चिसोले पञ्चकुण्ड ताल जमेपछि...
सारांश
- म्याग्दीको नारच्याङमा रहेको पञ्चकुण्ड ताल चिसोले जमेको छ, जसले हिँडडुल गर्न मिल्ने भएको छ।
- पञ्चकुण्ड ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविर जाने पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र हो।
- दसैँ, तिहार र छठ पर्वको बिदामा दैनिक आउने पर्यटकको संख्या घटेर अहिले ५० को हाराहारीमा आएको छ।
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ । ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ। समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र हो ।
ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उनका अनुसार सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो ताल भनेर नामकरण गरेका थिए ।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि यो तालनै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ ।
पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरी हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिन्छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ ।
वरपर सेताम्मे हिमाल र जमेर बरफ बनेको पञ्चकुण्ड तालले यस क्षेत्रलाई मनोमहक बनाएको आधार शिविरको पदयात्रामा गएका बेनीका सन्दीप खत्रीले बताए । चिसो बढेसँगै अन्नपूर्ण पदयात्रामा चहलपहल घटेको स्थानीय होटल ब्यवसायी माइकल पुनले बताए।
दसैँ, तिहार र छठ पर्व बिदाका अवसरमा दैनिक रूपमा दुई सय देखि तीन सय सम्म पर्यटक आएकोमा यतिखेर दैनिक रूपमा पचास जनाको हाराहारीमा आउने गरेका छन् । असोज–कात्तिकको शरदयाममा करिब १५ हजार भन्दा बढी पर्यटक आधार शिविर पुगेका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण