के पुँजीवाद मानव सभ्यताको अन्तिम गन्तव्य हो ?
सारांश
- लेखमा पुँजीवादका संकट र साम्यवादको आवश्यकतालाई जोड दिइएको छ, जसले विश्वव्यापी असमानता र जलवायु परिवर्तनका समस्यालाई औंल्याउँछ।
- लेखले साम्यवादलाई श्रम, समानता र सामाजिक न्यायमा आधारित ऐतिहासिक आवश्यकताको सिद्धान्तको रूपमा प्रस्तुत गर्दै, यसको सैद्धान्तिक र व्यावहारिक पक्षको चर्चा गरेको छ।
- अन्त्यमा, लेखले साम्यवादलाई मानव सभ्यताको पुनर्निर्माणको सवालका रूपमा व्याख्या गर्दै, युवा पुस्तामा यसको महत्व र बहसको आवश्यकता औंल्याएको छ।
आजको विश्वको स्वरूप हेरौँ– चारैतिर अशान्ति, असमानता, युद्ध र भय मात्रै छ । पुँजीवादले आफ्नै गर्भमा जन्माएको सङ्कट अब नियन्त्रणभन्दा बाहिर पुगेको छ । मानव सभ्यता जसरी प्रविधि र बजारको यन्त्रमा थिचिँदै गएको छ, त्यसले जीवनको मूल्य घटाउँदै छ तर वस्तुको मूल्य बढाउँदै लगेको छ । यसै विरोधाभासले संसारभर आज फेरि साम्यवादको आवश्यकता महसुस हुन थालेको छ ।
विश्वको राजनीतिक नक्सा फेरिँदैछ । अमेरिकाले आफ्नो प्रभुत्व जोगाउन नाटोको ढाल ओढेको छ । चीन आर्थिक विस्तारमा छ, रुस आफ्नो प्रभाव पुनः स्थापित गर्न खोज्दैछ । युरोप आर्थिक मन्दीको चपेटामा छ । अफ्रिकामा नयाँ औपनिवेशिक घेराबन्दी चलिरहेको छ । मध्यपूर्वमा युद्ध र सामूहिक विनाशका खतरा तीव्र छन् । यी सबै घटनाले के देखाउँछन् भने, विश्व राजनीतिको आधारभूत चरित्र अझै पनि वर्गीय र साम्राज्यवादी नै छ ।
मार्क्सले डेढ शताब्दी अघि चेतावनी दिएका थिए, ‘पुँजीवाद आफैँ आफ्ना विरोधाभासबाट ध्वस्त हुन्छ ।’ आजको यथार्थमा त्यो भविष्यवाणी अचुक लाग्छ । संसारको एक प्रतिशत जनसङ्ख्याले ४५ प्रतिशत सम्पत्ति नियन्त्रण गर्छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार २०२५ सम्ममा विश्वका सबैभन्दा धनी ५० जनाको सम्पत्ति ३ अर्ब जनसंख्याको बराबर हुनेछ । यो कस्तो समानता हो ? यसले फेरि त्यही प्रश्नलाई पुनः ब्युँताइदिएको छ— के पुँजीवाद नै मानव सभ्यताको अन्तिम गन्तव्य हो ?
फ्रान्सेली दार्शनिक जाँ–पोल सात्रले भनेका थिए, ‘मानिस स्वतन्त्र हुन बाध्य छ ।’ तर पुँजीवादी समाजमा मानिस स्वतन्त्र होइन, बाध्य मात्र छ— उपभोग गर्न, प्रतिस्पर्धा गर्न र नाफाको खेलमा भाग लिन । उपभोग र प्रतिस्पर्धाको यस संस्कृतिले मानिसको चेतनामा नयाँ किसिमको दासत्व जन्माएको छ । साम्यवादको बहस यही चेतनाको पुनर्जागरण हो ।
अमेरिकाले २०औँ शताब्दीदेखि नै साम्यवादविरोधी विचारलाई सभ्यताको रक्षकको रूपमा चित्रण गर्दै आएको छ । तर सोभियत संघको पतनपछि पनि पुँजीवादले देखाएको मार्ग लोकतान्त्रिक नभई साम्राज्यवादी रह्यो । इराक, अफगानिस्तान, लिबिया, सिरिया— यी सबै ठाउँमा ‘स्वतन्त्रता’ को नाममा युद्ध भए । नाफाका लागि युद्ध, तेलका लागि हत्या र सत्ताका लागि मानवीय विनाश भए । यही हो आधुनिक पुँजीवादको चरित्र ।
जर्मन दार्शनिक हेगेलले भनेका थिए, ‘मानिसले इतिहासबाट केही सिक्दैन भन्ने इतिहासले नै मानिसलाई सिकाएको छ ।’ तर साम्यवादले ठीक यही त्रुटि सुधार्ने प्रयास गर्छ । इतिहासको द्वन्द्वबाट सिक्ने र त्यसलाई रूपान्तरण गर्ने चेतनाको अंकुरण गराउने ।
आजको विश्व केवल आर्थिक संकटमा छैन, वैचारिक संकटमा पनि छ । पुँजीवादले विचारको ठाउँमा विज्ञापन राखिदिएको छ । दर्शनको ठाउँमा मनोरञ्जन, चेतनाको ठाउँमा यान्त्रिक प्रतिक्रिया । मानिस सोच्दैन, क्लिक गर्छ । निर्णय गर्दैन, चयन गराइन्छ । यही स्थितिलाई अमेरिकी विद्वान सुशाना जुबोफ ‘सर्भिलान्स क्यापटिलिजम’ भन्छिन् ।
अर्थात निगरानी पुँजीवाद, जहाँ मानिस स्वयं उत्पादन होइन, उत्पादनको डेटा बन्छ । साम्यवादले यसलाई चुनौती दिन्छ, किनकि साम्यवादको मूल विचार नै मानव चेतना, श्रम र सम्बन्धलाई वस्तुको रूपमा होइन मूल्यका रूपमा हेर्ने रहेको छ ।
स्लाभोग जिजेकले भनेका छन्, ‘आजको साँचो यूटोपिया भनेकै पुँजीवाद अनन्तसम्म टिकिरहन्छ भन्ने भ्रम हो ।’ वास्तवमा आज पुँजीवादको प्रत्येक संरचना बजार, राजनीति, संस्कृति सबै विघटनको रेखामा पुगेको छ । जलवायु सङ्कट यसको स्पष्ट उदाहरण हो । नाफाका लागि पृथ्वीको प्राकृतिक स्रोत दोहन भइरहेको छ । कार्बन उत्सर्जनको ७० प्रतिशत विश्वका केवल एक सय कम्पनीहरूले मात्र उत्सर्जन गर्छन् ।
तर दण्ड कसले पाउँछ ? गरिब, किसान, श्रमिक र ती मुलुकहरू, जसले प्रदूषण लेस मात्र पनि उत्पादन गर्दैनन् । पुँजीवादको यो अन्यायपूर्ण स्वरूपले अब पृथ्वीको अस्तित्वमै प्रश्न खडा भएको छ । साम्यवादको पर्यावरणीय चेतनाले यसको सटिक वैकल्पिक उत्तर दिन्छ— उत्पादन र उपभोगको नियन्त्रण समाजद्वारा नाफाका लागि होइन, आवश्यकता र सन्तुलनका आधारमा हुनुपर्छ ।
साम्यवाद कुनै काल्पनिक युटोपिया होइन । यो श्रम, समानता र सामाजिक न्यायमा आधारित ऐतिहासिक आवश्यकताको सिद्धान्त हो । मार्क्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्रमा भनेका थिए, ‘वर्गसंघर्ष केवल आर्थिक होइन, चेतनाको संघर्ष हो ।’ उत्पादन र स्वामित्वबिचको विरोध हो, जब स्वामित्व थोरै हातहरूमा खुम्चिन्छ, त्यतिबेला उत्पादनको श्रम व्यापक शोषणमा परिणत हुन्छ ।
यही शोषण समाप्त गर्न साम्यवादको ऐतिहासिक जन्म भएको हो । सोभियत संघको क्रान्तिले मानव इतिहासमा पहिलो पटक श्रमिक वर्गलाई सत्तामा पुर्यायो । त्यो प्रयोग त्रुटिरहित थिएन, इतिहासको अद्वितीय उपलब्धि थियो । ज्ञान, विज्ञान, शिक्षा, औद्योगिक विकास, महिला अधिकार र राष्ट्रिय आत्मनिर्भरता— यी सबैमा सोभियत प्रणालीले पुँजीवाद भन्दा ठुलो योगदान दियो ।
त्यसपछि चिनियाँ क्रान्तिले मार्क्सवादलाई आफ्नो भूमि र समय अनुसार रूपान्तरण ग¥यो । माओले भने, ‘वास्तविकता जनतामा बस्छ, सिद्धान्त जनताबाट नै निस्कनुपर्छ ।’ यही विचार आजको २१औँ शताब्दीको समाजवादी राज्यहरूको आधार बनेको छ ।
भियतनाम, क्युबा र लाटिन अमेरिकाका नयाँ वाम आन्दोलनहरूले साम्यवादको व्यावहारिक रूप फेरि प्रमाणित गरिरहेका छन् । बोलिभियामा इभो मोरालेस, भेनेजुएलामा ह्युगो चाभेज, चिलीमा गाब्रिएल बोरिक— यी सबै आन्दोलनहरू पुँजीवादी शक्तिको विरोधमा जनताको आत्मनिर्णयको अधिकारका प्रतीक थिए । साम्यवादको विचार अब केवल पूर्वी ब्लकमा सीमित छैन, यो विश्वव्यापी न्यायको आन्दोलन बनिसकेको छ ।
दार्शनिक हर्बर्ट मार्कुसेले भनेका छन्, ‘मुक्ति प्राप्त गर्नका लागि पुँजीवादी प्रणालीको सम्पूर्ण संरचना नै अस्वीकार गर्नुपर्छ ।’ वर्तमान युगमा त्यो अस्वीकार चेतनाबाट सुरु हुन्छ, जसमा मानिस आफूलाई बजारको वस्तु होइन ऐतिहासिक प्राणीका रूपमा बुझ्छ । यही चेतनाको पुनर्जागरण साम्यवादको आत्मा हो । अवश्य पनि साम्यवादका आलोचनाहरू छन् ।
नौकरशाही, शक्तिको दुरुपयोग र वैचारिक दृढता भन्दा पनि कठोरपना जस्ता त्रुटि नभएका होइनन् तर ती व्यवस्थाका खराबी भन्दा पनि अभ्यासका त्रुटीहरु हुन् । मार्क्सले भनेका थिए, ‘साम्यवाद स्थिर विचार होइन, यो निरन्तर गतिशील दर्शन हो, जसले परिस्थितिअनुसार पुनर्व्याख्या खोज्छ ।’ २१औँ शताब्दीको साम्यवाद तर्क, विज्ञान र लोकतान्त्रिक सहभागितामा आधारित हुनुपर्छ, जसले राज्यलाई साधन बनाउँछ, जनतालाई लक्ष्य ।
अब प्रश्न उठ्छ, यो बहस अहिले नै किन ? साम्यवाद नै किन ? यसको उत्तर इतिहासले दिन्छ ।
जब पुँजीवाद संकटमा पर्छ, साम्यवाद पुनर्जीवित हुन्छ । सन् १८७० को वित्तीय संकटपछि माक्र्सवाद जन्मियो । सन् १९३० को महामन्दीपछि समाजवादी आन्दोलनले विश्वव्यापी गति लियो । र, अहिले २१औँ शताब्दीको विश्वव्यापी आर्थिक असमानताले साम्यवादको बहसलाई फेरि केन्द्रमा ल्याइ दिएको छ । नेपालको सन्दर्भमा पनि यो बहस अत्यावश्यक छ ।
यहाँका कम्युनिस्ट आन्दोलनहरूले जनतालाई राजनीतिक चेतना र वर्गीय दृष्टिकोण सिकाए । तर सत्ता प्राप्त भएपछि वैचारिक विचलन र अवसरवादले आन्दोलनलाई कमजोर पा¥यो । साम्यवादको नाममा दलालपुँजीवाद प्रवेश गर्यो, जनताको पार्टी, सत्ताको पार्टी बन्यो । यही कारण, अहिलेको नेपालमा साम्यवादको चर्चा पुनः दार्शनिक र वैचारिक तहमा गर्नुपर्ने समय आएको छ । साम्यवाद सत्ता कब्जाको नारा होइन, समाज रूपान्तरणको दर्शन हो ।
आजका युवा पुस्ता उपभोगतावादी बजार संस्कृतिको प्रभावमा छन् । उनीहरूलाई साम्यवाद पुरानो कथा जस्तो लाग्न सक्छ, तर जब उनीहरू बेरोजगारी, शोषण र असमानतासँग ठोक्किन्छन्, तब साम्यवादको अर्थ बुझ्न थाल्छन् । साम्यवाद तिनै युवाको भविष्यको खोज हो, जसले असमानता र अन्यायविरुद्ध विचारको हतियार उठाउँछ ।
एङ्गेल्सले भनेका थिए, ‘फ्रिडम इज द रिकग्निशन अफ नेसेसिटी’ । आज त्यो आवश्यकता पुनः स्पष्ट छ । मानव स्वतन्त्रता, सामाजिक न्याय, र उत्पादनमाथिको सामूहिक नियन्त्रण । यो केवल राजनीतिक विकल्प होइन, अस्तित्वको विकल्प हो । पुँजीवादले जलवायु, युद्ध र असमानताको बाटोमा मानवता नष्ट गर्न सक्छ भने साम्यवादले मानवता जोगाउने बाटो देखाउँछ ।
साम्यवादको चर्चा अब केवल विचारधाराको पुनरावलोकन होइन, मानव सभ्यताको पुनर्निर्माणको सवाल हो । यो बहस विश्वविद्यालयका कक्षामा मात्र होइन, किसानको खेतमा, मजदुरको कारखानामा र युवाको चेतनामा पुनर्जीवित हुनुपर्छ । जिजेकका शब्दमा भन्ने हो भने– हामीले फेरि सोच्न थाल्नुपर्छ, इतिहासको अन्त्यका बारेमा होइन, बरु नयाँ इतिहासका बारेमा ।
अब इतिहासको नयाँ प्रारम्भ साम्यवादबाटै सम्भव छ, जहाँ उत्पादन समाजको स्वामित्वमा, राज्य जनता स्वयंको नियन्त्रणमा र चेतना मुक्तिको दिशामा अग्रसर हुनेछ । त्यसैले, साम्यवादको चर्चा र बहस अगाडि बढाउने बेला यही हो ।
पुँजीवाद आफ्नै विरोधाभासमा डुब्दैछ र मानव चेतनाले पुनः न्याय, समानता र सहअस्तित्वको खोज गरिरहेको छ । यो बहस जीवनका प्रत्येक तहमा पुग्नुपर्छ, किनकि यही बहसले मानव मुक्ति र भविष्यको दिशा तय गर्नेछ । साम्यवाद आजको संकटको उत्तर मात्रै होइन, भोलिको सभ्यताको सम्भावना हो । यही विचार, चेतना, र सङ्घर्षमा भविष्यको किरण लुकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण