बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बकैया गाउँपालिकाको सेवा अब नयाँ प्रशासनिक भवनबाट

बुधबार, १० मङ्सिर २०८२, १७ : २५
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • मकवानपुरको बकैया गाउँपालिकाले नयाँ सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ।
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित भवनको उद्घाटन गरे।
  • भवन निर्माणको लागत बढेर करिब ७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, र यसले स्थानीय विकासमा जोड दिएको छ।

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले नयाँ सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह थाल्ने भएको छ । बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएसँगै सेवा प्रवाह थालनी गरिएको हो ।

बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको गरेका हुन् । बकैया गाउँपालिका वडा ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चारतले भव्य भवन निर्माण भएको हो । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रस्टको भवनमा रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतलाई आवासीय सुविधा सहितको सो भवन बैठक कक्ष, पार्किङलगायतका सुविधा रहेका छन् । सङ्घीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभाहल २ वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालय लगायतका संरचना रहेका छन् ।

गाउँपालिकासँग भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पुरा नभएपछि म्याद थप गरिएको थियो । गत भदौ ३१ गते निर्माण सम्पन्न हुनु पर्ने उक्त भवन निर्माण का लागि अभिवृद्धि करसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपैयाँमा सम्झौता भएको थियो ।

भवन निर्माणको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धि कर सहित ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभई मन नलागे पार्टी वा उम्मेदवार बदल्ने समेत स्वतन्त्रता दिएको बताए ।

उनले लोकतन्त्र, सङ्घीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास र प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय रहेको टिप्पणी गरे ।

‘गाउँमा विकास पुगेको, बाटो पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन् । तर यस्ता विषयहरू धेरै टिक्दैनन् । समयले त्यसलाई छोडेर जान्छ’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिन्छ । गल्ती गर्नेलाई कानुनअनुसार दण्डित गर्न सकिन्छ र राज्य प्रणालीलाई सुधार्दै लैजान सकिन्छ ।’

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा, लगायतका विकास–निर्माण क्षेत्रमा धेरै लगानी गरेका बताए । बकैया गाउँपालिकामा पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उनले दाबी गरे । 

‘धेरै नागरिकलाई ‘बच्चा पढाउन गाह्रो’, ‘घर चलाउन कठिन’ भन्ने समस्या थियो । त्यो समस्यालाई कम गर्न गाउँपालिकाले नयाँ अवसरहरू सिर्जना गरेको छ । अहिले धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन् । विदेश जाने तयारीमा रहेका युवाहरू अहिले ५–१० वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुनसक्ने देखेर यही काममा लाग्न थालेका छन् । यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारिरहेको छ’ उनले भने ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप