शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

मधेसका सभामुख हटाउने प्रस्तावमा ‘ह्विप’ लाग्छ, ७ दिनभित्र प्रक्रिया अघि बढ्छ : सरोज यादव

बुधबार, ०३ मङ्सिर २०८२, १३ : ५४
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • जसपा नेता सरोजकुमार यादवले सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्तावमा ७ दिनभित्र प्रक्रिया अघि बढ्ने बताए।
  • उनले सभामुखविरुद्धको प्रस्तावमा पार्टीको ह्वीप लाग्ने र मतदान हुने जानकारी दिए।
  • प्रस्ताव पारित भएमा सभामुख मण्डल पदमुक्त हुने र उपसभामुखले सदन बोलाउनेछन्।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेस संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्तावमा ७ दिनभित्र प्रक्रिया अघि बढ्ने बताएका छन्।
बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता यादवले सभामुखको आचरण सम्बन्धी प्रस्तावमा हुने मतदानमा पार्टीको ह्वीप लाग्ने समेत बताए। उनले भने, ‘यसमा दलीय ह्विप किन लाग्दैन ? जुनसुकै भोटिङमा पनि दलीय ह्विप लाग्छ।’

नेता यादवले अबको ७ दिनभित्र उपसभामुखले सदन बोलाउने र सभामुख विरुद्धको प्रस्तावमाथिको कारबाही प्रक्रिया अगाडि बढ्ने जानकारी दिए। उनले भने, ‘सात दिनभित्र उपसभामुखले सदन बोलाउने प्रक्रिया छ। त्यो सदनमा प्रस्तावक माननीयले प्रस्ताव पेस गर्नुहुन्छ, समर्थकले समर्थन जनाउनुहुन्छ र खुला छलफल हुन्छ।’

सदनमा प्रस्ताव पेस भइसकेपछि सभामुखलाई आफ्नो बचाउका लागि बोल्ने समय दिइने पनि यादवले स्पष्ट पारे। ‘उपसभामुखज्यूले उहाँ (सभामुख) लाई पनि सफाइ पेस गर्न सदनमा बोलाउनुहुन्छ। उहाँले सफाइ दिइसकेपछि मात्र प्रस्ताव निर्णयार्थ भोटिङ प्रक्रियामा जान्छ,’ यादवले भने।

मतदान प्रक्रियामा प्रस्तावको पक्षमा (सभामुख हटाउने पक्षमा) सदनको दुई तिहाई बहुमत पुगेमा प्रस्ताव पारित हुने र सभामुख मण्डल तत्कालै पदमुक्त हुने उनले बताए।
सभामुख मण्डल आजको बैठकमा उपस्थित हुने नहुने सन्दर्भमा पत्रकारको जिज्ञासामा यादवले भने, ‘संसद् सचिवालयबाट सबै माननीयलाई म्यासेज गएको छ। उहाँलाई पनि आफ्नो आचरण सम्बन्धी प्रस्ताव दर्ता भएको जानकारी छ। आउने नआउने उहाँको इच्छाको कुरा हो।’केही दिनअघि ७४ सांसदको हस्ताक्षरमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप