शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लालुलाई मिर्गौला दिएकी छोरीद्वारा राजनीति र परिवार दुवै त्याग्ने घोषणा

शनिबार, २९ कात्तिक २०८२, २१ : ४९
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • बिहार विधानसभा चुनावमा हारपछि लालु यादवकी छोरी रोहिणी आचार्यले परिवार त्याग्ने घोषणा गरेकी छिन्।
  • रोहिणीले तेजस्वी यादवका विश्वासिला संजय यादवमाथि गम्भीर आरोप लगाएकी छन्।
  • रोहिणीले आफूले कसैबाट केही नमागेको प्रमाणित भए राजनीतिबाट अलग हुने चुनौती दिएकी छन्।

पटना । बिहार विधानसभा चुनावमा पार्टीले चौतर्फी हार बेहोरेपछि राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालु प्रसाद यादवको परिवारमा फेरि कलह चर्किएको देखिएको छ ।

चुनावअघिदेखि नै 'बागी तेवर' देखाउँदै आएकी लालु यादवकी छोरी रोहिणी आचार्यले खुला विद्रोह गर्दै राजनीतिसँगै परिवार पनि त्याग्ने घोषणा गरेकी छन् । यसपटक उनले तेजस्वी यादवका सबैभन्दा विश्वासिला संजय यादवमाथि गम्भीर आरोप लगाएकी छन् । 

स्मरण रहोस्, रोहिणी आचार्य लालु यादवकी ती छोरी हुन्, जसले आफ्ना बुबालाई मिर्गौला दान गरेकी थिइन् । 

लामो समयदेखि यस विषयमा मुखर रहँदै आएकी रोहिणीले यसअघि १८ सेप्टेम्बरमा एउटा फेसबुक पोस्ट सेयर गर्दै सञ्जय यादवविरुद्ध टिप्पणी गरेकी थिइन् । उक्त पोस्टमा एउटा तस्बिर पनि राखिएको थियो, जुन तेजस्वी यादवको बिहार अधिकार यात्राको क्रमको थियो । तस्बिरमा रथ (बस) भित्र तेजस्वी यादवको सिटमा सञ्जय यादव बसेका देखिन्थ्यो । 

त्यसपछि रोहिणीले सामाजिक सञ्जालमा पार्टीका साथै परिवारका सबै सदस्यलाई अनफलो गरेकी थिइन् । उनले आफ्ना विरोधीहरूलाई खुला चुनौती दिँदै यदि कसैले आफूले कहिल्यै आफ्नो वा अरूका लागि केही मागेको प्रमाणित गरिदिएमा राजनीति र सार्वजनिक जीवनबाट आफूलाई अलग गर्ने बताएकी थिइन् ।

रोहिणीले 'आफ्ना बुबालाई मिर्गौला दान गरेको' कुरालाई झुठो बताउनेहरूमाथि पनि कडा प्रहार गरेकी छन् । पार्टी र परिवारमा चर्किएको यो कलहले बिहारको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप