मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
उद्योग-व्यवसाय

सेजमा जग्गाको भाडा दर घटेपछि उद्योगी उत्साहित

बुधबार, १० मङ्सिर २०८२, १३ : २४
बुधबार, १० मङ्सिर २०८२

बारा । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)मा जग्गाको भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेसँगै सिमरा सेजभित्रका उद्योगीहरु उत्साहित भएका छन् । 

‘सरकारले जग्गाको भाडादर घटायो भनेर हामीलाई विश्वासै लागेको छैन,’ पशुपति सेरामिक्सका प्रोप्राइटर तुलसी रौनियारले भने, ‘यो निर्णय सुनेर धेरै खुसी लागेको छ, अब काम गर्ने वातावरण केही सहज होला ।’

पशुपति सेरामिक्सले सिमरा सेजमा आठवटा प्लट (करिब ९ बिगाहा) जग्गा भाडामा लिएर टायल्स उद्योग सञ्चालन गरेको छ । पशुपति सेरामिक्सले सेजलाई वार्षिक ७२ लाख जग्गा भाडा बुझाउँछ । सरकारले उद्योग सञ्चालनका लागि सम्झौता गरेको तीन वर्षका लागि ५० प्रतिशत छुट दिएको छ । 

सरकारले सेजभित्र उद्योग सञ्चालन गर्ने उद्योगीहरुका लागि विद्युतमा १० प्रतिशत छुट, जग्गाको भाडादर घटाउने, कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट, एकै ठाँउबाट बैंक, बीमा, भन्सार लगायतको सुविधा दिने प्रतिबद्धता जनाएको थियो । जसमा जग्गाको भाडादर घटाउने बाहेक अन्य मुलुकबाट कच्चा पदार्थ आयातमा भन्सार छुट र निर्यातमा भ्याट छुट भने कार्यान्वयनमा छ ।  

पशुपति सेरामिक्सका प्रोप्राइटर रौनियार जग्गाको भाडादर घटेसँगै निर्यातका लागि पनि वातावरण बन्दै जाने बताएका छन् । ‘व्यापारीहरुलाई धेरै खुसी लागेको छ, अब सेजमा उद्योगीहरुको जमघट बढ्छ, हाम्रो तर्फबाट अहिलेको अर्थमन्त्रीलाई धेरै-धेरै धन्यवाद छ,’ प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका रौनियारले भने, ‘अब विद्युतमा सहुलियत दिने र बाहिरको मान्छेको हस्तक्षेप रोकेर केही कुरा सुधार गर्न सकियो भने सेजमा उद्योगहरु फस्टाउँछन् ।’ 

Simara Factory

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले जग्गा भाडादर अब ७५ प्रतिशत छुट भएर २५ प्रतिशत मात्रै तिर्नुपर्नेछ । 

सेजभित्र दुई वर्षदेखि ग्रेनाइड उद्योग सञ्चालन गर्दै आएका लक्ष्मी ग्रेनाइडका सञ्चालक गुड्डु श्रीवास्तवले जग्गाको भाडादर घटाउने सरकारको निर्णयले ठुलो राहत मिलेको बताए । उनले उत्पादन नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका उद्योगहरुलाई सरकारको यो निर्णयले ढाडस मिलेको बताए । 

सिमरा सेजको ५ वटा ब्लकमध्ये ‘ए ब्लक’को पहिलो चरणमा तयार भएका ६८ वटा प्लटहरुमा उद्योगीले संरचना निर्माण गरेका छन् । सिमरा सेजभित्र हालसम्म आधा दर्जन उद्योगले उत्पादन सुरु गरिसकेका छन् भने अन्यले संरचना निर्माण गरिरहेका छन् । 

सिमरा सेजका इन्जिनियर पप्पु गिरीले सरकारले बजेट वक्तव्य मार्फत जग्गाको भाडादर घटाउने तयारी गरेको सूचना पाउनासाथ सेजमा आउने उद्योगीहरुको संख्या ह्रवात्तै बढेको बताए । उनले ए ब्लकको दोस्रो चरणमा प्लट तयार पार्ने काम भइरहेको र बुकिङका लागि धमाधम उद्योगीहरु आइरहेको जानकारी दिए । सिमरा सेजमा अधिकांश लगानी भारतीय र चिनियाँ कम्पनीको छ । 

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा भाडा कटौती गर्नेबारे अग्रिम घोषणा गरेको थियो । जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले भने, ‘अहिले जग्गा किनेर उद्योग सञ्चालन गर्नसक्ने अवस्था नै छैन । सेजभित्र जग्गाको भाडादर ७५ प्रतिशतले घट्नु स्वागतयोग्य कुरा हो यसले सेजमा उद्योगहरुको आकर्षण बढ्छ । सेजभित्र सञ्चालन भएका उद्योगमा स्थानीय र प्रदेश सरकारको हस्तक्षेप हुन नहुने उनको भनाइ छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले सेजभित्र जग्गा बुकिङ गर्ने, तर  संरचना निर्माण नगर्नेहरुबाट जग्गा फिर्ता लिनुपर्ने बताए । ‘अमेरिकाले भारतीय सामान निर्यातमा करको दर उच्च बनाएपछि अहिले भारतबाट धेरै लगानी नेपाल भित्र्याउन सकिने अवसर छ । सरकारले यो अवसरको फाइदा उठाउन सक्नुपर्छ,’ निर्वतमान अध्यक्ष अग्रवालले भने, ‘जग्गा भाडा घटाएर सरकारले राम्रो काम गरेको छ, यसको सराहना गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप