आठ वर्षदेखि साँघुरो र दुर्गन्धित कोठामा वीरगञ्जको वडा कार्यालय
सारांश
- वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को कार्यालयमा सेवाग्राहीहरू घण्टौँ लाइनमा बस्न बाध्य छन्, शौचालयको दुर्गन्ध र पार्किङको समस्या पनि छ।
- वडा कार्यालयमा वृद्धवृद्धा, सुत्केरी र अशक्तहरूलाई बस्ने ठाउँको अभाव छ, जसले उनीहरूलाई सास्ती दिइरहेको छ।
- वडाध्यक्षले भवन बनाउन पहल गरेपनि महानगरबाट बजेट नआउँदा काम अघि बढ्न सकेको छैन।
वीरगञ्ज । साँघुरो कोठा, सेवाग्राहीको भिड । घण्टौं उभिएर सेवा लिनुपर्ने बाध्यता । न कर्मचारीलाई न सेवाग्राहीलाई कसैलाई छैन पर्याप्त बस्ने ठाउँ । प्रवेश गर्नासाथ नाकमुख थुन्नुपर्ने गरी शौचालयको दुर्गन्ध । सवारी साधन पार्किङ समस्या पनि उस्तै ।
यो अवस्था हो वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को कार्यालयको । मधेस प्रदेशको एक मात्र महानगरभित्रको एउटा वडा कार्यालयको यो हाल छ । यो मात्रै होइन, वीगञ्ज महानगरका धेरैजसो वडा कार्यालय कमजोर र अस्तव्यस्त देखिन्छन् ।
दैनिक ७० देखि १०० जनासम्म सेवाग्राहीहरु घटनादर्ता, नागरिकता, घरबाटो सिफारिस लगायतका कामले आउँछन् ३२ नम्बर वडा कार्यालयमा । काम विशेषले वडा कार्यालय आएका वृद्धवृद्धा, सुत्केरी, अशक्तहरुलाई समेत बस्ने व्यवस्था नहुँदा ठुलै सास्ती भोग्नुपर्छ ।
‘यहाँ बस्ने ठाँउ छैन । हामीजस्तो बूढाबूढी मान्छे पनि खडा रहनु (उभिनु) पर्छ । खानेपानी, शौचालयको असुविधा छ । आठ वर्षदेखि यो वडा कार्यालय यस्तै देखिरहेको छु,’ घरबाटो सिफारिसका आएका स्थानीय इजारुल हक अन्सारीले भने ।
भाडाको साँघुरो एउटै कोठाबाट वडा कार्यालय सञ्चालन गर्नुपर्दा कर्मचारीहरुलाई पनि समस्या छ । ‘काम गर्न साह्रै अप्ठ्यारो छ । बस्ने ठाँउ छैन, सबै कमर्चारी एकै ठाँउमा सबेर काम गर्नुपर्छ,’ वडा कार्यालयका कर्मचारी मनिफ मियाँले भने, ‘अरु वडामा हेरी यहाँ धेरै असुविधा छ, यस्तो साँघुरो कोठामा कति वर्ष बस्ने हो निश्चित छैन ।’

एउटै कोठामा वडाध्यक्ष, वडा सचिव, प्राविधिक, लेखनदास र सहयोगी गरेर ६ जना कर्मचारी तीनवटा टेबलकुर्ची राखेर काम गर्दै आएका छन् । दुई कार्यकाल स्थानीय चुनावमा निर्वाचित भएका वडाध्यक्ष रियाज अहमदले वडा कार्यालय भवन बनाउन पहल गरेपनि महानगरबाट बजेट विनियोजन नहुँदा अगाडि नबढेको बताए ।
‘वडा भवन बनाउन मैले प्रतिज्ञा ठानिसकेको छु । विकास निर्माण, नाला र ढलान होस् नहोस्, पहिला वडा कार्यालय भवन बनाउँछु,’ वडाध्यक्ष अहमदले भने, ‘महानगरले बजेट दिएन भने वडाको बजेटबाट बनाउँछु ।’
वडाध्यक्ष अहमदले यस्तो प्रतिज्ञा गरेपनि आठ वर्षसम्म उनले कुनै पहल नगरेको देखिन्छ । किनकि उनी नै यस अवधिमा वडाध्यक्ष बनेका हुन् । आफू बाटोघाटोको कामका लागेका वडा कार्यालय भवन बनाउनेतर्फ ध्यान दिन नपाएको उनी तर्क गर्छन् ।
महानगरले ३२ वटा वडा कार्यालयका लागि वार्षिक १ करोडदेखि १ करोड २५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको छ । वीरगञ्ज महानगरपालिकाको प्रशासन शाखा प्रमुख सुनिल कर्णले तत्कालका लागि वडा भवन नहुँदासम्म सुविधासम्पन्न घर भाडामा लिएर पनि वडा कार्यालय चलाउन सकिने बताएका छन् । उनले महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकाले कार्यालय आउनासाथ यो विषयमा कुरा राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण