाई नै सुप बनाउन सजिलो छ ।’ यो उक्ति अहिले अरु देशको हकमा पनि सान्दर्भिक हुन पुगेको छ ।

आजको संसारमा कतै पनि एउटा पक्षले एक्लै तयार गरेको उत्पादन अर्को पक्षले बेच्ने भन्ने हुँदैन । उत्पादन र व्यापार सबैमा धेरै पक्ष संलग्न हुन्छन् । २१औँ शताब्दीमा चल्ने व्यापारिक सञ्जाल आपसमा छेडखानी गरेर चल्दैन । यो विश्वासमा चल्छ ।

युरोप, मध्यपूर्व हुँदै अफ्रिकादेखि ल्याटिन अमेरिकासम्म धेरै अक्वारियमहरु साम्प्रदायिक, जातीय वा सञ्जालिय तथा अति सशक्तीकरण गरिएका लडाकुहरूका कारण माछाको सुपमा बदलिए । यसैकारण राष्ट्रपति ट्रम्पलाई गाजामा अस्थायी युद्धविराममा सहमति गराउन पनि धेरै समय र प्रयासको आवश्यकता भयो । त्यहाँ शान्ति सम्भव भएको खण्डमा पनि वास्तविक शान्ति ल्याउन उनको बाँकी कार्यकाल पुरै लाग्न सक्छ ।

सन् १९७८ ताका मैले पत्रकारिता सुरु गर्दा पुरै विश्व वाइनरि समूहमा परिभाषित थियो । पूर्व–पश्चिम, साम्यवादी–पुँजीवादी, उत्तर–दक्षिण यस्तैमा विभाजित थियो । धेरै जसो मुलुकहरू यीनै दुई क्लब मध्ये एकमा समाहित हुन्थे । आजका दिनमा सबैले आफ्ना साझेदार सजिलै हेरफेर गर्न सक्ने भएका छन् । युक्रेनको विरुद्ध इरान रुसको पक्षमा उभिएको छ । उता चीन भने रुस र युक्रेन दुबैतिर ड्रोनको प्रविधि उपलब्ध गराइरहेको छ । इजरायलले इसाई आर्मेनियाका विरुद्ध मुस्लिम अजरबैजानको पक्ष लिएको छ ।

भूराजनीतिक जोखिमहरुबारे विभिन्न आलेखहरू प्रकाशन गर्ने ‘सेकडेभ’ मा लेख्दै राष्ट्रिय सुरक्षा मामलाका विज्ञहरू रोबर्ट मुग्गाह र मार्क मेदिसले भनेका छन्, ‘शक्तिको प्रसार केवल अमेरिका, युरोप, चीन वा रुसमा मात्रै सीमित छैन ।’ उनीहरू थप्छन, ‘ब्राजिल, भारत, टर्की, खाडी मुलुकहरू, दक्षिण अफ्रिका जस्ता मध्यम शक्तिहरू पनि शक्तिको अभ्यास गरिरहेका छन् । यसलाई कूटनीतिज्ञहरू मल्टिअलाइनमेन्ट अर्थात बहुपक्षीय संलग्नता भन्ने गर्छन् । 

उनीहरू कुनै एउटै कित्तामा उभिने भन्दा पनि प्रत्येक मुद्दामा आफूलाई फाइदा हुने ठाउँमा रहने गरेका छन् । भारतले रुसी तेल भारी छुटमा किन्छ साथै पश्चिमा मुलुकहरूको लगानी र प्रविधि भित्र्याउँछ । ब्राजिलले चीनसँगको व्यापार विस्तार गर्दै लगेको छ भने सँगै वासिङ्टन र ब्रसेल्सबाट जलवायु वित्त प्राप्त पनि गरिरहेको छ ।’

अहिलेको युद्ध पनि न्युन मात्रामा मात्रै बाइनरी छ । जताततैबाट ‘हाइब्रिड’ आक्रमण हुने गरेको छ । युद्ध मोर्चा नै बहुविध (पोलि) हुँदै गएको छ । भ्लादिमिर पुटिन युक्रेनमा जमिनी आक्रमण गरेर युद्ध लड्दै छन् । साथै पश्चिम युरोपसँग भने साइबरस्पेसमा लड्दै छन् । यो त्यस्तो स्पेस हो जहाँ सबै जोडिएका हुन्छन् तर कसैको नियन्त्रण हुँदैन ।  

20220902_FLP001

साइबर युद्धमा पुटिनका छद्म लडाकुहरू युरोपेली संघ अन्तर्गतका मुलुकमा हुने निर्वाचनमा मिथ्या सूचनाको अभियानसहित उपस्थित भएको मानिन्छ । पश्चिम युरोपको हवाई क्षेत्रमा ड्रोनहरु पठाइन्छ । हुँदाहुँदा गत अगष्टमा त युरोपेली परिषदकी प्रमुख उर्सुला वोन डर लियन चढेको हवाइजहाजको ‘जीपीएस’ प्रणाली नै अवरुद्ध हुन पुग्यो । बुल्गेरिया माथिको आकाशमा उडिरहेको जहाजले सुरक्षित अवतरण गराउनका लागि कागजी नक्साको सहारा लिनुपर्ने अवस्था देखा पर्‍यो ।

बाइनरीदेखि बहुरुपिय समुदायसम्म

सन् १९५०को दशकमा म मिनेसोटामा हुर्कँदै गर्दा त्यहाँको सामाजिक बनोट असाध्यै द्विपक्षीय अर्थात बाइनरी थियो । सामान्य भाषामा भन्दा या त तपाईँ गोरो हुनुहुन्थ्यो नत्र कालो हुनुहुन्थ्यो । पुरुष वा महिला हुनुहुन्थ्यो । ‘स्ट्रेट’ वा समलिङ्गि हुनुहुन्थ्यो । इसाई वा यहुदी हुनुहुन्थ्यो । या त तपाईँ घरमै काम गर्नुहुन्थ्यो या विद्यालयमा । डेमोक्र्याटिक बहुल जिल्लामा मेरो जनप्रतिनिधि उदार गोरा रिपब्लिकन पनि हुने गर्थे । सामाजिक प्रवर्गहरु अलि साँघुरा थिए । संस्कृति, कानुन, आग्रह, आय तथा आदत जस्ता सीमाभित्र थिए । विविधता हुँदै नभएको भन्ने त होइन तर सीमित थियो । त्यसको खासै राम्रो चर्चा पनि हुँदैनथ्यो ।

अब त्यस्तो रहेन !

आज मेरो गृहनगर सेन्ट लुइस पार्क, मिनेसोटामा कुनै समय यहुदी संस्कृति, गिर्जाघर तथा खानकीका लागि प्रसिद्ध शहरमा सोमालिया मुलकी २९ वर्षीय मुस्लिम महिला मादिया मोहमद मेयरका रूपमा रहेकी छन् । सोमालियाबाट ठुलो संख्यामा आएका नागरिकहरूको समूहकी सदस्य रहेकी उनी मैले पढेकै विद्यालयको विद्यार्थी हुन् ।

म उही पुरानो ठेगानामै छु । कंग्रेसमा मेरो क्षेत्रको प्रतिनिधित्व इल्हान ओमारले गर्छिन । उनी अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने पहिलो मुस्लिम महिला मध्येको दुई जनामा पर्छिन । मेरो घर छेउमा रहेको प्राथमिक विद्यालयमा ३० वटा भन्दा धेरै भाषा बोलिन्छ भन्ने सुन्नमा आएको छ । म हुर्किने समयमा त्यहाँ एउटा मात्रै बोलिन्थ्यो ।

वायु, सौर्य, आणविक, भौगर्भिक, फिसन वा फ्युजन जुनसुकै तरिकाबाट भएपनि भरपर्दो ऊर्जा विकल्प तय गर्नुपर्छ । जलवायु क्षेत्रमा देखिँदै गरेको बहुपक्षीय सङ्कट हटाउने किफायती तथा व्यवहारिक तरिकासहितको ऊर्जा प्रणाली बनाउनै पर्छ ।

गत हफ्ता सेन्ट पाउलमा पहिलो हमोङ अमेरिकी महिला मेयरमा निर्वाचित भइन । उनी लाओसबाट अमेरिका आएको समुदायकी हुन् । उनले पराजित गरेकी पूर्व मेयर चाहिँ शहरकै पहिलो काला जातिको मेयर मेल्भिन कार्टर थिईन ।

सन् १९९० यता वैश्विक बसाइसराइ दोब्बर भएको छ । बसाई–सराई बहुदिशा लक्षित छ । वैश्विक दक्षिणबाट कामदारहरू पर्सियाको खाडीमा जादैछन । अफ्रिकाबाट विद्यार्थीहरू चीन जादैछन । सुडान र इरिट्रियाबाट शरणार्थीहरू इजरायल जाँदैछन । पोल्याण्डका कामदारहरू बेलायत जादैछन । सिरिया, भेनेजुएला तथा युक्रेनलगायतका शरणार्थीहरू यत्रतत्र जादैछन । कुनै समय एकल जात, धर्म वा आस्थाका लागि चिनिएका समाज बहुजातिय, बहुभाषिक, बहुरंगी तथा बहुधार्मिक बन्दै गएका छन् ।

ती समुदायबारेका खबरहरू परम्परागत बाइनरी ढाँचाका रहेनन् । पहिले ‘टप डाउन’ अर्थात एकोहोरो माथिबाट तल जाने मुलधारका अखबार, पत्रपत्रिका तथा टेलिभिजनका नेटवर्कहरु अब उस्तै रहेनन् । अब खबर पनि सामाजिक सञ्जाललगायत ‘ब्लगर’ हरु तथा ‘पोडकाष्टर’हरु मार्फत तलबाट माथि तथा दायाँबायाँ समेत फैलिन थाले ।

पछिल्लो समय राष्ट्रपति ट्रम्पले राष्ट्रपति भवनको पूर्वी भाग भत्काउने काम सकेसम्म पत्रकारहरूबाट छलेर गर्ने प्रयास गरे । तर सीएनएनका पत्रकार ब्रायन स्टेलरका अनुसार समाचार अन्तैबाट आयो । उनी भन्छन् ‘भवन भत्काएको अवस्थाको सबै भन्दा राम्रो तस्बिर हवाईजहाजमा यात्रारत व्यक्तिले आकाशबाटै खिचेका थिए । जुन तस्बिर सामाजिक सञ्जाल एक्सलगायत विभिन्न साइटमा दशौँ लाख पटक साझा गरिएको थियो ।’

बहुपक्षीय आर्थिक सञ्जाल

१८औँ शताब्दीमा व्यापारका आधारभूत सिद्धान्त तयार गर्दै गर्दा आडम स्मिथले पनि सापेक्ष रूपमा सामान्य बाइनरी सम्बन्धको परिकल्पना गरेका थिएः म कुनै चीज बनाउँछु । तपाई वाइन बनाउनुहुन्छ । हामी आफ्ना उत्पादनहरू आपसमा किनबेच गर्छौँ । 

आफूले गर्ने कामको विशिष्टीकरण गर्दा जुन चीजको उत्पादनमा आफूले राम्रो गर्न सकिन्छ त्यसैको उत्पादन गर्ने र अरुको उत्पादनसँग साट्ने गर्छौँ । त्यसो गर्दा दुवै पक्षलाई फाइदा हुन्छ । यो ज्ञान क्रान्तिकारी ठानियो । आज पनि यसले व्यापारबारे हाम्रो ज्ञानको आधारको काम गरेको छ  । डोनाल्ड ट्रम्प बाहेक हामी जस्ता धेरैले आज पनि व्यापारलाई दुवै पक्षको ‘विन–विन’ गराउने मान्दछौँ ।

तर आजका दिनमा स्मिथ ज्युदै थिए भने उनले आइफोनले, ‘एमआरएनए भ्याक्सिन’, विद्युतीय सवारीहरू वा उन्नत स्तरका माइक्रोचिपहरु कसरी बन्दैछन भन्ने देख्थे होला । उनले आफ्नो सिद्धान्तमा अद्यावधिक गर्नुको साटो अर्को पुस्तक नै लेख्थे होला । आज के परिवर्तन भएको छ त ? एकै शब्दमा भन्ने हो भने ’जटिलता’ बढेको भन्न सकिन्छ । मुलतः आजको अर्थतन्त्र प्रष्ट सीमा तथा आफ्नै उद्योग भएका विभिन्न मुलुकहरुबिचको द्विपक्षीय व्यापारमा टिकेको छैन । अहिलेको व्यापार त्यस्तो छैन । मेरा अर्का गुरु तथा अक्सफोर्ड मार्टिन स्कुलको ’इन्स्टिच्युट फर न्यु इकोनोमिक थिन्किङ’का कार्यकारी निर्देशक एरिक बेइनहोकरका अनुसार अहिले हामी वैश्विक ’इकोसिस्टम’ भित्र रहेर काम गरिरहेका छौँ । जसलाई उनी ज्ञान,सीप,प्रविधि तथा विश्वासको गतिशील तथा ’अन्तर निर्भर जालो’ भन्छन् ।

त्यसले आजको दिनमा हुने व्यापारमा किन दुईभन्दा बेसी मुलुक संलग्न हुन्छन् भन्ने बुझाउँछ । गत जुन महिनामा ’ओईसीडी’ले प्रकाशन गरेको प्रतिवेदन अनुसार वैश्विक आपूर्ति शृङ्खलाले अहिले अन्तर्राष्ट्रिय व्यापारको ७० प्रतिशत हिस्सा ओगटेको देखाएको छ । जसको अर्थ सेवा, कच्चा पदार्थ तथा विभिन्न पार्टपुर्जाहरु धेरैपटक सीमा वारपार गर्छन् । एउटा मुलुकमा डिजाइन हुन्छ, त्यसका विभिन्न हिस्सा अन्य मुलुकमा बन्छन । आपसमा जडान गर्ने काम अर्कै देशमा हुन्छ । परीक्षण अर्कै देशमा हुन्छ ।

आडम स्मिथले श्रम विभाजनलाई उत्पादकत्व वृद्धिको मुख्य स्रोतको रूपमा पहिचान गरेका थिए । उनका अनुसार यदि श्रमशक्तिको उचित विभाजन भयो भने थोरै श्रमिकले पनि धेरै उत्पादन गर्न सक्छन् । मेरा गुरु बेनहोकरले गत फेब्रुअरीमा लेखेको आफ्नो लेखमा भनेका छन् ‘आडम स्मिथको कुरा उनको समयका लागि बिलकुल सही थियो ।’ उनी थप्छन्– ‘तर आजको दिनमा उच्च उत्पादकत्वको मुख्य ईन्जिन ज्ञानको विभाजन हो’ ।

जब ज्ञान र क्षमता आपसमा जोडिन्छन त्यसबेला हामी यस्तो जटिल जिनिस सिर्जना गर्न सक्षम हुन्छौँ जसले एकदमै कम खर्चमा तथा तीव्र गतिमा जटिल समस्याको समाधान गर्नसक्छ । एउटै देशले यसो गर्न खोज्दा धेरै खर्च र असाध्यै बढी समय लाग्छ ।

एक पटक आफ्नो ‘स्मार्टफोन’ को ‘चिप’ हेर्नुस । त्यसको परिकल्पना क्यालिफोर्नियामा गरिएको हो । युरोप र अमेरिकामा बनेका सफ्टवेयर प्रयोग गरेर डिजाईन गरिएको हो । नेदरल्यान्डको लिथोग्राफीको प्रयोग भएको छ । उत्पादन चीनमा हुन्छ । जापान र सिलिकन भ्यालीमा भएका ‘मेटेरियल साईन्स’ बारेका नविन खोजको प्रयोग भएको हुन्छ । अन्तिम जडान चीनमा हुन्छ । र अन्तिममा वैश्विक ‘लजिष्टिक’को माध्यमबाट संसारभर पुर्‍याएको हुन्छ ।

‘क्वालकम’का पुर्व सल्लाहकार डन रोसेनवर्गले चीनियाँ प्रविधि कम्पनी ‘हुवावे’ र ‘क्वालकम’ बिचको सम्बन्धबारे सुनाएको कुरा सम्झँदा म छक्क पर्ने गर्छु । त्यसले आजको बहु–आर्थिक संसारबारे राम्रोसँग देखाउन्छः ‘हुवावे ग्राहक हो, हाम्रो अनुमति पत्र उसैसँग छ, उ हाम्रो प्रतिस्पर्धी पनि हो, हामी मिलेरै मापदण्ड निर्धारण गछौँ, आवश्यक पर्दा मिलेरै मुद्धामामिला पनि गर्छौँ ।’

आजको संसारमा कतै पनि एउटा पक्षले एक्लै तयार गरेको उत्पादन अर्को पक्षले बेच्ने भन्ने हुँदैन । उत्पादन र व्यापार सबैमा धेरै पक्ष संलग्न हुन्छन् । २१औँ शताब्दीमा चल्ने व्यापारिक सञ्जाल आपसमा छेडखानी गरेर चल्दैन । यो विश्वासमा चल्छ ।

पोलिसिन युगको शासन 

यसरी विभिन्न खालका खेलाडीहरुको एकाएक उदय हुने परिघटना पृथ्वीको इतिहासमा पहिलो भने होइन । सामान्यतया उद्विकासलाई हामी सुस्त र चरणबद्ध गतिमा हुने भनेर बुझ्छौं । तर पृथ्वीको इतिहास नयाँ प्रजाति तथा नयाँ डिजाइनको व्यापक उदयका कथाले भरिएको छ । बेनहोकरले मलाई बताए अनुसार त्यस्तो प्रवृत्ति प्रकृतिमा मात्रै सीमित छैन । 

उनका अनुसार मानव सभ्यताले पनि ब्रम्हाण्डमा भएको महाविस्फोट अर्थात ‘बिग ब्याङ’ जस्तै ढाँचाहरू पार गरेको छ । उनी भन्छन्, ‘त्यस्ता प्रत्येक घटनाले मानव जीवनलाई थप जटिल बनाउँदै लगेका छन् ।’ परिणामस्वरुप मानव समाजमा सशक्त खेलाडीहरू थपिँदै गएका छन् । आपसी सम्बन्ध, अन्तरक्रिया तथा पृष्ठपोषणका तरिका पनि भएका छन् ।

जंगलमा रहँदाको घुमन्ते सिकारी जीवनबाट व्यवस्थित सभ्यतासम्म आइपुग्दा समाज, व्यवस्था र जीवन पहिलेको तुलनामा व्यापक र जटिल बन्दै गएको छ । छापाखानाको आविष्कारले ल्याएको क्रान्तिका कारण धार्मिक तथा दरबारिया सम्भ्रान्तहरुले कायम राखेको सूचना र जानकारी माथिको एकाधिकार तोडियो । औद्योगिक क्रान्तिले मान्छे र ‘मेसिन’ दुवैको शक्तिमा गुणात्मक वृद्धि गरायो । 

त्यसले वैश्विक व्यापार र ‘कनेक्टिभिटी’ मा व्यापक वृद्धि सम्भव गरायो । अहिले हामीसँग कृत्रिम बौद्धिकतासहितका ‘मेसिन’ र ‘रोबोट’हरु छन् । जसले असाध्यै ठुलो मात्रामा विभिन्न खेलाडीहरूलाई अनेक रुपले जोडेको छ ।

औद्योगिक रूपमा अग्रस्थानमा रहेका धेरै जसो मुलुकका लोकतान्त्रिक शासन व्यवस्थाका केही खास विशेषता छन् । त्यहाँ शासनको सर्वाधिक उपयुक्त तरिकाको रूपमा कुनै प्रकारको लोक–कल्याणकारी राज्य तथा वामपन्थी र दक्षिणपन्थी दुई प्रकारका विचारधारा हुने तथा तिनीहरूको प्रतिनिधित्व गर्ने गरी सामान्यतः दुई दलमा आधारित राजनीतिक प्रणाली ठिक हुने ठानियो । 

तर आजको दिनमा त्यस्तो वामपन्थ र दक्षिणपन्थको साँघुरो विभाजनले समस्या समाधान गर्ने देखिन्न । किनभने आजका सबै समस्या ‘यो वा त्यो’ वाला बाइनरी स्वरुपका मात्रै छैनन् । बरु ‘दुबै वा अझै अरु’ भन्ने प्रकारका पनि धेरै छन् । आजका प्रमुख राजनीतिक खेलाडीले विभिन्न अवस्थाहरू सम्हाल्दै, आपसमा जुधिरहेका विचारहरुलाई साथमा राख्दै अघि बढ्न सक्नुपर्छ ।

2024 A New World Order

म चाहिँ ‘दुबै वा अझै अरु’ वाला स्वभावको मान्छे हुँ । आप्रवासीको समस्या समाधानको सन्दर्भमा म दुबै तरिकाको समर्थक हुँ । अग्ला पर्खाल लगाएर सुरक्षित सीमा मार्फत अवैध आप्रवासी रोक्नुपर्छ भन्ने तर्कमा सहमत छु । साथै जुझारु तथा सिपालु व्यक्तिलाई भने खोजी–खोजी ल्याउनुपर्छ भन्ने ठान्छु । प्रहरीको हकमा पनि ठुलो सङ्ख्या चाहिन्छ भन्ने पनि मान्छु साथै राम्रो र चुस्त प्रहरी बल चाहिन्छ भन्ने पनि लाग्छ । 

अर्थशास्त्रमा पनि, उत्पादन बढाउनुपर्छ तथा पुनर्वितरण हुनुपर्छ भन्ने दुबै धारणा आवश्यक ठान्छु । शिक्षा क्षेत्रमा सरकारी लगानीका राम्रा विद्यालय पनि चाहिन्छ साथै नीजि वा स्वतन्त्र विद्यालयहरु पनि हुनुपर्छ भन्ने मान्छु । प्रतिस्पर्धाले नै सबैलाई राम्रो गर्छ भन्ने मान्यता राख्छु । 

विदेश नीतिको हकमा, म कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छु साथै बलियो सैन्य शक्तिको पनि पक्षधर हुँ । व्यापारको क्षेत्रमा पारदर्शी नियमको अधिनमा रहेर खुला व्यापार गर्नुपर्छ भन्ने मत राख्छु । साथै पारस्परिक प्रावधान पनि न्यायपूर्ण हुनुपर्छ भन्ने पनि मत राख्ने गर्छु । चीनले अमेरिकासँग जस्तो व्यवहार गर्छ, चीनसँग पनि त्यस्तै व्यवहार गरिनुपर्छ भन्नेमा सहमत छु । 

उर्जाको क्षेत्रमा कार्वन/मिथेनमा नियन्त्रणसहित प्राकृतिक ग्याँसको प्रयोग गर्नुपर्छ भन्छु । साथै वायु, सौर्य, आणविक, भौगर्भिक, फिसन वा फ्युजन जुनसुकै तरिकाबाट भएपनि भरपर्दो ऊर्जा विकल्प तय गर्नुपर्छ भन्ने मान्छु । जलवायु क्षेत्रमा देखिँदै गरेको बहुपक्षीय संकट हटाउने किफायती तथा व्यवहारिक तरिका सहितको ऊर्जा प्रणाली बनाउनुपर्छ भन्ने लाग्छ । कोरोना महामारीको समयमा म जीवन बचाउनुपर्ने पक्षमा थिएँ साथै जीविकोपार्जन पनि जोगाउनुपर्छ भन्ने धारणा राख्ने गर्थेँ ।

मैले सोच्न नसकेर वा निर्णय क्षमता कमजोर भएका कारण त्यसो गरेको होइन । यो बहुविध युग हो भन्ने बुझेर त्यसो गरेको हो । आजको दिनमा सही जवाफ कुनै एकोहोरो निश्कर्षबाट आउदैन । विभिन्न दृष्टिकोणहरुको कुशल संयोजनबाट आउँछ । 

परम्परागत वाम वा दक्षिणपन्थी पार्टीहरु विभिन्न शैली र विकल्पमा एकसाथ सोच्नै नसक्ने गरि जड भइसकेका छन् । उनीहरु लचिलो तरिकाले व्यवहारिक रूपमा आफूलाई ढाल्न र तदनुरुप काम गर्न सक्दैनन् । फलस्वरूप उनीहरू या त वास्तविक समस्यासामु टिक्न नसकेर टुक्रिँदै गएका छन् वा मानिसका आक्रोश, पहिचान वा अरु नै कालपनिक समाधानका आधारमा आपसमा एकीकृत हुँदै गएका छन् । जसले गर्दा खास समस्या समाधान गर्न असमर्थ हुँदै गएका छन् । 

अब यो अवस्था धेरै समय टिक्न सक्दैन ।

विभिन्न मुद्दाहरूमा गतिशील गठबन्धन तयार गर्न सक्नेहरू नै आजको ‘पोलिसिन’ अर्थात बहुविध युगमा सबै भन्दा  सफल, सार्थक र उत्पादक बन्न सक्छन् । म त्यस्तो गठबन्धनलाई ‘जटिल तथा अनुकुलित गठबन्धन’ भन्छु ।  यसले व्यवसाय, श्रम, सरकार, सामाजिक उद्यमीहरू, परोपकारीहरू, नवप्रवर्तकहरू, नियामकहरू र शिक्षकहरूलाई बाइनरी ढाँचामा आपसमा निषेधको सम्बन्ध राख्नुको सट्टा सबैलाई संयोजन गरेर समाधान गर्नका लागि एकसाथ ल्याउँछ । छिटो र प्रभावकारी रूपमा समस्या समाधानको तरिका पनि यहि नै हो ।

व्यापारिक मामलाका चिन्तक डोभ सेडम्यान भन्छन्, ‘आपसमा सँगै काम गर्ने हाम्रो पुरानो तरिका अबको संसारमा लागू हुँदैन ।’ तथापि हामी सँगै बाँच्ने र एक अर्कोलाई सहयोग गर्ने कामको आवश्यकता पहिलेभन्दा अझ बढेको छ  । हामी एक अर्कोसँग छुट्टिन मिल्दैन । हामी अन्तरनिर्भर छौँ । 

डोभ सेडम्यान भन्छन्, ‘अन्तरनिर्भरता हाम्रो रोजाइमा मात्रै सीमित छैन ।’ उनी थप्छन्, ‘यो त हाम्रा लावग सर्त हो । यसको अर्थ हो, या त हामी स्वस्थ सहयोगी समाज निर्माण गर्नेछौँ र सबैना सँगै सफल हुनेछौँ नत्र विषाक्त निर्भरता सिर्जना गर्नेछौँ र सँगै असफल हुनेछौँ।’

हामी जता गए पनि सँगै हुनेवाला छौँ ।

यही नै आजको ‘पोलिसिन’ युगको अपरिहार्य सत्य हो । अमेरिका, चीन र रुसका नेताहरुले अझै यो यथार्थ ठम्याउन बाँकी नै छ । इतिहासमा पहिलो पटक मानवताजीले आफ्नो अस्तित्व रक्षा तथा प्रगतिका लागि पृथ्वी ग्रहकै स्तरमा शासन, नवप्रवर्तन, सहकार्य र सहअस्तित्व गर्नैपर्ने भएको छ ।

त्यसो गरेर मात्रै हामी ‘एआई’ देखि आणविक ऊर्जा तथा जलवायु परिवर्तनसम्म सबै कुराको सबैभन्दा राम्रो पक्षको सदुपयोग तथा खराब पक्षको निराकरण गर्न सक्छौँ । अब हामी संसारभर जहाँसुकै रहेका भए पनि सबै मानिस एउटै दिशामा सहकार्य सहित बढ्नु पर्ने अवस्था आएको छ ।

बेनहोकर भन्छन्, ‘हाम्रो युगको निर्णायक परीक्षा भनेकै हामीले यसलाई समयमै पहिचान गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो ।’

(न्युयोर्क टाइम्सबाट) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

थोमस एल. फ्रीडम्यान
थोमस एल. फ्रीडम्यान
लेखकबाट थप