बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

सोमबार, ०१ मङ्सिर २०८२, १८ : ३४
सोमबार, ०१ मङ्सिर २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।

आयोगमा  हालै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लगायत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यतालिकाअनुसार आजदेखि यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताए ।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो जमघटले सबै राजनीतिक दल निर्वाचनमा भाग लिन आतुर रहेको देखिएको छ । 

आयोगका अनुसार आगामी निर्वाचनमा भाग लिन देश विकासका सन्ध्या खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी,  नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंहले आज दल दर्ताका लागि निवेदन दिएका छन् । 

यस्तै, मङ्गोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीका सरस्वतीकुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् । 

यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन पेस गरेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप