बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

साहित्यकार शब्दका जादुगर हुन् : मोमिला

शनिबार, ०६ मङ्सिर २०८२, १६ : ००
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • मोमिला, एक कवि, लामो समयदेखि प्राध्यापनमा छिन् र विभिन्न कृतिहरू प्रकाशित गरेकी छिन्।
  • उनले साहित्यमा प्रवेश गरेको र लेख्न थालेको अनुभव सुनाइन्, साथै चित्रकला पढ्न नसकेको कुरा व्यक्त गरिन्।
  • उनले महिला लेखकहरूले साहित्यमा सामना गर्नुपर्ने चुनौती र आफूलाई प्रभाव पार्ने पुस्तकहरूको बारेमा कुरा गरिन्।

धनकुटामा जन्मिएकी मोमिला मूलतः कवि हुन् । निबन्ध र समालोचनामा समेत कलम चलाइरहने उनी लामो समयदेखि प्राध्यापन पेसामा संलग्न छिन् । ‘पैयुँ फुल्न थालेपछि’ (कविता सङ्ग्रह– २०५२) को साथमा पाठकमाझ उदाएकी मोमिलाको ‘जुनकिरीहरू ओर्लिरहेछन्’ (कविता सङ्ग्रह– २०५५), ‘दुर्गम उचाइमा फुलेको आँधी’ (कविता सङ्ग्रह– २०६०) र ‘भीमसेन थापाको सुसाइड नोट’ (कविता सङ्ग्रह– २०७०) आदि प्रकाशित छन् । उनको ‘ईश्वरको अदालतमा आइटसाइडरको बयान’ (२०६३) र ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ (२०८०) गरी दुई निबन्ध कृति प्रकाशित छन् । केही कृतिको सह–लेखन समेत गरेकी मोमिलाले आधा दर्जनजति पुस्तक सम्पादन गरेकी छन् । निबन्धलाई चटनीजस्तो स्वादिलो विधा मान्ने उनै मोमिलासँग रातोपाटीकी रमा सुवेदीले ‘किताबका कुरा’का लागि गरेको कुराकानी-

 

  • तपाईं साहित्यको दुनियाँमा कसरी आकर्षित हुनुभयो ? 

प्रकृतिले दिएको कुराबाट माथि उठेर जीवनलाई बाँच्ने, जीवनलाई हेर्ने, जीवनलाई बुझ्ने इच्छा जब जागृत हुन्छ त्यतिबेला किताब वा साहित्यकलाप्रति आकर्षित नभईकन सुखै छैन । यसअर्थमा यस्तै विशेष भोकले नै म सानैदेखि किताबप्रति आकर्षित भएकी हुँ । सानैदेखि मभित्र ‘जरा हट्के’ को सोचले जरा गाडेको महसुस हुन्छ । कक्षा कोठामा पढ्दा होस् वा नृत्य, गायन, हाजिरी जवाफ खेलकुद, चित्रकला सबैमा मेरो झुकाव अलिक बढी थियो ।

यी सबैमा प्रायः अब्बल दर्जा मिल्ने गर्थ्यो । मेरो बुवा निकै प्रतिभाशाली हुनुहुन्थ्यो । मेरो बुवाको प्रभाव एकातिर छ । अर्कोतिर जीवनलाई विशिष्ट रूपमा बाँच्ने चाहना या भित्रैबाट आस्तित्विक भोक जागृत हुनु नै हो कि ? जन्मजात लत पनि हुन सक्छ । म किताबप्रति, कला साहित्यप्रति आकर्षित भएँ । मलाई त साहित्य मात्रै होइन कलाका सबै हाँगाबिगा मन पर्छ । मलाई सबैभन्दा मन पर्ने चाहिँ चित्रकला हो । चित्रकलामा सिद्धहस्तता हासिल गर्ने इच्छा थियो, तर...   

  • त्यसमा केले रोक्यो त ?

धनकुटा जस्तो ठाउँमा चित्रकला पढ्न कहाँ पाउनु ? पढ्नलाई काठमाडौँ आउनुपर्थ्यो । छोरीलाई त्यति सजिलै काठमाडौँ कहाँ पठाउनु नि ! त्यो सम्भवै थिएन । घरबाट पढ्न पाउने सम्भावना नदेखेपछि मलाई काठमाडौँमा चित्रकला पढ्ने व्यवस्था गर्दिनुपर्‍यो भनेर राजारानीलाई बिन्ती पनि बिसाएकी थिएँ मैले त । 

त्यतिबेला राजारानीको पोट्रेट बनाएर हस्ताक्षरका लागि पनि दिएँ । राजाले ‘आफैले पो पढ्नुपर्छ’ भनी उत्तर दिए । आफ्नै अगाडि पहिलो पटक भविष्यको सुन्दर सपना झर्‍याम्म फुटेर असरल्ल भएको म कहिल्यै बिर्सन सक्तिनँ । त्यसैले त्यो अवसर पनि मिलेन । 

  • तपाईंले पहिलो पटक कहिले लेख्नुभयो त ? 

मैले ९ वर्षको उमेरदेखि लेख्न थालेको थाहा छ । त्यतिबेला जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम हुने अवसर प्राप्त भएको थियो । भित्रैबाट मन छोएर लेखिएको कविता थियो, त्यो । त्यसको पृष्ठभूमि भने काठमाडौँ नै थियो । त्यतिखेर मेरी ठुल्दिदी स्काउटमा काम गर्नुहुन्थ्यो । 

kk (6)

म दिदीसँग काठमाडौँमा डुल्न आएकी थिएँ । माघको बेला थियो । दिदीले रमिता हेरेर बस भन्दै सान्दाइ र मलाई रानीपोखरीमा खानेकुरासहित छाडेर जानुहुन्थ्यो । त्यहीँ बसिरहँदा जीवनमा पहिलो पटक भिखारीहरू देखेँ । भिडमा उमेर गइसकेका, सेतै कपाल फुलेका भिखारी पनि थिए  । त्यो देखेर मेरो मन चसक्क भयो । अनि ‘एक दुःखी’ शीर्षकको कविता लेखेँ । 

त्यही कविता धनकुटामा वाचन गरेकी थिएँ । त्यही कविता प्रथम भयो । आत्मविश्वासी बनाउनमा मेरी ठुली दिदीको विशेष हात रहेको म भुल्न सक्तिनँ ।

  • तपाईंलाई लेख्न केले प्रेरित गर्छ ? 

हाम्रै जीवनको वरिपरि, जगतमा छरिएर रहेका धेरै विषयवस्तु छन्, जसले मलाई लेख्न झङ्कृत पारिरहन्छ । अर्कातिर आफ्नै सन्दर्भमा आफैभित्र छोइएका कति–कति सूक्ष्म संवेदनहरू छन् । त्यसैले लेख्नका लागि घचघच्याइरहन्छ । यद्यपि कति तदारुकताका साथ लेख्ने भन्ने कुराचाहिँ अवश्य नै आवश्यकता र अन्य परिस्थितिले फरक पार्छ ।

  • तपाईं शिक्षिका पनि हो । विद्यार्थीहरूलाई पढाउँदै गर्दा तपाईंभित्रको साहित्यकार हाबी हुन्छ कि हुँदैन ? 

साहित्यकारको छनक त अवश्य आउँछ । तर शिक्षिका हाबी हुनुपर्छ र हुन्छ पनि । म सधैँ त्यही कोसिस गरिरहेकी हुन्छु । पढाउँदा सिद्धान्त भन्दा बढी व्यावहारिक र साहित्यिक सारवाक्य प्रयोग गरेर पढाउँछु । उदाहरणका लागि सामान्य मनोविज्ञानमा आधारित कथा पढाउनुपर्‍यो भने– ‘मान्छेको मन त एउटा शान्त तलाउ न हो; जहाँ हल्का पतिङ्गरको स्पर्शले पनि अनगिन्ती तरङ्गहरू छुट्न सक्छन् ।’ जस्ता अभिव्यक्तिका साथ बुझाउने कोसिस गर्छु । 

हुन पनि हेर्दा मान्छे शान्त देखिन्छ, तर ऊभित्र यसै हलचल मच्चिरहेको हुन्छ भने कुनै घटनारूपी विशेष ढुङ्गा प्रहारले त झन् अनेक तरङ्गहरू तरङ्गित हुन्छन् नै । म यही तरङ्गलाई पकडेर विद्यार्थीलाई मनोवैज्ञानिक संरचनाका रचना पढाउँछु । यसो गर्दा साहित्यकार अलिअलि हाबी हुने त भइहाल्यो । यसले अध्यापनलाई सुरुचिपूर्ण बनाउँछ । किनकि साहित्य नै भाषाको विशिष्ट रूप हो । फेरि नम्बर पनि त ल्याउनुपर्‍यो । अनि शिक्षिका हाबी हुन्छ । त्यसैले दुइटै व्यक्तित्व मिसियो भने अध्यापन आनन्दपूर्ण र ज्ञानवर्धक हुन्छ ।

  • कुनै पनि मानिसको जीवनमा किताबको के महत्त्व छ ?

एकातिर साहित्यकार शब्दका जादुगर हुन् भने शिक्षक शब्दका उपासक हुन् । शब्दका जादुगर र उपासक दुवैका लागि शब्दमा लिपिबद्ध ज्ञानको भण्डार मान्न सकिने पुस्तक शब्दको प्रामाणिक विशिष्ट मूर्तरूप हुन् । प्रकृतिरूपी विश्वविद्यालयमा प्रकृतिको विशिष्ट सिर्जना प्रत्येक मानिसको जीवन स्वयम्मा सुन्दर पुस्तकालय हो । र, जीवनका केही विशिष्ट पहेलीहरू विशिष्ट पुस्तक हुन सक्छन् । यसर्थ मानव सभ्यताका लागि विशिष्ट अस्तित्वको पहिचान नै पुस्तक भएकाले विशिष्ट अस्तित्व कायम राख्नकै लागि शिक्षक र साहित्यकारका लागि किताब चाहिन्छ । 

हो, मान्छे प्रकृतिको सानिध्यमा बस्न मन पराउँछ, तर पुस्तकसँगको सानिध्यले भने मान्छेलाई आफूले नभोगेको, नदेखेको, नसुनेको, नसोचेको कुरा पनि सिकाउँछ । सबै कुरा आफै भोगेर त कहाँ साध्य हुन्छ र ? यसै त बहावशील जिन्दगीमा वर्तमानको ‘व’ पनि भन्न नपाउँदै जीवनको वर्तमान समय भागिसक्छ । यसैले बाँच्दै गरेको जीवनको अधिकतम उपयोग गर्ने हो भने यसै बगिजाने जीवनको खाली समयलाई भरिलो या अर्थपूर्ण बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका कसैले खेल्न सक्छ भने त्यो किताब नै हो । 

  • लेखक हुनु र साहित्यकार हुनुबिचको फरक के रहेछ ? 

आकाश जमिनको फरक छ नि । मैले यसो भनिरहँदा तपाईंलाई अनौठो लाग्ला । मनमा जे आउँछ त्यो लेख्नु लेखक हो । तर त्यसलाई साहित्यको मर्म र धर्मसहित लेख्नु साहित्यकारको कर्म हो । हामीले मनमा लागेको कुरा त लेखिरहेका हुन्छौँ । तर यो कुरा सबैले सुन्छन् नै भन्ने छैन । तर लेख्दा आफू रित्तिइन्छ र बेग्लै आनन्द प्राप्त हुन्छ, हलुको भइन्छ । मोक्ष प्राप्त हुन्छ । 

तर साहित्यकार बनेपछि सामाजिक अनुमोदन प्राप्त गर्न सजिलो हुन्छ । सामाजिक अनुमोदनपछि मात्रै लेखकको विशिष्ट अस्तित्व स्थापित हुन्छ । लेखक बन्नु भनेको आफ्नै लागि वा स्वान्तसुखायका लागि लेख्नु हो भने साहित्यकार हुनु भनेको लेखकीय उचाइ हासिल गरी सामाजिक अनुमोदनसमेत प्राप्त गर्न योग्य बन्नु हो । 

  • साहित्यको धर्मको कुरा गर्नुभयो ? साहित्यको धर्म के हो ? 

हामीले लेखेको, भनेको कुराहरूले कुनै न कुनै प्रकारले समाजलाई मार्गदर्शन गरोस् भन्ने हो । जबरजस्ती लाद्ने होइन । भित्रैबाट अनुभूत गराएर ऊर्जासहित मार्गदर्शन गराउनु चाहिँ साँच्चिकै साहित्य हो । यही स्थितिको परिकल्पनासहितको लेखन साहित्यको धर्म हो ।

  • नेपाली साहित्यको पछिल्लो धाराले समाजलाई मार्गदर्शन गर्न सकेको छ त ? 

कहिलेकाहीँ कस्तो हुन्छ भने कसैले कसैलाई मनैदेखि प्रेम गर्‍यो, तर त्यो प्रेम सम्बन्धित मान्छेले ग्रहण नै गरिदिएन । यस्तोमा त्यो प्रेमको अर्थ हुँदैन । मानौँ कुनै शिक्षक आफ्ना विद्यार्थीलाई एकदम गहिरिएर पढाउँछन् । तर त्यो गहिराइसम्म डुब्ने क्षमता विद्यार्थीसँग छैन भने के गर्ने ? यस्तै लेखकीय गहिराइमा डुब्न पाठकमा पनि सोही बराबरको गहिराइमा डुब्ने क्षमता हुनुपर्छ । त्यसैले मार्गदर्शन गरेको र नगरेको भन्ने कुरा फरक हो । 

प्रत्येक साहित्यकारको टार्गेट ग्रुप फरक–फरक हुन्छ । सबैले एउटै खालको पाठकका लागि लेख्दैनन् । हरेकले लेखेको सबैका लागि पनि हुँदैन । अर्को कुरा साहित्य भनेको सोझो बुझिने कुरा पनि होइन । यसलाई बुझ्न त गहिरिनुपर्छ । मार्गदर्शन गर्नका लागि सही मान्छेको हातमा सही मान्छेले लेखेको सही कुरा पुगेर त्यो क्रियात्मक शक्तिमा अनुवाद हुनुपर्‍यो अनि मात्रै त्यसले अर्थ दिन्छ । यसर्थमा हामी चुकिराखेकै छौँ तर को, कहाँ, कसरी चुकिराखेका छौँ भन्ने कुराको निर्क्योल गर्न त गहिरो अध्ययन नै हुनुपर्ने देखिन्छ ।   

  • श्रीलङ्का, इरान वा बङ्गलादेशलगायत देशका साहित्य विश्वभर चर्चित भइरहँदा नेपाली साहित्यले विश्व बजारमा आफ्नो पहुँच किन राख्न सकेन होला ? 

तपाईंले जस–जसको नाम लिनु भयो ती देशहरू युद्ध साहित्यमा माथि छन् । इरानकै कुरा गरौं । त्यहाँका मान्छे युद्ध लडन जाँदा पनि झोलामा कविताको किताब बोकेर जान्छन् रे । तपाईंले यो कुरा सुन्नुभएको होला । मैले एक जना इरानी कविको एउटा सुन्दर कविताको भाव भन्न चाहेँ । त्यहाँ लेखेको थियो–

योद्धाहरूले प्रेमको हावा कतातिरबाट बहन्छ

घृणाको हावा कतातिरबाट बतासिन्छ 

युद्ध मैदानबाटै थाहा पाउँछन् । 

भनी लेखिएको थियो । उनीहरूमा कविता ग्रहण गर्ने क्षमता नै त्यस्तो गहिरो छ । 

नेपालीले पनि युद्धको घाउ नदेखेको, नभोगेको होइन । हामीकहाँ गृहयुद्ध भयो । साना ठुला सबैले देखेका छन् । भोगेका छन् । कतिपयले त जिउमा गोलीका छर्रा बोकेर हिँडिरहेका छन् । तर हाम्रा पुर्खाले बाहेक पछि नेपालले तपाईंले भन्नु भएको देशले जस्तो युद्ध भोग्नु परेन । यसैले नेपालीहरू पुलपुलिएका पनि हौँ कि ? कहिले पनि कसैको दास नभएको देश भनेर हामी गर्वका साथ भन्छौँ । 

यद्यपि हामी छाडा स्वतन्त्रतामा रमाएका छौँ । अधिकार खोज्छौँ, तर कर्तव्य निर्वाह गर्दैनौंँ । पराईले दिएको पीडालाई बढी पीडा सम्झ्यौँ । तर आफ्नै घरभित्रको पीडाहरूलाई पीडा नै सम्झेनौँ । यसर्थ युद्धसम्बद्ध साह्रित्य नलेखिएको चाहिँ होइन या लेखिए पनि उत्कृष्ट लेखन हुन सकेन या उत्कृष्ट अनुवाद हुन सकेन । सम्भवतः सरकारी स्तरबाट विशेष महत्त्व दिनुपर्ने सफ्ट पावररूपी यो क्षेत्रलाई केवल सोकेसमा सजाइने वस्तु ठानियो । 

  • नेपाल आन्दोलनै आन्दोलनबाट अघि बढिरहेको हुन्छ तर साहित्यमा त्यसको सुगन्ध कतै पाइँदैन किन ?

कुनै पनि कुराको प्रभाव सबैलाई उही रूपमा पर्छ भन्ने छैन । फेरि प्रभावका परिणाम सबैले लेख्छन् नै भन्ने पनि त छैन । र, यसमा लेख्दै नलेखिएको चाहिँ होइन । यसमा महत्त्वपूर्ण कुरा यो पनि छ कि हरेक आन्दोलनले ल्याएको परिवर्तन आफैमा दूरगामी महत्ताहीन भएकाले पनि यस्तो हुन सक्छ । 

तपाईँ आफै भन्नुहोस् न नेपालमा प्रजातन्त्र नै तीन चोटि आइसक्यो । उपलब्धिहीन त्यस्तो प्रजातन्त्रका लागि गरिएको आन्दोलनले पुरानै कुराको पुनरावृत्ति गरेकाले आदत बसिसकेको कुराले लेखनमा कुनै उत्तेजक दिन नसकेको होला । त्यस्तो पुरानै कुरालाई दोहोर्‍याई– दोहोर्‍याई लेख्नुको पनि के अर्थ छ र ?

  • आफूलाई प्रभाव पारेका कुनै पाँच विदेशी वा नेपाली पुस्तक सम्झिनुपर्‍यो भने कुन–कुन पुस्तक सम्झिनु हुन्छ ?

यस्ता किताबको नाम त धेरै छन् । तथापि फेडेरिक नित्सेको ‘दस स्पेक जराथुस्त्र’ । यो दर्शनको किताब हो । मलाई पुस्तक पढ्दा र पढिसकेपछि पनि त्यसैमा हराइरहन पाउँदा बढी आनन्द लाग्छ । सायद, त्यसैले होला दर्शन मेरो प्रिय विषय हो । यो अस्तित्वप्रेमीहरूका लागि आकर्षक र सुन्दर शैलीमा रचिएको मानवजीवनको उत्कृष्ट कर्मवादी दर्शनको पुस्तक हो ।

अर्को खलिल जिब्रानको ‘द प्रोफेट’ हो । मलाई मनपर्ने विधा ललित निबन्धको किताब हो यो । यसमा धर्म, पाप, प्रेम, विवाह, खुसी, मृत्यु, मित्रता, सौन्दर्य, उज्यालो, अँध्यारो जस्ता जीवनका अत्यन्त सूक्ष्म संवेदनहरूको सुरुचिपूर्ण सार्वभौम विन्यास भेटिन्छ । हुन त एक प्रकारले यो पुस्तक पश्चिमा शास्त्रीय अभिव्यक्ति नै हो र पनि यो पढ्दा मानवीय पात्रताको बोधले अपनत्वको महसुस गराउँछ ।

तेस्रो महर्षि वेदव्यासको श्रीमद् भगवद् गीता हो । गीताशास्त्र वास्तवमै मानव जीवन जिउनका लागि गुनिलो अत्यावश्यक विशिष्ट शास्त्र हो । जति पढे पनि अझै पढ्न र बुझ्न वाँकी ज्ञानको महासागर जस्तो छ यो । खासमा श्रीमद् भगवद् गीतालाई पूर्वीय जीवनदर्शनको आदर्श अर्थात् आध्यात्मिक ज्ञानको व्यावहारिक अभिव्यक्ति भन्दा हुन्छ । यो पुस्तक पढेपछि म अस्तित्ववाद पश्चिमको नभएर पूर्वकै देन हो भन्ने निष्कर्षमा पुगेकी छु ।

लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मलाई उत्तिकै मन पर्छ । अत्यन्त उत्कृष्ट अभिव्यक्ति शैली र गहन चिन्तन शैलीमा संरचित विश्वस्तरको नेपाली ललित निबन्धकृति हो यो । हृदयविलास र बुद्धिविलास दुवैका लागि उत्तिकै उपयुक्त छ । म यसलाई संरचना र सार दुवै दृष्टिले उत्कृष्ट कृति भन्छु ।

ममाथि प्रभाव पारेको अर्को किताब मदनमणि दिक्षितको ‘माधवी’ पनि हो । आफ्नै किसिमको प्रेमशास्त्रमा आधारित उपन्यास हो यो । पूर्वीय वैदिक सभ्यताको अत्यन्त सुन्दर विन्यास भएको कृति पनि हो । तर्कपूर्ण विचार र सुललित एवं सुन्दर शैलीको संयोजन भएकाले यसलाई नेपाली साहित्यकै विशिष्ट गरिमा भन्न सकिन्छ ।

  • तपाईंले अध्ययनका लागि कति समय दिनुहुन्छ ?

मलाई दुःख लाग्ने कुरा नै यही हो । मैले चाहेजस्तो गरी अध्ययनका लागि समय दिन पाएकै छैन । पढ्न बाध्य भएको बेलामा त कसैगरी समय मिलाएर पढ्छु । जस्तो कुनै कार्यक्रममा कसैको कृतिमाथि बोल्नुपर्ने छ भने जसरी नि पढ्नै पर्‍यो । नत्र भने खासै पढ्न पाउँदिन । संस्थागत कामलगायत जीवन बाँच्ने बहानामै बित्छ समय । जे होस् म पूर्ण रूपमा आत्मनिर्भर भने छु । सानैदेखि सङ्घर्ष गरेको भएर होला मलाई परनिर्भर हुन रत्तिभर मनै पर्दैन । शिक्षिका हुँ । यही विशिष्ट कर्मकै कारणले गर्दा चाहेजस्तो गरी अध्ययन गर्न सकेकी छैन । 

  • महिला भएकै कारण साहित्यिक वृत्तमा तपाईंले बेहोर्नु परेका अप्ठ्याराहरूका केही अनुभव छन् ?

सार्वजनिक लोकाचारका लागि पनि यहाँ कसैको नाम नतोकौँ तर प्रवृत्तिबारे कुरा गरौँ । कुनै बेला वक्तृत्वकलामा म प्रथम भएकी थिएँ रे भनेर खबर आयो । तर मलाई उद्घोषकको कागज हेरेको भन्ने झुटो आरोप लगाएर एउटा पुरुषलाई प्रथम बनाइयो रे । अचम्म होइन त ! महिला भएकाले ममाथि गरिएको अविश्वास थियो त्यो । 

अर्को घटना, मेरो पहिलो निबन्धकृति ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ प्रकाशित भएपछि पाठकबाट धेरै खाले प्रतिक्रिया आए । यसैमा एक जना ठुलै व्यक्तिले कृति पढिसकेपछि मलाई मेल लेखे । ‘लेखाइ असाध्यै सुन्दर छ । तपाईं लेख्न नछोड्नुस् । यति सुन्दर लाग्यो कि भनि साध्य छैन ।’ भन्ने भावमा मेल गरेका थिए । 

कृतिको यसरी प्रशंसा गरेका तिनै व्यक्तिले तेस्रो व्यक्तिसँग ‘बाख्रीहरूले पनि यस्तो लेख्न सक्छन् र ?’ भनेको कुरा मेरो कानसम्म आई पुग्यो । महिलाको लेखनमा कति धेरै अविश्वास छ यहाँ ? अनि शब्दको प्रयोग हेर्नु न– ‘बाख्रीहरू’ ! अब मलाई यस्ता कुराहरूले खासै छुँदैन । दुःखी भएर म यसमै अल्झिन चाहन्नँ । यस्ता प्रहारहरूले मलाई अझ बढी आफ्नो उद्देश्यमा लागिरहन प्रेरित गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप