शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुनसक्दैन : डा.प्रकाशचन्द्र लोहनी

शनिबार, २९ कात्तिक २०८२, ११ : १४
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल नहुने बताए।
  • उनले निजी क्षेत्रको लगानी आकर्षित नहुनु चिन्ताको विषय भएको र बैंकको ब्याजदर घट्दा पनि लगानी नआएको बताए।
  • लोहनीले नेपालको अर्थतन्त्र रेमिट्यान्समा आधारित भए पनि त्यसको उपयोग हुन नसकेको र सरकारको पैसा उपयोग गर्ने चुनौती रहेको बताए।

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । लोहनीले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताएका हुन् । 

उनले निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगे पनि लगानी आकर्षित नहुनु चिन्ताको विषय भएको बताए । उनले बैंकको इन्ट्रेस्ट रेट वान डिजिटमै आइसके पनि अझै बढी भइरहेको गुनासो आउने गरेको बताए । नेपालको अर्थतन्त्रको मोडल रेमिट्यान्समै आधारित रहे पनि त्यसलाई प्रयोग गर्न नसकिएको उनले बताए । नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौती रहेको उनको भनाइ छ।

अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले भने–  ‘नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ। तर भएका पैसा पनि खर्च हुँदैन। पैसा छैन भने कटौती गरिरहेका छौँ । गर्नुपर्ने कुरा पनि हो । तर जति छ त्यो पनि खर्च हुँदैन। प्राइभेट क्षेत्रलाई पुस गर्नुपर्‍यो भन्दा इन्ट्रेस्ट घटाउनु सबैभन्दा ठुलो कुरा हो। संसारमा अलिकति इन्ट्रेस्ट घटबढले गर्दा कति निजी लगानी असर गर्दछ। इन्ट्रेस्ट वान डिजिटमै आइसक्यो। तर बढी भइरहेको छ। युज भएको छैन। साधन छ पनि साधन छैन पनि। यो एक दिनमा आएको पनि होइन। हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भए पनि हामीले त्यसलाई युज गर्न सकेनौँ। एक्सपोर्टमा लगाएनौँ। अहिलेको यो स्थितिमा आइपुग्यौँ। नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने यो चुनौती छ । कस्तो लिक्विडिटी ट्रयापमा परेको हो नेपाल ? जति ब्याज घटाए पनि मान्छे नआउने ? त्यो वातावरण बनाइदिने राजनीतिले हो। राजनीतिक तह कमजोर भएपछि अर्थतन्त्रले मात्रै काम गर्दैन।’

पूर्वअर्थमन्त्री डा. लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै सङ्कटको घडी भएको जिकिर गरे। राष्ट्र बैंकमा अहिलेसम्म नेपालीहरूको धेरै विश्वास रहेको र राष्ट्र बैंक धेरै राजनीतिकरण नभएको संस्था भएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप