बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भदौ २४ गते देउवा निवासमा जे देखेँ

शुक्रबार, १२ मङ्सिर २०८२, १७ : २१
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • २३ गतेको घटनापछि कांग्रेस सभापति देउवाको घरमा ठूलो संख्यामा मानिसहरू जम्मा भए।
  • भीड नियन्त्रणबाहिर गएपछि देउवा निवासमा आगजनी भयो र देउवामाथि आक्रमण भयो।
  • नेविसंघले देउवालाई सुरक्षित स्थानमा पुर्याउन सुरक्षाकर्मीसँग समन्वय गर्यो र उद्धार गर्यो।

भदौ २३ को घटनापछि २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर वरिपरि ठुलो सङ्ख्यामा मानिसहरू जम्मा भएको खबर पाएँ । खबरलगत्तै म मोटरसाइकल चढेर नेविसंघका एक जना साथीसमेत लिएर त्यसतर्फ गएको थिएँ । देउवा निवास पुग्दा स्थिति नियन्त्रणबाहिर पुगिसकेको रहेछ । 

देउवाचोकमा हजारौँ मानिसहरू जम्मा भएका थिए । म त्यो भिड छिचोल्दै अगाडि बढेँ । बिहान ९ बजेबाट बढ्दै गएको भीड मध्यान्हसम्म हजारौँ हजार भइसकेको थियो । 

भीड बढ्दै जाँदा सुरक्षाकर्मीले कडाइ गरिरहेका थिए । तर, केही मानिसहरू सुरक्षा घेरा नै तोडेर देउवा निवास भित्र पसिसकेका थिए। त्यसपछि आगजनी । 

भिडबाट केही टाढा गएर मैले नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पालाई फोन गरेर स्थितिको जानकारी गराएँ । उहाँले नेविसंघका साथीहरूसहित आउने जानकारी गराउनुभयो । तर, स्थिति डरलाग्दो भएकाले उहाँलाई तत्काल नआउन सुझाएँ । बरु यही उपलब्ध आफूलगायतका साथीहरूले प्रयास गर्ने बताएँ ।  तर मैले ठुलो सङ्ख्यामा उग्र भिड र अराजक समूह आगजनीमा लागेको तथ्य जानकारी गराइरहेँ । नेविसंघको सभापतिलाई भिडले चिनेर जे पनि गर्न भएकाले मेरै सुझावअनुसार उहाँ  साथीहरूसँगै तारे भीरमा रोकिनुभएको थियो ।

त्यतिबेला नेपाली कांग्रेसका सभापति र पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई सकुशल जोगाउनुपर्ने चुनौती थियो । सोही प्रयासअनुसार देउवानिवासभित्र नेविसंघका केही साथीहरू सँगै थियौँ । हामी जे जति थियौँ त्यो सङ्ख्याले उहाँलाई सुरक्षित राख्न प्रयास गरिरहेका थियौँ । दुजाङ शेर्पा सम्पर्कमा रहिरहनुभयो । मैले भानु देउवालाई पनि सम्पर्क गरेर स्थितिबारे कुरा गरिरहेको थिएँ । उहाँका एक जना बडिगार्डसँग सम्पर्क गर्दा फोन अफ थियो । उहाँ स्वयं आक्रमणको सिकार हुनुभएछ । 

अराजक भीडले देउवामाथि आक्रमण गर्‍यो । आक्रमणबाट घाइते हुनुभए पनि देउवाले साहस देखाइरहनुभएको थियो । जेनजी प्रदर्शनको दोस्रो दिन उनको ज्यान लिने उद्देश्यका साथ आक्रमण भएको थियो । आक्रमणका बिच निकै संघर्षबाट उनको उद्धार सफल भएको थियो । 

देउवाको जीवन रक्षाका लागि हामी सुरक्षाकर्मी र साथीहरूसँग समन्वय गरेर सुझबुझपूर्ण तरिकाले लागिरहेका थियौँ । आक्रमणकारी छिरेर हमला गर्न थाल्दा पनि देउवा घरबाट बाहिर निस्कन मान्नुभएको थिएन । निवास असुरक्षित भइसकेको भनेर हामीले नै उहाँलाई सुरक्षित स्थानमा जानुपर्ने अनुरोध गरिरहेका थियौँ । देउवामाथिको आक्रमणको प्रतिकार गर्न नेविसंघ सक्षम थियो । तर, अचानक अराजक भीडले योजनाबद्ध तरिकाले आक्रमण गर्दा स्थिति भयावह भइसकेको थियो । यस्तो अवस्थामा नेविसंघका साथीहरू आएर प्रतिकार गर्न थालेको भए ठुलो मानवीय क्षति हुन्थ्यो । यसकारण पनि जुक्ति लगाएर देउवाको जीवनरक्षामै बुढानीलकण्ठ पुगेका नेविसंघका साथीहरू लागिपर्‍यौं । दुजाङ शेर्पा पनि यथास्थानबाट साथीहरूलाई खटाइरहनुभएको थियो । 

आक्रमण भएपछि अपराह्न पौने ३ मा देउवालाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भएको थियो । तर प्रदर्शनकारीले घरको छतबाट हेलिकोप्टरमाथि नै ढुङ्गा हान्न थालेपछि फर्कियो । सुरुमा उद्धार असफल भयो । सुरक्षाकर्मीको थप टुकडी आएर बल्ल सुरक्षा कडाइ गर्न सक्यो । देउवालाई कम्पाउन्ड बाहिर नै सुरक्षित तरिकाले राख्न मुस्किल परेको थियो । सुरक्षाकर्मीको कठिन प्रयासका कारण पनि देउवाको ज्यान जोगियो । नेविसंघका जुझारु साथीहरू भौतिक रूपमा बुढानीलकण्ठ पुगेर होस् या जुनसुकै कुनामा बसेर नै किन नहोस् कांग्रेस सभापति देउवाको जीवन रक्षाका लागि खटिएका थिए । 

सुरुमा पर्खाल भत्काएर देउवालाई बाहिर लान खोज्यौं । नसकेपछि सुरक्षाकर्मीसँग मिलेर उहाँ र आरजु देउवा समेतलाई भर्‍याङ राखेर पर्खाल चढाएर बाहिर निकाल्यौँ । अपराह्न साढे २ बजे निवासको कम्पाउन्डबाहिर लगिनुभएका देउवालाई नजिकै गराको कुनामा जस्तापाताले घेरेर सानो टहरा जस्तो लुकाएर राखिएको थियो । त्यतिञ्जेल निवासभित्र छिरेर लुटपाट चलिरहेको थियो । घरमा केही पैसा थियो । अराजक भीडले पैसा लुट्यो । बाहिर हल्ला चलाएको जस्तो करोडौ करोड पैसा थिएन भन्ने मेरो दाबी छ । पैसा भन्दा ठुलो त जीवन नै थियो । 

देउवालाई बुढानिलकण्ठबाट सुरक्षित तरिकाले अन्यत्र लान निकै मुस्किल पर्‍यो । मैले दुजाङ शेर्पालाई स्थितिबारे जानकारी गराइरहेको थिएँ । यहीबिच नेविसंघ प्रवक्ता सुरज सेजुवालको पनि फोन आयो । कसरी हुन्छ सुरक्षित तरिकाले देउवालाई त्यहाँबाट उद्धार गर्ने विषयमा फोनमै छलफल चलिरहेको थियो । नौं बजे म त्यहाँबाट गाडी लिन निस्किएँ । २ किलोमिटर नजिकै रहेको घरमा मोटरसाइकलबाट पुगेँ । त्यसपछि गाडी निकालेर देउवा चोक हुँदै नीलो पुल गएँ । देउवा चोकमा राति साढे ९ बजे पनि भीड थियो । बाटो बन्द गरिएको थियो । नेविसंघका साथीहरू मिलेर बाटो पन्छाउँदै गयौं । हामीलाई आक्रमणको खतरा थियो । तर, प्रदर्शनकारीहरूलाई आफ्नो वास्तविक परिचय लुकाएर बढ्न सक्यौँ । नीलो पुलबाट तौलिङ हुँदै वासिकु नेवाः फाल्चा चोकमा पुग्यौँ । देउवालाई निवास नजिकैको खेतबाट हिँडाएर वासिकु नेवाः फाल्चा नजिकै ल्याइयो । सुरक्षाकर्मीले घेरामा राखेर उहाँलाई ल्याइएको थियो । 

नीलो पुलबाट शिवपुरीस्थित सेनाको स्टाफ कलेजको अवस्था बुझ्दा सबै ठिकठाक रहेको पाइएपछि उहाँलाई शिवपुरी राति १० बजे लगियो । 

धमला नेविसंघका केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक धमला
अशोक धमला
लेखकबाट थप