बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सिमरा तनावको असर

सिमरा जेनजी प्रदर्शन : मालवाहक र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर अलपत्र

यात्रुबाहक सवारी साधन वैकल्पिक मार्गबाट सूचारु
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ३०
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • सिमरामा जेनजी आन्दोलनका कारण यातायात ठप्प हुँदा मालवाहक र ट्यांकरहरू बाटोमा रोकिएका छन्।
  • हेटौँडाका यात्रुहरू जाममा परेको गुनासो गर्दै नेताहरूलाई दोष दिएका छन् भने चालकहरूले विरोधको तरिकाप्रति असन्तुष्टि जनाएका छन्।
  • यात्रुवाहक बसहरूले वैकल्पिक मार्ग प्रयोग गरेका छन् भने पथलैया बाहेक अन्य बाटोहरू सुचारु रहेको प्रहरीले जनाएको छ।

बारा । सिमरामा जेनजी आन्दोलनका कारण यातायात क्षेत्र ठप्प भएपछि मालवाहक सवारीसाधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू घण्टौंदेखि बाटोमा अलपत्र परेका छन् ।

वीरगञ्ज भन्सारबाट छुटेका मालवाहक सवारी साधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू पथलैया–परवानीपुर सडकखण्डमा बिहानदेखि अलपत्र परेका हुन् । भन्सारबाट दैनिक ५ सयभन्दा धेरै ट्रक र ट्यांकरहरू छुट्ने गर्दछन् । 

हेटौँडा उपमहानगर–१९ का दिपक थापाले जेनजी आन्दोलनका कारण बाटो अवरुद्ध हुँदा ३ घण्टादेखि जाममा परेको बताएका छन् । ‘हिजो २ घण्टा जाममा परेँ, आज ३ घण्टादेखि जाममा छु, कतिबजे खुल्ने हो थाहा छैन,’ थापाले भने, ‘हामी दुःख गरेर खाने जनताहरूलाई पीडा भएको छ, देश लुटेर खाने नेताहरूलाई आनन्द छ, हामी बाटो कति बेला खुल्छ र जाउँ भनेर बसेका छौँ ।’

बिहानदेखि यातायात क्षेत्र बन्द भएपछि बाटो खुल्ने आशले बसेका चालकहरूले पनि राजनीतिबाट बुढा नेताहरूलाई बिदा गर्नुपर्ने टिप्पणी गरेका छन् । उनीहरूले जेनजीको आन्दोलनमा आफूहरूको समर्थन भए पनि बाटोघाटो अवरुद्ध पारेर विरोधको कार्यक्रम राख्नु उचित नभएको टिप्पणी गरेका छन् । 

सिमरामा १२ बजेदेखि यातायात क्षेत्र बन्द छ । हेटौँडा उपमहानगर–१५ रातोमाटेका शुक्र लामाले यातायात बन्द भएपछि १२ बजेदेखि बाटोमै बसिरहेको बताएका छन् । ‘पहिले जानकारी भएको भए बाटोमा यसरी बिजोग भएर बस्नु पर्थेन’ सवारी चालक लामाले भने, ‘देशमा नयाँ युवाहरू आउनुपर्‍यो, विकास हुनुपर्‍यो यो त हाम्रो पनि माग हो, तर यसरी बाटो अवरुद्ध गर्नुभन्दा अरू उपाय अपनाएर माग राख्नु राम्रो हुन्छ ।’

यातायात क्षेत्र खुले समयमै घर पुग्ने आशमा सवारी चालकहरू छन् ।

यात्रुबाहक बसहरूद्वारा वैकल्पिक बाटो प्रयोग

पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने तथा वीरगञ्जबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रुबाहक बसहरूले भने वैकल्पिक मार्ग प्रयोग गरेका छन् । वीरगञ्जबाट जीतपुरसिमरा, हेटौँडा हुँदै नारायणगढ, काठमाडौँ लगायत अन्यत्र जाने यात्रुबाहक सवारीहरूले कलैया–पिलुवा सडकखण्ड प्रयोग गरेका छन् । 

राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहले पथलैया–सिमरा बाहेकका सम्पूर्ण बाटो सुचारु रहेको बताएका छन् । ‘पथलैयाबाट पूर्व निजगढ जाने बाटो खुल्ला छ, वीरगञ्जबाट आएका साना सवारी साधनहरू परवानीपुरबाट भित्री बाटो प्रयोग गरेर आवतजावत गरेका छन्,’ सिंहले भने, ‘अहिले समस्या भनेको मालवाहक ठुला सवारी साधन र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू मात्रै हुन्, यी साधन साँघुरो बाटोमा आवतजावत गर्न समस्या भएकोले आन्दोलनले रोकिएका हुन् ।’

simara-jamsimara-truck

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप