विकास पुग्नुपर्ने मेरो गाउँमा ब्राउन सुगर कसरी पुग्यो ?
पत्रकारले समाजका विभिन्न विषयलाई उजागर गर्नुपर्दछ । यही जिम्मेवारी निर्वाहका क्रममा म समाजलाई ध्वस्त पारिरहेको एउटा समस्याबारे सोच्दैछु– लागुऔषध ।
मेरो गाउँदेखि सुदूरपश्चिमका सुगम जिल्लाका कारागारसम्म, सहरका गल्लीदेखि समाजको मनोविज्ञानसम्म यसले पारेको प्रभाव देख्दा एक पत्रकारका रूपमा मात्र नभई एक सचेत नागरिक भएरमात्र सोच्ने हो भने पनि मन दुख्छ । भनिन्छ, देशको भविष्य युवाको अनुहारमा देखिन्छ । आज जब म हाम्रा युवाहरूको अवस्था हेर्छु, मलाई भविष्यप्रति चिन्ता लाग्छ ।
एउटी आमाको लागि सन्तानको खुसीभन्दा ठुलो के नै हुन्छ र ? त्यही खुसी खोज्दा कैलालीमा एक आमाले रोजेको बाटोले हाम्रो समाजको डरलाग्दो चित्र देखायो ।
करिब दुई वर्षअघिको घटना हो । ५० वर्षीय एक महिला आफ्नो २१ वर्षीय छोरालाई भेट्न कैलाली जिल्ला कारागार पुगिन् । लागुऔषध मुद्दामा थुनामा रहेका छोराका लागि उनको हातमा बिस्कुटको प्याकेट थियो । त्यो प्याकेटभित्र बिस्कुटमात्र थिएन, छोराको कुलतको अगाडि हारेकी आमाले लुकाएर लगेको ५ ग्राम ४० मिलीग्राम ब्राउन सुगरसमेत थियो ।
कारागारको सुरक्षा जाँचमा यसरी ब्राउन सुगर फेला परेपछि ती महिला पक्राउ परिन् । यो घटनाले प्रहरीलाई मात्र होइन, समाजलाई नै स्तब्ध बनायो । जुन आमाले सन्तानलाई अमृत समान दुध खुवाएर हुर्काउँछिन्, उनै आमा आज छोराको कुलतसामु विवश भएर जेलको पर्खालभित्र विष पुर्याउन तयार भइन् । यो लागुऔषधको दलदलमा फसेको परिवारको विवशता र सामाजिक विघटनको चरम नमुना थियो । अझ दुःखलाग्दो कुरा त, त्यसअघि उनै युवककी श्रीमती पनि लागुऔषधसहित पक्राउ परिसकेकी थिइन् । एउटै परिवारका तीन सदस्य–श्रीमान्, श्रीमती र आमा लागुऔषधको जालोमा बेरिनुले सुदूरपश्चिममा यसको प्रकोप कति भयावह छ भन्ने प्रस्ट पार्छ ।
कैलाली कारागारमा भएको यो घटनाले कारागारहरू कसरी सुधार गृहको साटो लागुऔषधको कारोबार र सेवनको केन्द्र बन्दैछन् भन्नेतर्फ पनि सङ्केत गर्छ । यो घटना एक्लो थिएन । त्यसको केही समयपछि असार १५ गते धनगढीकै एक २५ वर्षीय युवक जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका आफन्तलाई भेट्न गए । उनले लगेको स्याम्पुको बट्टाभित्रबाट प्रहरीले १३ ग्राम खैरो हेरोइन बरामद गर्यो । यी घटनाले कैदीबन्दीहरू जेलभित्रैबाट पनि लागुऔषधको कारोबार चलाइरहेका छन् र बाहिरबाट भेट्न आउने आफन्तहरूलाई भरियाका रूपमा प्रयोग गरिरहेको देखाउँछ ।
यो कसरी सम्भव भयो ? यसको उत्तर जेलभित्रै गरिएको अनुगमनले दियो । प्रहरीले असार ८ गते जेलभित्र छापा मार्दा १५ थान मोबाइल फोन र ३३ थान चार्जर बरामद गरेको थियो । त्यसअघि जेठ २३ गतेको अनुगमनमा २० थान मोबाइल फोन भेटिएको थियो । जेलभित्रबाटै मोबाइल फोन प्रयोग गरी बाहिरका कारोबारीसँग सम्पर्क गर्ने र लागुऔषध मगाउने गरेको तथ्य यसले खुलासा गर्यो ।
लागुऔषध दुर्व्यसन र लेनदेनको विवादमा कैदीबन्दीहरूबिच बारम्बार कुटपिट र हिंसाका घटनासमेत भएका छन् । अन्ततः २०८२ साउन २४ मा कैलालीमा कैदीहरूबिच ठुलो झडप भयो, जसमा एक जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए । यो घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ ।
कारागार त एउटा सानो अंशमात्रै हो । लागुऔषधको यो आगोले पूरै समाजलाई भित्रभित्रै जलाइरहेको छ । यसको प्रत्यक्ष असर हाम्रो देशको भविष्य बोकेका युवामा परेको छ ।
सुदूरपश्चिमका सहरदेखि गाउँसम्म, खासगरी युवा पुस्ता यसको चपेटामा छन् । धनगढी, महेन्द्रनगरजस्ता सहरी क्षेत्रमात्र होइन, मेरो सानो गाउँसम्म ब्राउन सुगर पुग्नुले यसको सञ्जाल कति फैलिएको छ भन्ने अनुमान लगाउन सकिन्छ ।
म जन्मेको बझाङको त्यो विकट ठाउँ, कुनै बेला मेरा बाजेबज्यैले भारतको टनकपुरबाट पिठ्युँमा नुन बोकेर परिवार पाल्थे । महिनौँ हिँडेर ल्याएको नुनले छाक टार्ने त्यो ठाउँमा आज विकासको रेल पुग्नुपर्थ्यो, पर्यटकको चहलपहल हुनुपर्थ्यो, तर विकासको उज्यालोभन्दा पहिले लागुऔषधजस्ता ट्याब्लेटको अँध्यारो पुग्यो । मेरो प्रश्न छ– विकास पुग्नुपर्ने मेरो गाउँमा ब्राउन सुगर कसरी पुग्यो ?
स्थानीयहरूका अनुसार कतिपय मेडिकल पसल नै यसको अवैध कारोबारको केन्द्र बनेका छन् । हाटबजार र चोकहरूमा खुलेआम औषधि पसलको आवरणमा नसालु पदार्थको विक्री भइरहेको तर नियमनकारी निकायहरू मौन बसेको गुनासो सुनिन्छ । पैसाको लोभमा केही व्यवसायीले युवाहरूको भविष्य अन्धकारमा धकेलिदिएका छन् । उनीहरूका लागि यो पैसा कमाउने माध्यम होला, तर यसले कैयौँ घरपरिवारको खुसी खोसेको छ । कैयौँ आमाबुबाको सपना चकनाचुर पारेको छ । यसमा खुला सिमानाले पनि ठुलो भूमिका खेलेको छ । भारतसँगको सहज पहुँच र कमजोर सुरक्षा निगरानीका कारण सीमापारबाट लागुऔषध भित्र्याउन कारोबारीहरूलाई सजिलो भएको छ । टनकपुर र पलियाजस्ता भारतीय सीमावर्ती बजार यसका लागि ट्रान्जिट प्वाइन्ट बनेका छन्, जहाँबाट ब्राउन सुगरजस्ता लागुपदार्थ कैलाली, कञ्चनपुर हुँदै पहाडी जिल्लासम्म पुग्छन् ।
यो प्रश्नको उत्तर खोज्दा केही तीता यथार्थ सतहमा आउँछन् । सुदूरपश्चिममा व्याप्त बेरोजगारी यसको प्रमुख कारण हो । उच्च शिक्षा हासिल गरेका युवाहरूले समेत रोजगारी नपाउँदा उनीहरूमा चरम निराशा छाएको छ । भविष्यप्रतिको यही अनिश्चितताले उनीहरूलाई क्षणिक आनन्द र पलायनको बाटो खोज्न बाध्य बनाउँछ, जुन लागुऔषधको कुलतमा गएर टुङ्गिन्छ ।
यसका साथै, छिटो पैसा कमाउने महत्त्वाकांक्षाले पनि युवाहरूलाई यो अँध्यारो बाटोमा धकेलेको छ । लागुऔषधको कारोबारमा लाग्दा थोरै समयमा धेरै पैसा कमाइने भ्रमले उनीहरूलाई आकर्षित गर्छ । सुरुमा प्रयोगकर्ताको रूपमा फसेका युवाहरू पछि आफ्नो नसाको खर्च जुटाउन आफैँ कारोबारी बन्न पुग्छन् र अरूलाई पनि यो दलदलमा तान्छन् । साथीभाइको खराब संगत र ‘एकपटक प्रयोग गर्दा केही हुन्न’ भन्ने सोचले पनि धेरैको जीवन बर्बाद गरेको छ ।
बदलिँदो सामाजिक संरचना र अभिभावक र छोराछोरीबिच बढ्दो दुरीले पनि समस्यालाई थप जटिल बनाएको छ । यसको असर मैले मेरै आफन्तमा परेको प्रत्यक्ष देखेकी छु । घरको एक्लो छोरो कुलतमा डुबेपछि उनीहरूले उसलाई सुधार्न अनेक प्रयास गरे, तर हरेक प्रयास असफल भयो । आज ती आमाबुवाले छोरालाई ‘नखा’ भन्न छोडिसकेका छन् । उनीहरूले आफ्नो छोरा बाँचेर पनि मरेतुल्य भएको नियति स्वीकार गरिसकेका छन् । घरको एक्लो छोरो, जो आमाबुबाको बुढेसकालको सहारा बन्नुपर्ने हो, ऊ जब कुलतमा फस्छ, त्यो परिवारको भविष्यमाथि नै बज्रपात हुन्छ । सुदूरपश्चिममा यस्ता धेरै परिवार छन् ।
पाँच महिनाअघि म धनगढीको फुलवारीमा प्रहरीले सञ्चालन गरिरहेको ‘आसरा सुधार गृह’ पुगेकी थिएँ । त्यहाँ मैले आफूभन्दा साना भाइहरूदेखि ३० वर्षसम्मका युवा भेटेँ । कोही भर्खरै सुधारका लागि ल्याइएका थिए, कोही निको हुने प्रक्रियामा थिए । निको भइरहेका एक भाइले भनेका थिए, ‘मैले लागुऔषधका लागि सबै सपना गुमाएँ, बाबाआमाको खुसी लुटेँ । घरको ग्यास सिलिन्डरसमेत बेचेर नसा गरेँ ।’
मसँग कुरा गरिरहेका युवाहरूको आँखामा नयाँ जीवनको आशा थियो, तर एउटा डर पनि थियो– यहाँबाट बाहिर गएपछि फेरि उही समाज र उही संगतमा परिएला कि ! उनीहरूले भनेको एउटा कुराले मलाई छोयो, ‘हामीलाई यहाँबाट निस्केपछि समाजले कसरी स्वीकार गर्ला ? के हामीले फेरि काम पाउँला ? परिवारले विश्वास गर्ला ?’ यो डरले उनीहरुको आत्मविश्वासलाई कमजोर बनाएको थियो ।
पहिले–पहिले लागुऔषध भन्नाले गाँजा वा चरेसलाई मात्र बुझिन्थ्यो, तर आज ब्राउन सुगर, हेरोइनजस्ता कडा र प्राणघातक लागुपदार्थ सहजै उपलब्ध हुन थालेका छन् । सामाजिक सञ्जाल र आधुनिक प्रविधिले गर्दा कारोबारीहरूले आफ्नो सञ्जाल विस्तार गर्न झनै सजिलो पाएका छन् । उनीहरू सुरुमा युवाहरूलाई सित्तैमा लत लगाइदिन्छन् र पछि पैसा जुटाउनका लागि चोरी, डकैती र कारोबारमा समेत प्रयोग गर्छन् । यसरी एउटा दुर्व्यसनीले समाजमा अरू कैयौँ अपराधी जन्माइरहेको हुन्छ ।
धनगढी र महेन्द्रनगरका गल्लीहरूमा बढ्दो हत्या, हिंसा, चोरी र लुटपाटका घटनाहरूलाई लागुऔषध प्रयोगकर्ताहरूको संख्यासँग जोडेर हेर्न सकिन्छ । हामी कहिलेसम्म प्रहरीले यति युवा पक्राउ गर्यो भनेर समाचार लेखिरहने ? प्रहरीले क्वीन्टलका हिसाबले लागुऔषध बरामद गर्छ, सयौँलाई पक्राउ गर्छ, तर समस्या जहाँको त्यहीँ छ । देशको उत्पादनशील युवा शक्ति जेलमा सड्नु कदापि राम्रो होइन । अब यसलाई रोक्न ढिला गर्नु हुँदैन ।
लागुऔषधका ठुला सञ्जालका नाइकेदेखि औषधि पसलको आवरणमा काम गर्नेहरूसम्मलाई कानुनको कठघरामा उभ्याउनुपर्छ । भारतसँगको खुला सीमामा निगरानी बढाउनुका साथै आधुनिक प्रविधिको प्रयोग गरेर अवैध ओसारपसार रोक्नुपर्छ ।
विद्यालय र कलेजस्तरदेखि नै लागुऔषधको असरबारे पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरूलाई सचेत गराउनुपर्छ । स्थानीय तहहरूले युवाहरूलाई खेलकुद, सिर्जनात्मक र आयमूलक कामहरूमा व्यस्त राख्ने ठोस कार्यक्रमहरू बनाउनुपर्छ ।
दुर्व्यसनीहरू अपराधीमात्र होइनन्, बिरामी पनि हुन् । उनीहरूलाई घृणा होइन, उपचार र परामर्शको खाँचो छ । हरेक स्थानीय तहमा सरकारी लगानीमा प्रभावकारी पुनर्स्थापना केन्द्रहरूको स्थापना गरी उनीहरूलाई समाजमा पुनःस्थापित हुने अवसर दिनुपर्छ । पुनर्स्थापनापछि उनीहरूलाई रोजगारी र स्वरोजगारका लागि सिपमूलक तालिमको व्यवस्था गरिनुपर्छ ।
अभिभावकहरूले आफ्ना छोराछोरीको व्यवहार, संगत र उनीहरूको मानसिक स्वास्थ्यमा ध्यान दिनु अत्यन्त जरुरी छ । समाजले पनि दुर्व्यसनी र उसको परिवारलाई हेला गर्ने वा एक्ल्याउने होइन, बरु समस्याबाट बाहिर निस्कन सहयोग गर्नुपर्छ ।
‘हाम्रो छोराछोरी त राम्रै छन्’ भनेर शिक्षक, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाहरू चुपचाप बसेर यो समस्या समाधान हुँदैन । आज एउटाको घरमा लागेको आगो भोलि हाम्रो घरसम्म आइपुग्न बेर लाग्दैन । लागुऔषधले कसैलाई चिन्दैन । यो हाम्रो साझा सामाजिक चुनौती हो । अब हामी सबैले गम्भीर भएर सोच्ने र काम गर्ने बेला आएको छ । नत्र हाम्रो भावी पुस्तालाई यो कुलतको अँध्यारो बाटोबाट फर्काउन धेरै ढिलो भइसक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण