बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कर्मचारीको नयाँ नेतृत्वबारे चासो

मंसिर १० पछि को बन्ला मुख्यसचिव ?

बुधबार, २६ कात्तिक २०८२, १६ : २३
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गते ५८ वर्षे उमेरहदका कारण अवकाशमा जाँदैछन्।
  • नयाँ मुख्यसचिव बन्ने होडमा सचिवहरू लागिरहेका छन्, जसमा सुमनराज अर्याल, गोकर्णमणि दुवाडी लगायत छन्।
  • प्रधानमन्त्री सुशीला कार्की वरीयताका आधारमा मुख्यसचिव नियुक्त गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण आगामी मंसिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । अर्याललाई २०८१ भदौ १३ गते केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले मुख्यसचिवमा नियुक्त गरेको थियो । 

१५ महिना मुख्यसचिवको जिम्मेवारी निर्वाह गरेर अर्याल अनिवार्य अवकाशमा जाने दिन नजिकिएपछि नयाँ मुख्यसचिव बन्ने होडमा सचिवहरू लागिरहेका छन् ।   

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अर्यालको भूमिका समन्वयात्मक भन्दा तत्कालीन प्रधानमन्त्री ओलीलाई बसरी बचाउन सकिन्छ भन्नेमा केन्द्रित देखिएको जेनजी आन्दोलनकारी र जेनजी कर्मचारी बताउँछन् । उनीहरूले तत्काल अर्याललाई हटाएर नयाँ मुख्यसचिव नियुक्त गर्नुपर्ने माग सुशीला कार्की नेतृत्वको सरकारसँग राखे पनि कार्कीले अर्याललाई पूरै कार्यकाल काम गर्न दिने निश्चित भएको छ । 

यदि अर्याल बिचमै घर फर्किएको भए वरीयताका आधारमा अहिले योजना आयोगको सचिव रहेका गोकर्णमणि दुवाडी मुख्यसचिव बन्ने लाइनमा थिए । अर्यालले पूरै कार्यकाल खाने भएपछि दुवाडी मुख्यसचिव बन्ने सम्भावना अन्त्य भएको छ । एकातर्फ जेनजी आन्दोलनका क्रममा अस्वाभाविक बल प्रयोग गरेको भन्दै दुवाडीलाई गृहसचिवबाट हटाएर योजना आयोगमा थन्क्याइएको छ भने अर्कोतर्फ राष्ट्रिय किताबखाना (निजामती) का अनुसार दुवाडीले पनि अर्यालले अनिवार्य अवकाश पाउने दिन सचिवको ५ वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश पाउनेछन् ।   

अहिलेका सचिवहरूमा दुवाडीपछि दोस्रो वरीयतामा रक्षासचिव सुमनराज अर्याल छन् । केहीले अर्याल तथ्याङ्क सेवाका कर्मचारी भएकाले र कार्यकाल लामो नरहेकाले मुख्यसचिवमा बढुवा नियुक्ति हुनेमा आशंका गरिरहेका छन् । त्यसअघि प्रशासन सेवाका मात्रै मुख्यसचिवमा बढुवा हुँदै आएकोमा परराष्ट्र सेवाका शंकरदाश बैरागी मुख्यसचिव भइसकेकाले अर्याललाई मुख्यसचिव बन्न कसैले रोक्न नसक्ने केहीको तर्क छ ।

मुख्यसचिव बन्न नपाए रक्षासचिव अर्याल आगामी माघमा सचिवको ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान्छन् । उनी २०७७ माघ १९ गते सचिवमा बढुवा भएका थिए । मुख्यसचिव भए भने ०८३ असार २५ गतेसम्म करिब ८ महिना उनले कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । मुख्यसचिव बन्न सफल भएमा आगामी असार २५ गते ५८ वर्ष उमेरहदले उनी अनिवार्य अवकाशमा जानेछन् । 

प्रशासन क्षेत्रका जानकार र प्रधानमन्त्री सुशीला कार्की निकट स्रोत भने अन्तरिम सरकार भएकाले वरीयताका आधारमै मुख्यसचिव नियुक्त गर्ने तयारी रहेको बताउँछ । वर्तमान सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा पनि वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेको थियो । ‘प्रधानमन्त्रीज्यू सकभर विवादमा नतानिले र वरीयताका आधारमा बढुवा गर्ने पक्षमा हुनुहुन्छ । त्यसबारे सल्लाह जारी छ,’ प्रधानमन्त्री कार्की निकट स्रोतले रातोपाटीसँग भन्यो ।   

अर्यालले सचिवमा बढुवा भइसकेपछि कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगमा बसेर काम गरिसकेका छन् । 

अर्यालपछिको वरीयतामा २०७८ असार १७ गते प्राविधिकतर्फको सचिवमा बढुवा भएकी खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य छिन् । महिला प्रधानमन्त्री भएकाले मुख्यसचिव बन्न पाइन्छ कि भनेर उनी पनि लबिङमा लागेको स्रोत बताउँछ । 

शाक्यपछिको वरीयतामा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधु सुदन बुर्लाकोटी छन् । २०७८ असार २१ गते सचिव भएका बुर्लाकोटी मुख्यसचिव भएमा ५८ वर्षे उमेरहदका कारण २०८३ भदौ २६ गतेसम्म कायम रहन्छन् ।  

त्यसपछिको वरीयतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर छन् । उनी २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए । २०३१ सालमा जन्मिएका उनी मुख्यसचिव भए भने ३ वर्ष कर्मचारी प्रशासनको नेतृत्वमा रहनेछन् । उनी सचिव भएपछि प्रदेशमा नगएको र उपसचिव र सहसचिव पनि मधेसी कोटा उपयोग गरेको भन्दै कर्मचारी वृत्तमै उनी आलोचितसमेत छन् ।

त्यसपछिको वरीयतामा क्रमशः लोकसेवा आयोगका सचिव किरणराज शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या र प्रशासन सचिव डिल्लीराम शर्मा, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योगसचिव कृष्णबहादुर राउत, गृहसचिव रामेश्वर दंगाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला र राष्ट्रपतिको कार्यालयका सचिव डा. दीपक काफ्ले छन् । 

सचिव शर्मापछिका सचिवहरू भने अर्याल मुख्यसचिव भएर आफ्नो कार्यकाल सकेपछि पनि मुख्यसचिव बन्न सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप