फतुवा विजयपुरका ११ वडा अध्यक्षद्वारा सिडिओलाई संयुक्त ज्ञापनपत्र
सारांश
- फतुवा विजयपुर नगरपालिकाका ११ वडा अध्यक्षले सिडिओलाई ज्ञापनपत्र बुझाएका छन्, प्रशासनिक अव्यवस्था र कार्यालय बन्दको विरोध गर्दै।
- वडा अध्यक्षहरूले कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र उनको श्रीमान्को दबाबमा आर्थिक अनियमितता र कर्मचारीको तलब रोकेको आरोप लगाएका छन्।
- प्रमुख प्रशासकीय अधिकृत परिवर्तनको विरोधमा कर्मचारीको तालाबन्दी र मेयरको आरोप-प्रत्यारोपका कारण सेवाग्राही मारमा परेका छन्।
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका ११ जना वडा अध्यक्षहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसाललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकामा पछिल्ला समय देखिएको प्रशासनिक अव्यवस्था र कार्यालय बन्दका कारण स्थानीय सेवाग्राही मारमा परेको भन्दै सोमवार वडाध्यक्षहरू जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्।
वडा नम्बर २ का वडा अध्यक्ष अनुरुद प्रसाद यादवका अनुसार कार्यवाहक नगरप्रमुख अम्बेया खातुनका कारण नगरपालिका तथा ११ वटै वडा कार्यालयमा तालाबन्दी हुने अवस्था सिर्जना भएको हो। कार्यालयमा कार्यरत करार कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत परिवर्तनको विरोधमा तालाबन्दी गरेपछि नगरपालिका पूर्ण रूपमा बन्द भएको वडाअध्यक्षहरूको आरोप छ।
वडाध्यक्षहरूले कार्यवाहक नगरप्रमुख खातुनले आफ्ना श्रीमान् शेख सेराजको दबाबमा प्रमुख प्रशासकीय अधिकृत भरत यादवको सरुवा गराएको गम्भीर आरोप लगाएका छन्। वडाअध्यक्ष यादवका अनुसार कानुन विपरीतका कार्यहरू गर्न अस्वीकार गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत यादवलाई हटाउन खोज्दा विवाद चर्किएको हो।
वडा नम्बर १ का वडा अध्यक्ष विजय कुमार यादवले नगरपालिकाको विवादको मूल कारण आर्थिक अनियमिततामा रहेको दाबी गरेका छन्।उनका अनुसार पहिले नै कालोपत्रे गरिएको सडकमा पुनः ५० लाखको माटो पुरी ग्राभेल गरिएको देखाउँदै नक्कली बिल तयार गरी रकम भुक्तानी गराउन दबाब दिइएको थियो, जुन प्रमुख प्रशासकीय अधिकृत यादवले अस्वीकार गरेपछि झनै द्वन्द्व बढेको हो।
यता, नगरपालिकामा कार्यरत ८२ जना करार कर्मचारीको तलब कार्यपालिका बैठकले निर्णय गरे पनि कार्यवाहक नगरप्रमुख खातुनले आफ्नो श्रीमानको निर्देशनमा तलब रोकिरहेको वडाअध्यक्षहरूको आरोप छ। कार्यालय बन्द हुँदा दैनिक सेवा प्रक्रिया पूर्ण रूपमा बन्द भएको र स्थानीयले अत्यधिक सास्ती भोगिरहेको वडाध्यक्षहरूले बताए।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले नगरपालिकाको कार्यालय सञ्चालन सामान्य बनाउन आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
फतुवा विजयपुर नगरपालिका पछिल्ला केही सातादेखि आन्तरिक विवाद र शक्ति–किचलोका कारण प्रशासनिक रूपमै अस्तव्यस्त बनेको छ। स्थानीय जनप्रतिनिधि तथा सेवाग्राही सबैले छिटो समाधानको अपेक्षा गरेका छन्।
उता कार्यवाहक मेयर खातुनले सम्पूर्ण आरोपको खण्डन गर्दै आफूले नियमसंगत काम गर्दैआएको प्रतिक्रिया दिएकी छिन्।फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीबाट मेयर पदमा निर्वाचित गोपाल प्रसाद यादव दुईवर्ष अघि विशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा दण्ड जरिबाना तोकेपछि उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण