शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

भेनेजुएलामा के हुँदैछ ?

शनिबार, ०६ मङ्सिर २०८२, १३ : ००
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • बेन नर्टनले भेनेजुएला र मदुरो सरकारबारे आफ्नो धारणा राखेका छन्, जसमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे चर्चा छ।
  • लेखमा भेनेजुएलामा अमेरिकी आर्थिक नाकाबन्दीको प्रभाव र यसले अर्थतन्त्रमा पारेको असरबारे विश्लेषण गरिएको छ।
  • मदुरोको सरकारलाई अन्य राष्ट्रहरूबाट प्राप्त सहयोग र अमेरिकी नीतिको कारण उत्पन्न चुनौतीहरूको बारेमा उल्लेख छ।

पत्रकार तथा विश्लेषक बेन नर्टन ‘जियोपोलिटिकल इकोनोमी रिपोर्ट’ नामको स्वतन्त्र मिडिया प्लेटफर्म चलाउँछन्, जहाँ अन्तर्राष्ट्रिय मामिलाबारे आलोचनात्मक विश्लेषण गरिन्छ । खासगरी अमेरिकी विदेश नीतिको प्रभाव, अमेरिकाले लगाउने आर्थिक प्रतिबन्ध तथा चीन, रुस र इरानजस्ता राष्ट्रहरूबिचको गठबन्धनमार्फत बहुध्रुवीय विश्व व्यवस्थाको उदयबारे छलफल चलाइन्छ । मूलधारका पश्चिमी मिडियाले तय गर्ने भाष्य र प्रोपोगान्डालाई उनी निरन्तर चुनौती दिने गर्छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकजस्ता संस्थाहरूले ऋणमार्फत नवऔपनिवेशिक प्रणालीलाई कसरी संस्थागत गर्छन् भन्नेबारे लामा–लामा खोजी रिपोर्टिङ पस्कने गर्छन् । उनै बेनसँग मन्थली रिभ्यु अनलाइनले गरेको कुराकानीलाई हामीले नेपालीमा अनुवाद गरेका छौँ ।

  • बेन, तपाईं त राम्रोसँग ल्याटिन अमेरिका घुम्नुभएको छ । भेनेजुएला पनि पुग्नुभएको छ । हामीलाई त्यहाँका राष्ट्रपति निकोलस मदुरोबारे तपाईंको टिप्पणी सुन्न मन छ । मदुरोको सरकारलाई जनताको समर्थन छ वा छैन ? उनले सिरियाका राष्ट्रपति बशर अल असदकै जस्तो नियति भोग्नुपर्ने पो हुन्छ कि ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भेनेजुएलामा आक्रमणको तयारी गर्दैछन् । तपाईंको विचारमा मदुरोको सरकार असदको जस्तै ढल्छ ?

पक्कै पनि सिरिया र भेनेजुएलाबिच केही समानता त छन्, तर समानताभन्दा धेरै भिन्नता छन् । भेनेजुएला राजनीतिक रूपमा विभाजित छ, तर आमरूपमा हेर्दा पूर्वराष्ट्रपति ह्युगो चावेजले थालेको तथा निकोलस मदुरोले कायमै राखेको बोलिभारियन क्रान्तिको पक्षमा अहिले पनि भेनेजुएलाका गरिब तथा कामदार वर्गमा ठुलो समर्थन छ । धेरैजसो धनाढ्य तथा सम्भ्रान्तहरू अमेरिकी पक्षधर तथा सरकार विरोधी छन् । त्यस्ता अधिकांश सम्भ्रान्तले देश पनि छोडिसकेका छन् । यद्यपि केही अझै भेनेजुएलामै छन् । उनीहरू प्रायः चाकाओजस्ता धनी क्षेत्रमा बस्छन् ।

भेनेजुएलामा धेरैजसो जनता राजनीतिक द्वन्द्व र हिंसाले हैरान छन् । उनीहरूलाई स्थायित्व चाहिएको छ । प्रतिपक्षमा रहेका दक्षिणपन्थीहरूको पक्षमा देशभित्र समर्थक जनता छैनन् । उनीहरूले विरोध प्रदर्शन आयोजना गर्दा केही सय मानिस सडकमा भेला हुन्छन् । थोरै संख्यामा रहेका भए पनि उनीहरू शक्तिशाली भूमिकामा देखिन्छन् । किनभने निजी कम्पनी, मिडिया तथा पश्चिमाहरूको लगानी रहेका गैरसरकारी संस्थामा उनीहरूकै पकड छ ।

मदुरोको सरकार भेनेजुएलाभित्रका जनताले फाल्दैनन् । मेरो विचारमा त्यहाँको सरकार ढाल्ने एउटै बाटो भनेको अमेरिकाको सैन्य आक्रमण हो । विगतमा इराक, लिबिया, युगोस्लाभिया, पनामा वा ग्रेनाडाडमा जस्तै अमेरिकाले भेनेजुएलाको सीमाभित्रै छिरेर सिधै राजधानी काराकासमा बमबारी गर्दै हमला गरेको अवस्थामा सरकार ढल्ने निश्चित छ ।

ट्रम्पले यसअघि नै अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा भेनेजुएलाका नागरिकको गैरकानुनी तथा गैरन्यायिक हत्या गर्न आदेश दिइसकेका छन् । अहिलेसम्म भेनेजुएलाभित्रै हमला भइसकेको छैन । तथापि त्यहाँ अस्थिरता सिर्जना गर्ने खालका कारबाही गर्नका लागि भने ‘सीआईए’ लाई अधिकार दिएको समाचार प्रकाशित भएका छन् ।

ट्रम्पले देशभित्रै छिरेर विभिन्न महत्त्वपूर्ण ठाउँमा बम हमला गर्ने योजना बनाइसकेको रिपोर्ट पनि आइरहेकै छन् । उनले त्यसो गर्ने सम्भावना ज्यादै उच्च छ । अमेरिकाले गर्ने सबैभन्दा ठुलो आक्रमण त्यही नै हुनेछ । भेनेजुएलाको भूमिमा अमेरिकी सेना नै पठाउँछ भन्ने मलाई लाग्दैन । त्यहाँ सेना पठाएको खण्डमा अमेरिकाभित्र ट्रम्प असाध्यै आलोचित हुन्छन् । खासगरी उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नारामा विदेशी भूमिमा सेना नपठाउने भन्ने छ ।

मेरो आकलनमा भन्ने हो भने अमेरिकाले भेनेजुएलामा क्षेप्यास्त्र तथा हवाई हमला गर्ने सम्भावना ६६ प्रतिशत छ । भेनेजुएलाभित्रै सेना पठाएर आक्रमण गर्ने तथा बन्दरगाह, हवाई अड्डा, मुख्य सडकहरू तथा तेलका कुवा कब्जा गर्न प्रयास गरिने सम्भावना भने २५ प्रतिशतमात्रै छ ।

अमेरिकाभित्र गरिएका मत सर्भेक्षणहरूले ट्रम्पले भेनेजुएलामा गर्न सक्ने युद्ध असाध्यै अलोकप्रिय हुने देखाएका छन् । सर्वेक्षणमा सहभागी ५५ प्रतिशत त्यस्तो आक्रमणको विपक्षमा तथा केवल १५ प्रतिशतमात्रै युद्धको पक्षमा रहेको पाइएको छ । ४५ प्रतिशत सहभागी अमेरिकी सैन्य बलको आडमा मदुरोको सत्तापलट गराउनु गलत हुने ठान्छन् । केवल १८ प्रतिशतचाहिँ त्यस्तो कदमको समर्थनमा छन् । तर चिन्ताको विषय के छ भने जनताको विरोधले कहिल्यै अमेरिकालाई अन्य देशमा युद्ध गर्नबाट रोकेको छैन ।

Ben Norton
बेन नर्टन
  • भेनेजुएलामा अमेरिकी आर्थिक नाकाबन्दीको प्रभाव कस्तो परेको देख्नुहुन्छ ?

गैरकानुनी आर्थिक प्रतिबन्ध तथा आर्थिक नाकाबन्दीका कारण भेनेजुएलाले असाध्यै ठुलो कठिनाइ झेल्नु परिरहेको छ । अमेरिकाको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा भेनेजुएलालाई पहुँच दिइएको छैन । तेलको निर्यातमा रोक लगाइएको छ । तेल सम्बन्धी पूर्वाधारमा सुधार गर्न दिइएको छैन । संयुक्त राष्ट्र संघका नाकाबन्दीबारे विज्ञ तथा विशेष प्रतिनिधि अलेना डोहनका अनुसार अमेरिकी आर्थिक प्रतिबन्ध तथा नाकाबन्दीका कारण भेनेजुएलाले तेलबाट उठाउने राजस्वमा ९९ प्रतिशतले कमी बेहोरिरहेको छ ।

यति हुँदाहुँदै पनि भेनेजुएलाको अर्थतन्त्र सन् २०१९–२०२० मा अमेरिकाले तख्तापलटको प्रयास गर्दाताकाको तुलनामा राम्रो छ । त्यतिबेला अति–मुद्रस्फीति (हाइपरइन्फ्लेसन) को अवस्था थियो तर अहिले कम्तीमा त्यस्तो छैन । मुद्रास्फीति दर धेरै घटेको छ । वास्तविक ज्याला बढेको छ । खाद्य तथा अन्य दैनिक जीवनका अत्यावश्यक वस्तु तथा सेवा सुलभ मूल्यमै पाइने अवस्था छ । अर्थतन्त्र धेरै हदसम्म डलरमय बनाइएको छ । यद्यपि यसले भेनेजुएला सरकारको मौद्रिक सार्वभौमिकता कमजोर बनाइरहेको छ ।

पछिल्लो समय अमेरिकाले गरिरहेको विभिन्नखाले हमलाले भेनेजुएलाको सरकारकै पक्षमा समर्थन बढाउनेछ । किनभने त्यस्तो अवस्थामा जनतासामु दुई वटामात्रै विकल्प हुन्छन् । या त मदुरो सरकार, नत्र अमेरिकी कठपुतलीका रूपमा रहने दक्षिणपन्थी नेता मारिया कोरिना माकाडोको नेतृत्वमा हुने तख्तापलट । अमेरिकाले माकाडोलाई प्रस्ट रूपमा सत्तामा पुर्‍याउन चाहेको देखिन्छ । उनी सत्तामा आउनासाथ भेनेजुएलाको ठुलो तेल भण्डार निजीकरण गर्न चाहन्छिन् । साथै देशको सम्पत्ति अमेरिकी निगमहरूलाई बेच्न चाहन्छिन् ।

सिरिया र भेनेजुएलाबिचको प्रस्ट समानताचाहिँ पश्चिमाले यी दुवै राष्ट्रविरुद्ध चलाएको आर्थिक युद्ध नै हो । सिरियाको सरकार बिस्तारै पतन हुँदै जानुमा ‘सीजर’ प्रतिबन्ध भनिएको अमेरिकी तथा युरोपेली नाकाबन्दी नै प्रमुख थियो । सिरियाले वास्तविक मुद्रामा समेत पहुँच गुमाउनु परेको थियो, जसले गर्दा महँगी अचाक्ली बढेको थियो । सिरियाली सेनाले आफ्ना अधिकृत तथा जवानहरूलाई तलब दिनसमेत नसक्ने अवस्था भएको थियो । फलतः उनीहरू लड्ने चाहना नै गर्न छोडेका थिए । खाद्य सामग्री र तेलको पनि अभाव भएको थियो । सिरियालाई आफ्नै तेलमा पनि पहुँच दिइएको थिएन । अरू त अरू, उनीहरूलाई आफ्नै मुलुकको गहुँ खेतीमा पनि पहुँच दिइएको थिएन । ती सबैमा अमेरिकी सेनाको कब्जा थियो ।

सन् २०११ देखि सिरियामा चलेको पश्चिमा प्रायोजित युद्धका केही खास विशेषता पनि थिए । दशकौँको युद्धले सिरियाली राज्य उल्लेख्यस्तरमा कमजोर भइसकेको थियो । सिरियामा धेरै देशले आक्रमण गरेका थिए । अमेरिका, टर्की तथा इजरायलको आक्रमणका कारण आफ्नै मुलुकको ठुलो हिस्सा सिरियाको केन्द्रीय सरकारको नियन्त्रणमा थिएन । विभिन्न अतिवादी समूह तथा अमेरिका, टर्की, इजरायल, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) तथा कतारजस्ता मुलुकले हतियार एवं आर्थिक सहयोग गरेका लडाकु समूहको नियन्त्रणमा थियो ।

Ben-Norton-journalist

भेनेजुएलाको अवस्था त्यस्तो होइन । अमेरिका समर्थित उग्र दक्षिणपन्थी अतिवादीहरूले सन् २०१४ र २०१७ मा तख्तापलटको प्रयास गरेका थिए, तर यस्ता प्रयास सिरियामा चलेको स्तरको हिंसा थिएनन् ।

  • मदुरोको पहिलो र दोस्रो दुवै कार्यकालमा अर्थतन्त्रको अवस्था राम्रो थिएन, तर अहिले कसरी राम्रो हुँदै गयो त ?

सन् २०१५ मा अमेरिकाको नाकाबन्दी सुरु भयो । ओबामाले भेनेजुएलालाई अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ हुन सक्ने घोषणा गरे । सन् २०१४ र २०१६ बिचको अवधिमा वैश्विक रूपमा तेलको मूल्य ज्यादै न्यून भएको थियो । यी दुवै कारण त्यहाँको अर्थतन्त्रमा ठुलो समस्या देखियो । सन् २०१७ मा ट्रम्पको पालामा गैरकानुनी आर्थिक प्रतिबन्धमा व्यापक वृद्धि भयो । सन् २०१९ मा त ट्रम्पले भेनेजुएलामा आर्थिक नाकाबन्दी नै लगाइदिए । यस्तो नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गत ६० वर्षदेखि क्युवामा लगाइएकै छ । यो पनि त्यस्तै थियो ।

त्यसपछि भेनेजुएलाले तेल निर्यात गर्न नसक्ने भयो, जुन तेल उसको सरकारी राजस्वको मुख्य स्रोत थियो । प्रतिबन्धकै कारण डलर तथा अन्य मुद्राको अभाव हुन थाल्यो । फलतः केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा ‘बोलिभार’ को स्थायित्व कायम राख्न असहज हुँदै गयो । अझ, अमेरिकामा रहेका मौद्रिक सट्टेबाजहरू फ्लोरिडामा रहेका ‘डलरटुडे’ जस्ता कालोबजारी गिरोहको सहायतामा ठुला मौद्रिक आक्रमण पनि गरिरहेका थिए । भेनेजुएलाको केन्द्रीय बैंकले यस्ता सट्टेबाजी आक्रमणकै बिचमा पनि स्थिर विनिमय दर कायम राख्ने प्रयत्न जारी राख्यो । आफ्नो मुद्रा ‘बोलिभार’ जोगाउने प्रयास गरिरह्यो । यस्तै विभिन्न परिस्थितिले गर्दा भेनेजुएलामा अति–मुद्रास्फीतिको अवस्था सिर्जना भयो ।

भेनेजुएलाले गत शताब्दीदेखि नै उपयोग गर्दै आएका तेल उद्योगका पूर्वाधार तथा प्रविधिहरू धेरैजसो पश्चिमा कम्पनीले तयार पारेका थिए । ह्युगो चावेजले तेल उद्योग राष्ट्रियकरण गरे, तर उत्पादनमा त्यहाँ हुने प्रविधिमा अमेरिकी तथा युरोपेली निगमको नाममा रहेको बौद्धिक सम्पत्तिको अधिकारमा रहेको निर्भरता भने कायमै थियो ।

यसरी आर्थिक प्रतिबन्धले भेनेजुएलालाई तेल उद्योगका औजारहरू मर्मत गर्न वा नयाँ खरिद गर्न रोक्यो, जसका कारण तेल पूर्वाधारको मर्मतसंहार तथा आधुनिकीकरण रोकियो । फलस्वरूप त्यहाँको तेल उत्पादनमा ठुलो गिरावट देखा पर्‍यो । सन् २०१९ मा अमेरिकी सरकारले भेनेजुएलाको तेल उत्पादन ऐतिहासिक रूपमा न्यूनस्तरमा झरेको रिपोर्ट गरेको थियो । उनीहरूले यस्तो गिरावटको प्रत्यक्ष कारण अमेरिकी प्रतिबन्ध भएको पनि स्विकारेका थिए ।

पछिल्ला वर्ष भेनेजुएलाको अवस्था सुधार हुँदै गएको छ । यस अवधिमा तेल उत्पादनमा प्रयोग हुने विविध यन्त्रहरू इरान, रुस, तथा चीनबाट ल्याउन थालेको छ । तीनै मुलुकका प्राविधिकहरूले तेल पूर्वाधारमा सुधार तथा मर्मतमा पनि सघाउन थालेका छन् । यसको अर्थ भेनेजुएलाले कच्चा तेल निर्यात बढाउन थाल्यो । यस्तो निर्यात खासगरी चीनमा हुन थाल्यो । अझै पनि भेनेजुएलाको तेल उत्पादन सन् २०१५मा अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध सुरु हुनु अघिकै तुलनाभन्दा न्यून छ, तर यसमा सुस्त गतिमा भए पनि वृद्धि हुँदै गएको छ । अहिले हरेक दिन १० लाख ब्यारेल उत्पादन हुन थालेको छ, जुन ट्रम्पको पहिलो कार्यकालमा भएको तख्तापलट प्रयासपछिको सबैभन्दा बढी हो ।

यसको अर्थ भेनेजुएलाले मुद्रा आर्जन गरिरहेको छ, जसलाई उसले आफ्नो देशको मुद्राको स्थायित्व कायम गर्न तथा मुद्रास्फीति घटाउन प्रयोग गर्न सक्छ । केही वर्ष यता आर्थिक अवस्थामा उल्लेख्य सुधार भएको छ । खासमा भन्ने हो भने अमेरिकाले आर्थिक प्रतिबन्ध लगाएको भेनेजुएलाको तुलनामा अमेरिका समर्थित राष्ट्रपति रहेको अर्जेन्टिनामा महँगी धेरै हुने अवस्था सिर्जना हुन पुग्यो ।

  • अन्य कुनै ल्याटिन अमेरिकी मुलुकले भेनेजुएलालाई सघाउँदैछन् ?

क्युवा र निकारागुवाले भेनेजुएलालाई सघाए, तर तिनीहरू साना मुलुक हुन् । स्रोतसाधन पनि सीमित छ । साथै दुवै मुलुकले अमेरिकी प्रतिबन्ध पनि झेलिरहेका छन् । उनीहरूले मूलतः राजनीतिक र कूटनीतिक सहायता उपलब्ध गराए ।

ल्याटिन अमेरिकामा रहेका दक्षिणपन्थी सरकारहरू खुलेरै अमेरिकाको पक्षमा देखिए । उनीहरू भेनेजुएलाको विरोधीका रूपमा प्रस्तुत भए । धेरै वामपन्थी सरकार आफ्नो विदेश नीतिमा तुलनात्मक रूपमा स्वतन्त्र थिए, तर उनीहरू पनि भेनेजुएलाको धेरै निकट देखिन डराए । अमेरिकाले उनीहरूलाई दोस्रो तहको प्रतिबन्ध साथै आन्तरिक रूपमा दक्षिणपन्थी आन्दोलन गराउन धम्की दिने गरेको थियो ।

USA

यस क्षेत्रमा भेनेजुएलाको छिमेकी कोलम्बिया अमेरिकाको सबैभन्दा निकट साझेदार बन्यो । यसको सरकारमा पनि धनाढ्य दक्षिणपन्थी सम्भ्रान्तहरूको दबदबा थियो । अहिले भने पहिलो पटक कोलम्बियामा राष्ट्रपति गुस्तावो पेट्रोले अगुवाइ गरेको वामपन्थी सरकार आएको छ । पेट्रोले सार्वजनिक रूपमै अमेरिकाको आलोचना गरेका छन् ।

भेनेजुएलामा अमेरिकी आक्रमणको विषयमा मुखर भएर विरोध जनाएको छ । त्यसको प्रतिक्रियास्वरुप ट्रम्पले पेट्रो र उनको परिवारलाई आर्थिक प्रतिबन्धको घोषणा गरेका छन् । यसो गर्नु कोलम्बियाको सार्वभौमिकता माथिको ठाडो उल्लङ्घन हो । तथापि यो सबै भइरहेको छ । साथै देशको आन्तरिक मामलामा अमेरिकी हस्तक्षेपको प्रस्ट उदाहरण पनि हो ।

यस क्षेत्रका अन्य नेता पनि अमेरिकी धम्कीका कारण युद्धको विरोधमा बोल्न वा अमेरिकी कदमलाई चुनौती दिन सकिरहेका छैनन् । अमेरिकाको विरोधमा मुखर देखिएका पेट्रोसमेत भेनेजुएलासँग ज्यादै निकट हुन डराइरहेका छन् । भेनेजुएलासँग निकट हुन खोज्दा उनलाई देशभित्र दक्षिणपन्थी सञ्चार माध्यमहरूले हमला बढाउँदै जान थालेका छन् । सन् २०२६ मा निर्वाचन आउँदैछ । साथै उनी उक्त निर्वाचनमा आफ्नो वामपन्थी गठबन्धनले हार्नु नपरोस् भन्ने चाहन्छन् ।

अहिले अमेरिका समर्थित दक्षिणपन्थी शक्तिहरू धेरै ल्याटिन अमेरिकी क्षेत्रमा प्रभाव बढाउँदैछन् । भेनेजुएलाविरुद्धको युद्ध अमेरिकाले वामपन्थी तथा साम्राज्यवाद विरोधी प्रतिरोधलाई कमजोर पार्न, अमेरिकी कर्पोरेट हितको सेवा गर्न दक्षिणपन्थी सम्भ्रान्तहरूको समूहलाई बलियो बनाउन तथा यस क्षेत्रमा अमेरिकी प्रभुत्व लागु गर्न लिएको ठुलो रणनीतिको एउटा अंश हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप