‘हामी संस्थापन पक्षमै छौं, तर जसले जे-जे भन्छन् त्यतै ल्याप्चे लगाउँदैनौं’
काठमाडौँ । नेपाली कांग्रेसमा अहिले महाधिवेशन निर्वाचनअघि कि पछि गर्ने बहस चलिरहेको छ । एक महिनाभन्दा लामो समयदेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे कुनै निर्णय गर्न सकेको छैन । कांग्रेसको संस्थापन पक्षम चुनावपछि महाधिवेशन गर्ने भनिरहेको छ भने इतर पक्ष पुस अन्तिमसम्ममा नियमित नभए विशेष नै भएपनि महाधिवेशन गर्नुपर्ने अडानमा देखिन्छ ।
कात्तिक २६ गते कांग्रेसको संस्थापन समूहका २४ जना केन्द्रीय सदस्यले ७ बुँदे माग पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराए । संस्थापन समूहकै सदस्यहरूले ध्यानाकर्षण पत्र दर्ता गराएपछि उनीहरुले संस्थापन छाडेको आरोप पनि लाग्यो । सातबुँदै माग राख्नेमध्ये एक उदयशमशेर राणा भन्छन्, ‘हामी संस्थापन पक्षमा नै छौँ, तर संस्थापन पक्षमा जो–जोले जे–जे भने त्यसमै ल्याप्चे लगाएर बस्न सक्दैनौँ । अहिलेको परिस्थितिमा हामीलाई लोकतान्त्रिक पार्टीमा आफ्नो धारणा राख्ने अधिकार छ ।’
पार्टी अनिर्णयको बन्दी किन बनिरहेको छ ? महाधिवेशन कहिले गर्नुपर्छ ? निर्वाचनमा कांग्रेस जान्छ कि जाँदैन ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले कांग्रेस केन्द्रीय सदस्य राणासँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईंलगायत संस्थापन समूहमा रहेका २४ जना केन्द्रीय सदस्यले पार्टी केन्द्रीय कार्यालयमा सात बुँदे माग दर्ता गराउनुभएको थियो । ती माग केका लागि दर्ता गराउनुभएको हो ?
अहिले हाम्रो पार्टी नेपाली कांग्रेसमा दुई धारणा देखिराखेका छौँ । हाम्रो धारणा दुवै पक्षलाई मिल्ने गरेर एउटा मध्यमार्गी बाटो लिएर अगाडि बढ्न सकेमा यसले पार्टीभित्र एकता बलियो हुन्छ भन्ने हो । अहिले पार्टी बाहिर हाम्रा अगाडि विभिन्न चुनौती आएका छन् । त्यसलाई सामना गर्न सहज हुन्छ भनेर मध्यमार्गी बाटो हामीले निकाल्ने प्रयास गरेका हौँ ।
तर तपाईंहरूले ती माग राखेर ध्यानाकर्षण पत्र दर्ता गराएपछि संस्थापनका केन्द्रीय सदस्यहरू इतर समूहमा लागे भन्ने चर्चा भइरहेको छ नि ?
ध्यानाकर्षण पत्र बुझाउने साथीहरू सबैभन्दा पहिला पार्टीका केन्द्रीय सदस्यहरू हौँ । पार्टीभित्रको गुट–उपगुटमा केन्द्रित भएर यी माग बुझाएका होइनौँ । हामीहरू संस्थापन पक्षमा नै छौँ तर संस्थापन पक्षमा जो–जोले जे–जे भने त्यसमै ल्याप्चे लाएर बस्न सक्दैनौँ । अहिलेको परिस्थितिमा हामीलाई लोकतान्त्रिक पार्टीमा आफ्नो धारणा राख्ने अधिकार छ ।
बीपी कोइराला र सुवर्ण शमशेरले सुरु गरेको पार्टीमा दुई-चार जना नेताहरूले हामी संस्थापन हौँ भनेर हामी सबैको टाउको गन्न मिल्दैन । हाम्रो धारणा गुटलाई भन्दा पार्टीलाई बलियो बनाउने हो । हामी १४ औँ महाधिवेशनमा संस्थापनबाट निर्वाचित भएकोमा दुई मत छैन । संस्थापनभित्र हामीलाई आफ्ना सोच र विभिन्न किसिमका धारणा राख्ने अधिकार रहन्छ । त्यसैले यो गुट, उपगुट, परिवर्तन गर्यो भन्ने विषय महत्त्वपूर्ण होइन । अहिलेको परिस्थितिमा कांग्रेसलाई सहज ‘सेफ ल्यान्ड’ गराउने हाम्रो उद्देश्य हो ।
गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठक अहिलेसम्म सकिएको छैन । निर्णय नगरी सारेको सार्यै गरिएको छ । समस्या कहाँ देखिएको छ र समाधानका लागि के प्रयास भइरहेका छन् ?
यसबारे हामीलाई पनि अचम्म लागेको छ । जटिल परिस्थितिमा रातारात तुरुन्त निर्णय लिनुपर्नेमा बैठकबाट हामीले साधारण निर्णय लिन सकिरहेका छैनौँ । अहिले विशेष महाधिवेशनमा हामी जानु हुँदैन भन्नेमा हामीहरू स्पष्ट छौँ । आगामी पुस २९ गतेसम्म हामीले केही न केही निर्णय लिएनौँ भने हामी विशेष महाधिवेशनमा जानै पर्छ ।
_zlqWSPh3pq.jpg)
त्यसैले हामीले त्यो भन्दा अगाडि अधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ । मंसिरदेखि नै अधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने एउटा विकल्प देखाएको मात्र हो । सबै नेताहरू, सबै पक्षका साथीहरू पनि त्यो विकल्पमा उहाँहरू आउनुहुन्छ भन्ने मलाई लाग्छ ।
तपाईंहरूले सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनुपर्छ भन्न खोज्नुभएको हो ?
हामीले स्पष्ट रूपमा भनेका छौँ, पहिला क्रियाशील सदस्यताको प्रक्रिया टुंग्याउनुपर्यो । आवश्यक परे क्रियाशील सदस्य जाँचबुझ समिति बनाऔं । त्यसपछि महाधिवेशनको प्रक्रिया सुरु गरौँ । प्रक्रिया सुरु गरेर सकेसम्म पुसभित्र अधिवेशन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । केही गरी निर्वाचनको राप र चापले समयमै महाधिवेशन गर्न सकेनौं भने परिस्थिति अनुसार फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन्छ भन्ने तयारीमा छौँ । तर अब हुँदैन भन्ने विभिन्न किसिमका हल्लाहरू पनि चलिरहेका छन् ।
भएन भने त्यतिबेला पार्टी कार्यवाहक सभापति लगायत पदाधिकारीहरूले आवश्यकता हेरेर निर्णय गरे भने हामी सबै खुसी हुनुपर्छ । खुसी हुन्छौँ । तर एउटा कुरा के स्पष्ट हुनुस् भने हामी निर्वाचनमा जाँदा खेरि विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत हस्ताक्षर जुटाउने महाधिवेशन प्रतिनिधि साथीहरूलाई छुट्टै राखेर हामी निर्वाचनमा जान सक्दैनौँ । उनीहरू पनि हाम्रा साथी हुन् । नेता कार्यकर्ता हुन् । निर्वाचनमा जाँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि निर्वाचनमा होमिएनन् भने हामीलाई धेरै गाह्रो पर्छ । त्यसैले त्यतातिर पनि सबै नेतालाई केन्द्रित हुन म आग्रह गर्न चाहन्छु ।
महाधिवेशनको प्रक्रिया निर्वाचन अगाडि सुरु गरौँ, भ्याइएन भने पछाडि गर्दा पनि हुन्छ भन्ने तपाईंहरूको भनाइ हो ?
हाम्रो भनाइ प्रक्रिया सुरु गरौँ, सकेसम्म निर्वाचन अगाडि नै महाधिवेशन सकाऔँ भन्ने हो । अझ पुसभित्रै सकाऔँ भन्ने हो । राष्ट्रिय राजनीति आन्तरिक पार्टीको राजनीति भन्दा महत्वपूर्ण हुन्छ । त्यसले कस्तो मोड लिन्छ ? त्यो हामीले ख्याल गर्नुपर्छ । अहिले हाम्रो राष्ट्रिय राजनीति एकदम तरल अवस्थामा छ । त्यसैले यसले कस्तो आकार लिन्छ, त्यही अनुसार कांग्रेसले निर्णय गर्नुपर्छ ।
नेपालको राष्ट्रिय राजनीति यो मोडमा जानुपर्छ भनेर कांग्रेसले चाहेर मात्र हुँदैन । अहिले हामी सरकारको ड्राइभिङ सिटमा छैनौँ । अहिलेको सरकारले गरेका कतिपय निर्णय हामीले समर्थन गरौँला, कतिपय निर्णयलाई हामीले समर्थन नगरौँला, विरोध गरौँला । त्यसैले ती परिस्थितिलाई सामना गरेर हामी अगाडि बढ्नुपर्छ ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर गएका सभापति शेरबहादुर देउवा शुक्रबार फर्किएपछि फेरि सक्रिय भएको घटनाक्रमहरूले देखाउँछन् । खड्काले निर्णय गर्न नसक्दा कांग्रेस अनिर्णीत भयो, फेरि देउवा सक्रिय हुनुपर्छ भन्ने धारणा पनि विस्तारै आइरहेका छन् । कार्यवाहक फिर्ता हुने प्रक्रिया सुरु हुने हो अब कांग्रेसमा ?
मलाई त्यो लाग्दैन । किनभने पार्टी सभापति शेरबहादुर देउवाको पर्सनालिटी हेर्यो भने उहाँले एउटा निर्णयमा पुगिसकेपछि हत्तपत्त पछाडि नफर्किएको इतिहास छ । त्यसैले कार्यवाहक सभापतिकै अध्यक्षतामा अहिले हामी बैठक बसिराखेका छौँ । भोलि पनि हामी त्यही गर्छौँ भन्ने मलाई विश्वास छ । तर कांग्रेसभित्रको राजनीति अत्यन्तै जटिल रूपमा धेरै समय अलमलिएपछि एउटा अभिभावकको रूपमा गाँठो फुकाउने कामको पहल कदमी आवश्यक थियो, त्यसैले त्यो अभिभावकीय भूमिका निभाउनु भएको होला जस्तो लाग्छ ।

यद्दपि उहाँसँग सिंगापुरबाट फर्किएपछि मेरो कुरा भएको छैन । पत्रपत्रिकामा आएका विषय हेर्दा एउटा अभिभावकको भूमिका खेलेर एउटा मध्यमार्गी बाटोबाट पार्टीमा देखिएको समस्याको सेफ ल्यान्डिङ गराउने सोचमा भएर उहाँले अलिकति सल्लाह गर्नुभएको हो भन्ने मैले बुझेको छुँ ।
अब अर्को राष्ट्रिय राजनीतिबारे कुरा गरौँ । फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको मिति तय गर्यो । निर्वाचन हुने निश्चित भएको हो ?
निर्वाचन हुन्छ कि हुँदैन, हामीलाई थाहा छैन । निर्वाचन भयो भने नेपाली कांग्रेस जबर्जस्त तरिकाले भाग लिन्छ ।
कांग्रेसभित्र त प्रतिनिधिसभा पुनर्स्थापनाको कुरा पनि उठेको थियो । हस्ताक्षर संकलन पनि विघटित प्रतिनिधिसभामा प्रमुख सचेतकको नेतृत्वमा भएको बाहिर आएको थियो । अब त्यो पक्षमा नलागेर निर्वाचनमा जाने तपाईंहरूको रणनीति हो ?
मेरो धारणा स्पष्ट छ, मलाई मेरो निर्वाचन क्षेत्र ललितपुर १ का जनताले निर्वाचित गरेर पठाएका थिए । निर्वाचित भएपछि पाँच वर्षको समय थियो । तर तीन वर्ष नपुग्दै जनताले नै हामीलाई सडक आन्दोलन गरेर संसद्बाट बाहिर ल्याएका छन् । त्यसैले त्यही संसद्मा जान फेरि जनताले निर्वाचित गरेर त्यहाँ पुर्याउनुपर्छ ।
कांग्रेस संसद् पुनर्स्थापनातिर केन्द्रित हुनुहुँदैन । निर्वाचनमा केन्द्रित हुनुपर्छ भन्ने मेरो धारणा हो । यही धारणा मैले जारी केन्द्रीय कार्यसमिति बैठकमा पनि राखेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण