शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल

विराटनगरको विजयी सुरुवात, पोखरा एभेन्जर्समाथि ५३ रनको जित

मङ्गलबार, ०२ मङ्सिर २०८२, २० : २०
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको हो । 

त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको  पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । 

पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । 

पोखराका लागि एडम रोसिन्टनले ३९ रन बनाउँदा डान डाउथवेडले २९ रनको योगदान गरे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा २२० रनको विशाल स्कोर खडा गरेको थियो । यो कुनै पनि टोलीले एनपीएलमा  बनाएको सबैभन्दा ठुलो स्कोर हो । 

विराटनगरको ब्याटिङले मैदानमा आक्रामक प्रदर्शन गर्‍यो । टोलीका ब्याटरहरूले उत्कृष्ट तालमेलका साथ छिटो रन बटुल्दै पोखरा एभेन्जर्सका बलरहरूलाई दबाबमा राखेका थिए ।

आजको खेलमा ओपनर लोकेश बम र मार्टिल गप्टिल चम्किए । यी दुईले आक्रामक पारी खेले । बमले ४८ बलमा ७ छक्का र एक चौका सहित ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का सहित ६१ रन बनाए । 

यस्तै शुभमन रन्जनेले १६ बलमा ३८ रन, बसिर अहमनले १३ बलमा २३ र ओपनर जर्ज मुन्सेले ६ बलमा १० रन र नारायण जोशीले ११ रन बनाए । पोखराका लागि म्याट टेलर ४ ओभरमा २ विकेट लिँदा ४८ रन खर्चिए । यस्तै सागर ढकाल र कुशल भुर्तेल र आकाश चन्दले एक एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप