बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी अस्पतालको सेवा गुणस्तरीय र भरपर्दो :  स्वास्थ्यमन्त्री गौतम

सोमबार, ०१ मङ्सिर २०८२, १७ : ५०
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले सरकारी अस्पतालको सेवा गुणस्तरीय र सस्तो रहेको बताइन्।
  • उनले वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या रहेको र नर्सको संख्या बढाउनुपर्ने माग आएको बताइन्।
  • मन्त्री गौतमले शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने गुनासो सम्बोधन गर्न निर्देशन दिइन्।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवम् सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न आम सर्वसाधारणसँग अनुरोध गरेकी छन् ।

वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दो सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोतसाधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन सबैसँग अनुरोध गरिन् ।

मन्त्री डा. गौतमले भनिन्– ‘सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन । निर्धक्क भएर उपचार गर्नोस् । अस्पतालको सेवाप्रति ढुक्क हुनोस् र लाभान्वित हुनोस् ।’ 

‘वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या देखिएको छ । परामर्श सेवामा कमजोर रहेछौँ । ‘नर्स’ को सङ्ख्या बढाउनुपर्ने भन्ने माग आयो । त्यसतर्फ अस्पताल व्यवस्थापनको ध्यान जान आवश्यक छ,’ उनले भनिन् ।

शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने भन्ने जनगुनासो सम्बोधन गर्न निर्देशन दिँदै उनले केन्द्रीयसहित प्रादेशिक अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री गौतमका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा र श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्नु अस्पतालको सबल पक्ष हो । उनले वीर अस्पतालको जनशक्ति तथा उपकरण व्यवस्थापनका क्षेत्रमा सक्दो सहयोग प्रतिबद्धता व्यक्त गरिन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप