मुख्यसचिव र दुई सचिव अनिवार्य अवकाशमा जाँदै, नयाँ मुख्यसचिवका लागि दौडधुपमा सुरु
सारांश
- मंसिरमा मुख्यसचिव र दुई सचिव अनिवार्य अवकाशमा जाँदैछन्, जसमा मुख्यसचिव एकनारायण अर्याल छन्।
- मुख्यसचिव अर्यालको अवकाशपछि नयाँ मुख्यसचिवका लागि सिनियर सचिवहरूबीच प्रतिस्पर्धा सुरु भएको छ।
- वरिष्ठताको आधारमा मुख्यसचिव नियुक्त हुने सम्भावना रहेको र विभिन्न सचिवहरू प्रतिस्पर्धामा रहेको बताइएको छ।
काठमाडौँ । मंसिर महिनामा मुख्यसचिव र दुई सचिव अनिवार्य अवकाशमा जाँदैछन् । मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतम मंसिरमा अनिवार्य अवकाशमा जान लागेका हुन् ।
राष्ट्रिय किताबखाना (निजामती) का अनुसार मुख्यसचिव अर्याल र आयोगका सचिव दुवाडी मंसिर १० गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । मुख्यसचिव अर्याले उमेर हदका कारण र दुवाडी सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर घर जान लागेका हुन् । दुवाडी प्रशासन सेवाका सचिव हुन् ।
२०८१ भदौ १३ गते मुख्यसचिव बनेका अर्यालले करिब १५ महिना मुख्यसचिवमा बढुवा नियुक्ति पाएका थिए । दुवाडी २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका थिए ।
त्यस्तै कानुन सेवाका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव गौतम ५८ वर्षे उमेरहदका कारण मंसिर १८ गतेबाट अनिवार्य अवकाशमा जाने राष्ट्रिय किताबखाना (निजामती)मा उल्लेख छ । २०८० साल भदौ २१ गते सचिवमा बढुवा भएका गौतम करिब २७ महिना सचिव चलाएर घर जान लागेका हुन् ।
मुख्यसचिव अर्याल घर जाने भएपछि नयाँ मुख्यसचिवमा बढुवा नियुक्ति पाउन सिनियर सचिवहरू शक्तिकेन्द्र धाउन लागेका छन् । अर्यालको कार्यकाल एक हप्ता मात्रै बाँकी रहेकाले नयाँ मुख्यसचिवमा बढुवाका लागि कम्मर कसिरहेका छन् ।
तर, वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भएको र केही यसअघि बढुवा नियुक्तिमा वरिष्ठताका आधारमा गरेकाले त्यति ठूलो चलखेल हुने सम्भावना भने कम रहेको जानकारहरू बताउँछन् ।
कार्की नेतृत्वको सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा वरियतामा एक नम्बरमा रहेका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
मुख्यसचिवमा पनि वरिष्ठताका आधारमा बढुवा नियुक्ति गर्ने सम्भावना प्रबल रहेको स्रोत बताउँछ । अहिलेका सचिवमा वरिष्ठतामा एक नम्बरमा राष्ट्रिय योजना आयोगमा सचिव दुवाडी छन् । तर, उनी मुख्यसचिव अर्याल जाने दिनमै सचिवको ५ वर्षे सेवा अवधिका कारण घर जाँदैछन् ।
त्यसपछिको वरियतामा रक्षासचिव सुमनराज अर्याल छन् । २०७७ माघ १९ गते सचिवमा बढुवा भएका अर्याल मुख्यसचिव नभए सचिवको ५ वर्षे सेवा अवधिका कारण आगामी माग १८ गते अनिवार्य अवकाशमा जान्छन् । मुख्यसचिव भए भने ०८३ असार २५ गतेसम्म करिब ८ महिना चलाएर ५८ वर्षे उमेर हदका कारण घर जान्छन् ।
अर्यालपछिको वरियतामा २०७८ असार १७ गते प्राविधिक तर्फको सचिवमा बढुवा भएकी खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य छिन् । महिला प्रधानमन्त्री रहेको र जनजाति महिला पनि रहेकाले मुख्यसचिव बन्न पाइन्छ कि भनेर लबिङमा लागिरहेकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ ।
शाक्यपछिको वरियतामा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी छन् । २०७८ असार २१ गते सचिव भएका बुर्लाकोटी मुख्यसचिव भएमा ५८ वर्षे उमेरहदका कारण २०८३ भदौ २६ गतेसम्म रहन्छन् ।
त्यसपछिको वरियतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण छन् । कर्ण मुख्यसचिव भए भने ३ वर्ष मुख्यसचिव चलाउँछन् ।
त्यसपछिको वरियतामा क्रमशः लोकसेवा आयोगका सचिव किरणराज शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनसङ्ख्या र प्रशासन सचिव डिल्लीराम शर्मा, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योगसचिव कृष्णबहादुर राउत, गृहसचिव रामेश्वर दंगाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला र राष्ट्रपतिको कार्यालयका सचिव डा. दीपक काफ्ले छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण