शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरधाममा विवाहपञ्चमी सम्पन्न

बुधबार, १० मङ्सिर २०८२, २१ : ३४
बुधबार, १० मङ्सिर २०८२

जनकपुरधाम । मिथिलाको सांस्कृतिक पहिचान झल्काउने सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको मूल अनुष्ठान रामकलेवाका साथ बुधबार सम्पन्न भएको छ ।

विवाहपञ्चमीको अन्तिम दिन जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ प्रकारका व्यञ्जन तथा मिष्ठान्न खुवाएर बिदाइ गर्ने परम्पराअनुसार रामकलेवा आयोजना गरिएको हो ।

धार्मिक विधिअनुसार साधुसन्तलाई भोजन गराई दान–दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरिँदै महोत्सवको समापन गरिएको छ ।

यसअघि मंगलबार दिउँसो जनकपुरधामको रंगभूमि मैदानमा राम–सीताको स्वयम्बर सम्पन्न भएको थियो। स्वयम्बरपश्चात् रातिसम्म मन्दिर परिसरमा वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बालबालिकालाई प्रतीकात्मक रूपमा राम, लक्ष्मण, भरत र शत्रुधनका रूपमा सिँगारिएको थियो ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासका अनुसार धार्मिक विधिअनुसार सबै प्रक्रिया सम्पन्न गर्दै साधुसन्तलाई सम्मानपूर्वक बिदाइ गरेपछि मात्र महोत्सवको औपचारिक समापन गरिएको हो ।

रामकलेवामा सहभागी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अयोध्यासहित विभिन्न स्थानबाट आएका जन्ती रूपी साधुसन्त तथा महन्तलाई भोजन गराउनु आफ्नो लागि सौभाग्यपूर्ण रहेको बताए। नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले भने, “रामकलेवाको बेला उपस्थित हुन पाउनु मेरो सौभाग्य हो।”

मंसिर ४ गतेदेखि सुरु भएको यस सप्ताहव्यापी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैटौँ दिन विवाहपञ्चमी मुख्य आकर्षण बनेका थिए ।

स्थानीयवासी, साधुसन्त तथा देश–विदेशबाट आएका श्रद्धालुको उल्लेखनीय सहभागितामा मनाइएको यस वर्षको विवाहपञ्चमी महोत्सवले मिथिला संस्कृतिको समृद्ध इतिहास र मौलिक धार्मिक परम्परालाई थप जीवन्त बनाएको छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको दिव्य विवाह भएको स्मरणमा जनकपुरधाममा हरेक वर्ष भव्यताका साथ यो महोत्सव आयोजना गरिँदै आएको छ। धार्मिक तथा ऐतिहासिक स्थल जानकी मन्दिर यस महोत्सवको केन्द्रबिन्दु मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप