पूर्वाधार राम्रो नहुँदा लुम्बिनी प्रदेशमा घटे पर्यटक
सारांश
- नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको पर्यटनमा असर परेको छ, जसमा होटल अकुपेन्सी र पर्यटक आगमन घटेको देखिन्छ।
- भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुनु र पर्यटकको बसाइ अवधि कम हुनु लुम्बिनीका लागि चुनौती हुन्।
- सिद्धार्थ राजमार्गको जोखिम र पूर्वाधार विकासको कमीले पर्यटनमा असर पारेको छ, तर सुरुङ मार्ग र अन्य पूर्वाधारले सुधार ल्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रलाई असर परेको देखाएको छ ।
राष्ट्र बैंकले गरेको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययनको प्रतिवेदन अनुसार प्रदेशका प्रमुख पर्यटकीय होटलहरूको औसत अकुपेन्सी दर र पर्यटक आगमन सङ्ख्यामा कमी आएको हो ।
अध्ययनले समावेश गरेका नमूना होटलहरूको तथ्याङ्क विश्लेषण गर्दा होटलहरूको औसत अकुपेन्सी दर ३१.०६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३७.६६ प्रतिशत थियो ।
राष्ट्र बैंकको नमूना छनोटमा परेका १० वटा पर्यटकीय स्तरका होटलहरूमा कुल ४६ हजार ५ सय १९ जना पर्यटक आएका छन् ।
तीमध्ये २९ हजार ६६१ जना भारतीय पर्यटक १३ हजार ४९९ जना तेस्रो मुलुकका पर्यटक र ३ हजार ३५९ जना चिनियाँ पर्यटक रहेका छन् । समग्रमा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन र शैया(बेड) बिक्रीमा गिरावट देखिएको प्रतिवेदनमा उल्लेख छ ।
तर प्रतिवेदनले अघिल्लो वर्ष १५ वटा होटललाई नमूना मानेकोमा यस वर्ष १० वटा मात्र समेटिएकाले कुल सङ्ख्यामा अझै भारी गिरावट देखिएको हुनसक्ने अनुमान गरेको प्रतिवेदनमा उल्लेख छ ।
के हो लुम्बिनीको चुनौती ?
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नु प्रमुख चुनौतीका रूपमा राष्ट्र बैंकको अध्ययन रिपाेर्टले देखाएको छ ।
यस्तै लुम्बिनी आउने पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन नसक्दा उनीहरूबाट हुने खर्च पनि अपेक्षित रूपमा बढ्न सकेको छैन ।
बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डको जोखिमले पाल्पा, गुल्मी लगायतका पहाडी जिल्लाहरूमा यात्रा असुरक्षित महसुस हुनु अर्को चुनौतीको रूपमा प्रतिवेदनमा उल्लेख छ ।
पूर्वाधार विकास भए बढ्न सक्छ पर्यटक
राष्ट्र बैंकको प्रतिवेदन अनुसार निजी क्षेत्रबाट होटल तथा पर्यटन पूर्वाधारमा लगानी बढिरहेको र केही महत्त्वपूर्ण आयोजनाहरूले यसमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्गको निर्माणले हालसम्म ५७.९१ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रतिवेदनमा उल्लेख छ । ‘यो मार्ग बनेपछि यात्रा सुरक्षित हुने र पाल्पा, गुल्मी जस्ता पहाडी जिल्लाहरूमा पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन तथा पहाडी जिल्लाहरूमा हिल स्टेशनको विकासले आन्तरिक तथा बाह्य पर्यटक दुवैलाई आकर्षित गर्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
सिद्धार्थ केबलकार, लुम्बिनी केबलकार जस्ता नयाँ पूर्वाधारहरू र निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रहरूले यस प्रदेशको पर्यटन गतिविधि बढाउन सक्ने प्रतिवेदनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले भनेको छ ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन क्षमता वृद्धि गर्न सरकारले तयारी थालेको र निजी क्षेत्रको लगानी विस्तार भइरहेकोले आगामी दिनमा लुम्बिनीको सेवा क्षेत्र थप विस्तार र सुलभ हुने अनुमान छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण