अपि बेस क्याम्प पुग्दा (तस्बिरहरू)
सारांश
- लेखकले अपि हिमाल बेस क्याम्पको यात्राको अनुभव सुनाएकी छिन्, जसमा उनले विभिन्न ठाउँको भ्रमण गरिन्।
- यात्रामा उनले कालीढुंगा ताल, चमेलिया नदीको मुहान र अपि हिमालको सुन्दरताको अनुभव गरिन्।
- लेखकले पर्यटन विकासमा स्थानीयको उत्साह र अपि हिमाल गाउँपालिकाको प्रयासको प्रशंसा गरेकी छिन्।
धनगढी । जिन्दगी आफैँमा एक लामो यात्रा हो । कोही गन्तव्य भेट्टाएर रमाउँछन् त कोही यात्राकै क्रममा जिन्दगीको अर्थ खोज्छन् । सुदूरपश्चिमको बझाङमा जन्मेकी म पहाड, पखेरा र उकाली–ओरालीसँग अपरिचित थिइनँ । यद्यपि यसपटकको यात्रा विगतमा मैले हासिल गरेको अनुभूतिभन्दा फरक रह्यो ।
यो यात्रालाई मैले भूगोल छिचोल्ने अवसरका रूपमा मात्र नलिएर मेरो आफ्नै साहसको परीक्षणका रूपमा पनि लिएकी छु । संयोग भनौँ वा अवसर, दार्चुलास्थित अपि हिमाल गाउँपालिकामा रहेको ‘अपि बेस क्याम्प’, ४२०० मिटर उचाइमा अवस्थित ‘कालीढुंगा ताल’ र चमेलिया नदीको मुहानमा पुग्ने अवसर पनि पाएँ ।
मंसिर ११ गतेको राति धनगढीको कोठामा बसेर सुन्निएका खुट्टा र थाकेको शरीरलाई बिसाउँदै गर्दा मेरो मन भने अझै त्यही अपिको काखमा, त्यही सेता हिमालको चिसो बतासमा खेलिरहेको छ ।
मंसिर ४ गते अपराह्न ४ बजे मनमा उत्साह र कौतुहलताको भारी बोकेर म धनगढीबाट अपि हिमाल बेस क्याम्पको यात्रामा निस्किएँ । अपि हिमाल गाउँपालिकाले ‘अपि बेस क्याम्प’ प्रवर्द्धनका लागि गरेको निमन्त्रणा मेरालागि सुनौलो अवसर थियो । गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरेको त्यो निम्तो मेरालागि सुदूरको पर्यटन चिन्ने र चिनाउने एउटा अवसर थियो ।

हामी धनगढीबाट बेलुकीपख जिपमा दार्चुलाका लागि हुइकियौँ । मसँग सहयात्रीका रूपमा थिए भिडियोग्राफर भाइ उत्तम अवस्थी । मेरो झोलामा लुगाफाटा, ल्यापटप, डायरी र कलमको भार थियो ।
रातभरको लामो र थकाइलाग्दो यात्रापछि मंसिर ५ गते बिहानपख हामी दार्चुलाको मार्मा गाउँपालिकाको लटीनाथ पुग्यौँ । त्यहाँबाट करिब डेढ घण्टाको कच्ची र कहालीलाग्दो सडक पार गरेर हामी अपि हिमाल गाउँपालिकाको मकरीगाड पुग्यौँ ।

मकरीगाड अपि हिमाल गाउँपालिकाको मुटु हुनका साथै सवारी साधनको अन्तिम गन्तब्य पनि हो । यो बजार अपि बेस क्याम्प जानेहरूको अन्तिम बिसौनी र सपनाको सुरुवाती बिन्दु हो । अपिका स्थानीयले यही बजारबाट किनमेल गर्छन् र पैदल वा खच्चडमा बोकाएर आ–आफ्नो सरसामान, खाद्यान्न लगायतका सामग्री गाउँमा पुर्याउँछन् । टिन र काठले बनेका घरहरू, बजारको चहलपहल, होटलहरूमा मान्छेको भिड र खच्चडवालाहरूको हतारो देख्दा लाग्यो– मकरीगाड अपिको व्यस्त बजार हो ।

मकरीगाडस्थित पर्यटन सूचना केन्द्रमा पुग्दा म निकै खुसी भएँ । गाउँपालिकाले पर्यटकका लागि व्यवस्थित ‘इन्ट्री सिस्टम’ बनाएको रहेछ– अपि बेस क्याम्पमा जाँदा विदेशीलाई ३०० र स्वदेशीले १०० रुपैयाँ तिर्नुपर्ने । त्यही केन्द्रसँगै जोडिएको थियो त्यहाँको ‘कोसेली घर’ ।
स्थानीयहरूले बाँस र निगालोबाट टोकरी, टोपरी, टोपी, डोको, नाम्लो र अर्गानिक उत्पादनहरू हातले बनाइरहेका थिए । स्थानीयले तालिम लिएर आफ्नै गाउँमा स्वरोजगार बन्ने सपना बुनिरहेको देख्दा मेरो मन प्रफुल्ल भयो ।

मकरीगाडको एउटा होटलमा हामीले नास्ता खायौँ । त्यहाँको स्थानीय पिठोको रोटी, आलु, करेलाको तरकारी र मोहीको स्वादले सहरको चाउमिन र मःमको स्वादलाई धेरै पछाडि छोडिदियो ।
संघीय सरकार अन्तर्गत मन्त्रालय, पर्यटन बोर्डका कर्मचारीहरू, वातावरणविद् र भारतको उत्तराखण्डबाट आएका चर्चित कन्टेन्ट क्रिएटरहरूसँग पनि मकरीगाडमा भेट भयो । उनीहरूसँगै मिसिएर हामी अपि हिमाल बेस क्याम्पको यात्रामा लाग्यौँ ।

मकरीगाडबाट माथि अपि हिमाल गाउँपालिकाको कार्यालयमा जानुपर्ने थियो । मकरीगाडबाट अपि बेस क्याम्प जाने दुई वटा बाटो छन् । एउटा बाटो मकरीगाडबाटै तलबाट रज्यौडा लगायतका गाउँ हुँदै घुसाको उकालो पुगिन्छ । हामीले भने गाउँपालिकाको कार्यालय हुँदै बेस क्याम्प जानु थियो । त्यसैले हामीले माथिल्लो बाटोको उकालो चढ्नुपर्ने भयो । त्यो उकालो बाटोमा पदमार्ग बनाइएको थियो । व्यवस्थित रेलिङसहितका सिँढी बनाइएका थिए ।
मकरीगाडबाट उकालो लाग्दैगर्दा सुरुमा त लाग्यो– म हिँड्न सक्छु, तर दुई–चार पाइला अघि बढेपछि सास फुल्यो, ढुकढुकी बढ्यो ।
अपि गाउँपालिकाको पहाड, त्यसमाथि ठाडो उकालो । पाइला बढाउन गाह्रो भए पनि मनमा एउटा अठोट थियो– समयमै पुग्नु छ । त्यही भएर पाइला जसोतसो अगाडि बढाइरहेँ ।

त्यो उकालो बाटोमा भेटिने खच्चडहरू नै स्थानीयस्तरका यातायात थिए । तिनै खच्चडले अपिका स्थानीयको प्राण धानिरहेका छन् । चामल, नुन, तेलदेखि सिमेन्टसम्म बोकेर हिँड्ने ती प्राणी देख्दा दया पनि लाग्यो र सम्मान पनि । मकरीगाडदेखि नौपाता, खण्डेश्वरीका गाउँ पुग्न पैदलमार्ग बनाइएको रहेछ । ठाउँ–ठाउँमा शौचालय र धाराको व्यवस्था भए पनि संरक्षणको अभावमा ती तोडफोड भएको देख्दा मन खिन्न भयो । त्यो उकालो बाटोमा करिब तीन हजारभन्दा बढी सिँढी चढ्न हामीलाई करिब चार घण्टा लाग्यो । यो बाटो हुँदै बेस क्याम्प जानेहरू भने थोरै हुने रहेछन् । उनीहरू तल्लो बाटो नै बढी प्रयाग गर्ने रहेछन् । करिव ८ करोडको लगानीमा बनेको त्यो पैदलमार्गको प्रयोगमा भने कम नै थियो ।
नौपाता पुग्दा साँझ पर्न लागेको थियो । नौपाता होमस्टेको आँगनमा गाउँका महिलाहरू आफ्नै मौलिक पहिरनमा सजिएर, हातमा फूलका माला लिएर लामबद्ध थिए । हामी पुग्नेबित्तिकै उनीहरूले कलश राखेर, निधारमा रातो टीका र गलामा सयपत्रीको माला लगाइदिएर स्वागत गरे । अपिवासीको निःस्वार्थ माया र सम्मान पाउँदा मेरा आँखा रसाए । उनीहरूले अपिको मौलिक नाच देखाए, देउडा गाए । हामी पनि त्यो माहोलमा मिसियौँ ।

हामी फरक–फरक होमस्टेमा बास बस्यौँ । मेरो बास खडक ठेकरे दाइको घरमा भयो । दाउराको चुलोमा पकाएको मकैको रोटी, रायोको साग, भाँगो–पुदिना–टिमुरको चटनी, स्थानीय राजमाको दाल र दही । आहा ! त्यो स्वाद जिब्रोमा अझै झुन्डिएको छ । त्यो रात आमालाई फोन गरेँ, ‘मम्मी म सुरक्षित छु, रमाइलो छ ।’
मंसिर ६ गते सबेरै उठ्यौँ । होमस्टेकी दिदी (खडक दाइकी श्रीमती)ले दिएको शुद्ध दुध पिएर शरीरमा ऊर्जा थपेँ । फापरको माडा र तरकारी खाएर म बेस क्याम्पको यात्राका लागि तयार भएँ । खडक दाइ पनि हामीसँगै बेस क्याम्पको यात्रामा जाने हुनुभयो ।

होमस्टेकी दिदीको सुझाव मानेर मैले भारी कम गर्न एउटा झोला र ल्यापटप त्यहीँ छोडेँ । दिदीले फूलमाला र टीका लगाएर यात्राका लागि बिदा गर्नुभयो । पालिकाबाट दुई जना कर्मचारी यात्रामा सहजीकरण गर्न हामीसँगै गाउँपालिका अध्यक्षले पठाउनुभयो ।
मन्त्रालयका तीन जना, पर्यटन बोर्डका एक जना, एउटा संस्थाका एक कर्मचारी, पालिकाका दुई जना कर्मचारी, खडक दाइ, चार जना भारतीय कन्टेन्ट क्रिएटर र दुई जना हामी गरी १४ जनाको टिम बन्यो ।
बिहानै नौपाताबाट सुरुमा ओरालो झर्नुपर्ने रहेछ । सुरुमा म लट्ठीविना नै हिँड्छु भन्ने सोचेकी थिएँ, तर बाटोको विकटता देखेपछि बाध्य भएर लट्ठीको सहारा लिनै पर्यो । त्यो लौरो मेरो तेस्रो खुट्टा थियो । ओरालो झर्दा घुँडा काप्न थाले । करिब एक घण्टा ओरालो झरेर नदी पार गरेपछि सुरु भयो घुसाको उकालो ।
यो उकालोको नाम सुन्नेबित्तिकै स्थानीयहरू लामो सास फेर्थे । नभन्दै, यो निकै कठिन उकालो रहेछ । उकालोको सुरुवातमै एउटा सुन्दर झरना देखियो । एकछिन त्यो झरनाको सौन्दर्यमा हरायौँ । अगाडि काला र डरलाग्दा चट्टानसहितको पहाड ठिङ्ग उभिएको थियो ।
करिब ३ घण्टा घुसाको उकालो चढ्दा मेरो हात–खुट्टा गले । कम्मर दुखेर हैरान भयो । बाटोमा भेटिने मान्छेलाई ‘अब कति छ ?’ भनेर सोध्दा कसैले ‘थोरै छ’ भन्थे त कसैले ‘ओहो ! अझै धेरै छ’ भन्थे । ‘थोरै छ’ भनेको सुन्दा मनमा आशा पलाउँथ्यो भने ‘धेरै छ’ भनेको सुन्दा अत्यास लाग्थ्यो ।
घुसा गाउँ पुग्ने बेला खेतको बाटो हिँड्नुपर्ने रहेछ । भर्खर गहुँ छरेका कालो माटो भएका खेतहरू । हावा चल्दा त्यो माटो उडेर हामीलाई धुलोले छोप्यो । धुलो खाँदै, सास फेर्दै हामी घुसा गाउँ हुँदै नाली पुग्यौँ । नालीमा दिउँसोको खाना खाएर केहीवेर विश्राम लिएपछि हामी अगाडि बढ्यौँ । त्यसपछिको बाटो उकालो कम भएकाले अलि सहज नै थियो ।
चारैतिर पहाड, बिचमा साना गाउँहरू । उकालो काट्दै, कहिले तेर्साे, त कहिले ओरालो बाटो हुँदै हामी साँझपख सिती गाउँ पुग्यौँ । गाउँ निकै सुन्दर देखियो । त्यहाँ तीन वटा घरमा होमस्टे सञ्चालनमा थिए । हाम्रो टिम तीन समूहमा बाँडियौँ । टिममा कोही छिटो हिँड्ने थिए, कोही मध्यम त कोही सुस्त । म बिस्तारै हिँड्ने टिममा थिएँ । त्यो रात हामी सिती गाउँमै बास बस्यौँ । हामी देवेन्द्र होमस्टेमा बस्यौँ । त्यहाँ कविन्द्र धामी भाइले मिठो खाना पकाए । २१ वर्षको कलिलो उमेरमा उनी गाउँमा होमस्टे चलाएर स्वदेशमै केही गर्ने सपना देखिरहेका छन् ।
मंसिर ७ गते गन्तव्य अझै माथि थियो । सिती गाउँबाट बिहानको खाना खाएर हामी ओरालो बाटोमा लाग्यौँ । सुरुमा ओरालो, बिचमा पाटन र फेरि उकालो बाटो थियो । पदमार्ग व्यवस्थित बनाइएको थियो ।
सितीबाट हिँडेपछि हामी खायकोट पुग्यौँ । खायकोटको भूगोल र त्यहाँको हावापानीले बिस्तारै उचाइ बढ्दै गएको सङ्केत गर्थ्यो । बाटोमा चमेलिया नदीको सुसेलो र जंगलको शान्त वातावरणले मेरो यात्राको थकान मेट्ने प्रयास गर्थे । बाटोमा भेटिएका गोठालाहरू र भिरपाखामा चर्दै गरेका भेंडा–च्याङ्ग्राहरूको घण्टीको आवाजले सन्नाटालाई संगीतमा बदल्थ्यो ।
हिँड्दै, थकाइ मार्दै हामी छिरछिरे पुग्यौँ । त्यहाँ यात्राको थकान मेट्दै खाना खायौँ । चिसो पानी र स्थानीय खानाले शरीरमा पुनः ऊर्जा भरिदियो ।

छिरछिरेबाट फेरि उकालो सुरु भयो । अबको बाटो झन् चिसो र लेकाली थियो । स्थानीयहरू भन्थे– अबको उकालोले मुटु जाँच्छ ।
नभन्दै, नाक ठोक्किने उकालो, तल हेर्दा चमेलिया नदी सेतो धर्काेजस्तो देखिने, माथि हेर्दा टोपी खस्ने भिर । जति पाइला चाल्यो, उति सास फुल्ने । चिसो सिर्सिरे हावाले गाला चिस्याउँथ्यो । पसिनाले निधार भिजिरहन्थ्यो । छिरछिरेपछि सिमार हुँदै गएको त्यो बाटो मलाई यात्राको सबैभन्दा लामो र कठिन लाग्यो । हिँड्दाहिँड्दै झमक्क रात पर्यो । जंगलको बाटोमा अँध्यारो हुँदा मलाई कताकता डरले सतायो । टिमका कतिपय साथी धौलीओडार (जहाँ हाम्रो बास बस्ने कार्यक्रम थियो) पुगिसकेका थिए । हामी भने नदीको छेउको उकालो बाटो हिँड्दै थियौँ । हामीभन्दा पछाडि भारतीय कन्टेन्ट क्रिएटर थिए । उनीहरू बाटोमा भिडियो खिच्दै, स्टोरी बनाउँदै हिँड्दा पछाडि छुटेका थिए । उसो त मैले पनि बाटोमा भेटिएका कथालाई समेट्ने मनसायले भिडियो र फोटो खिचेकी थिएँ ।
हिँड्दा–हिँड्दा मेरो हात–खुट्टा थकित थिए । राति कतै बाटोमा जंगली जनावरले आक्रमण पो गर्छ कि भन्ने पीर पनि मनमा थियो । रातको करिब सात बजेतिर हामी धौलीओडार पुग्यौँ, जुन बेस क्याम्प पुग्नु अगाडिको अन्तिम बिसौनी थियो । नाम ओडार भए पनि त्यहाँ व्यवस्थित खाना र बासका लागि सुन्दर घर बनाइएका थिए । त्यहाँको ‘रेड हाउस’ (रातो रङ पोतिएको टिनको छाना भएको घर) देख्दा लाग्यो– ओहो ! यहाँ पनि यस्तो राम्रो घर पो हुने रहेछन् ।
सँगै जोडिएको अर्काे ‘ग्रीन हाउस’ नामक क्याम्प थियो । दुवैमा हाम्रो टोलीको बास भयो । सिती गाउँदेखि धौलीओडारसम्म दिनभरिको हिँडाइको थकाइ मार्न त्यहाँ तातो पानीले हात–खुट्टा धोयौँ किनकि त्यहाँको पानी बरफ भएर जमेको थियो । धौलीओडारमा निकै चिसो थियो । घरको छेउनेर बालेको आगोको वरिपरि बसेर शरीर ततायौँ ।
अनुगमनका लागि बेसक्याम्पको यात्रामा रहेका पर्यटन मन्त्रालयका अधिकारीहरू हाम्रो टोलीमध्ये सबैभन्दा अगाडि धौलीओडार पुगेका थिए । बाटोमा हामीभन्दा पछि रहेका भारतीय भ्लगरहरू पनि करिब ८ बजेतिर त्यहाँ पुगे । सबैजना थकित तर उत्साहित थियौँ । भोलि बिहानै बेस क्याम्प पुग्ने सपनाका साथ हामी सुत्यौँ । त्यहाँ एकदम चिसो थियो, तर ओढ्ने–ओछ्याउने निकै बाक्लो भएकाले निन्द्रा राम्रैसँग लाग्यो ।

मंसिर ८ गते मेरो जीवनको सबैभन्दा विशेष दिन थियो । बिहान ७ बजे नै उठेर हामी धौलीओडारबाट उकालो लाग्यौँ । बिहानको चिसोले हातखुट्टा कठ्याङ्ग्रिएका थिए ।
धौलीओडारबाट करिब २ घण्टा उकालो हिँडेपछि हामी एउटा फराकिलो पाटनमा पुग्यौँ । त्यहाँ पुग्दा घामका सुनौला किरण अपि हिमालको चुचुरोमा पर्दै थिए । ७१३२ मिटर अग्लो अपि हिमाल मेरो आँखा अगाडि मुस्कुराइरहेको थियो । केहीवेर त्यो दृश्य एकटक हेरिरहेँ । अहिले अपिमा हिउँ भने धेरै देखिएन, तर सँगै जोडिएका अरु चुचुराहरूमा भने हिउँ बढी थियो । अपिको फेदबाट चारैतिर हेर्दा हिमालका चुचुरा हाँसिरहेका थिए । मेरो अगाडि अद्भुत शक्ति ‘अपि’ उभिएको थियो । त्यो देख्नेबित्तिकै मेरो मुखबाट निस्कियो– ‘आहा !’

फोटो र भिडियोमा मात्र देखेको अपि आफ्नै आँखा अगाडि देख्न पाउँदा मैले जीवनकै बहुमूल्य क्षणका रूपमा त्यो पललाई कैद गरेँ ।
अपि फेदमा रहेको मैदानको क्याम्पमा हामीले चिया खायौँ । केही समय आगो ताप्यौँ । बिहानपखको घाम अनि त्यहाँको दृश्यलाई शब्दमा उतार्न सक्ने मसँग शक्ति भएन । फेदमा तीन वटा जति घर थिए । ती घरमा खान र बस्नको व्यवस्था थियो । बिहान आगो ताप्दै त्यहाँको यार्चा होटलमा राखिएको गितार बजाउँदै भारतीय कन्टेन्ट क्रिएटरहरूले गीत गाए । हामी रमायौँ ।
क्याम्पबाट अझै माथिको यात्रा बाँकी थियो । त्यहाँबाट करिब तीन घण्टा हिँडेपछि ४२०० मिटरको उचाइमा पुगेपछि अर्काे सुन्दरता भेटियो कालीढुंगा ताल ।

निलो, कञ्चन पानी । वरिपरि सेता हिमाल । तालमा हिमालको प्रतिविम्ब । मैले आजसम्म त्यस्तो सुन्दर दृश्य प्रत्यक्ष देखेकी थिइनँ । तालको माथिपट्टि फरफराइरहेको राष्ट्रिय झण्डा । त्यहाँ पुगेपछि मैले आफ्नो सबै दुःख, पीडा र थकान बिर्सिएँ । लाग्यो– स्वर्ग भनेको सायद यही हो ।
जब म ताल नजिक पुगेँ, खुसीले चिच्याएँ । तालको छेउमा बसेर हामीले फोटो खिच्यौँ, भिडियो बनायौँ । तालको एकातर्फको भागमा पानी जमेको थियो । उत्साहित हुँदै हामी त्यो तालको बरफमाथि गयौँ । खुसीले त्यही बरफमाथि सुतेर फोटो खिच्यौँ । ताललाई परिक्रमा गर्यौँ । त्यहाँको पवित्रता र शान्तिले मलाई भित्रैदेखि शुद्ध बनायो । छेउमा रहेको मन्दिरमा प्रार्थना गर्यौँ ।
चन्द्रमा आकारको यो ताल देखेर मैले महसुस गरेँ— यो ठाउँ सुन्दरताको खानी त छँदैछ, सँगै यो आर्थिक समृद्धिको स्रोत पनि हो ।
मैले तालको किनारमा बस्दै मनमनै सोचेँ– ‘यो प्रकृति सधैँ यसरी नै हाँसिरहोस्, म फेरि यहाँ आउन पाउँ ।’ मनले त अझै बस्न पाए हुन्थ्यो भन्ने लागेको थियो तर, समय कम थियो । त्यहाँबाट तल क्याम्पमा फर्केर फेरि चमेलिया (चौलानी) नदीको मुहानमा जानुपर्ने थियो । तालमा करिब दुई घण्टा बिताएर हामी तल फर्कियौँ ।
तल फर्किंदा दिउँसोको ३ बजिसकेको थियो । क्याम्पमा खाना खाएपछि हामी चमेलियाको मुहानमा पुग्यौँ । चमेलिया नदीले विद्युत उत्पादनमा ठुलो योगदान दिएको छ । मुहानमा जाँदा अर्काे स्वर्ग भेटिएको आभास मलाई भयो । मुहानबाट फर्किंदा साँझ परिसकेको थियो ।
रिङ्दे तालमा पुग्न भने समय पुगेन । त्यहाँबाट फर्केर केही समय क्याम्पमा होटल सञ्चालकसँग कुरा गर्यौँ । यार्चा होटलका एक काकाले सामानहरू खच्चडमा ल्याउने गरेको र बाहिरका विदेशी तथा स्वदेशी पर्यटकको सेवा गर्न पाउँदा खुसी लागेको कुरा सुनाए । धेरै आम्दानी नभए पनि सिजनमा यही क्याम्पमा काम गरेर उनी घरखर्च चलाउने रहेछन् । त्यही क्याम्पमा मलाई ती काकाले अपिको मौलिक पहिरन लगाइदिए । त्यही पहिरहनमा सजिएर मैले भिडियो र तस्बिर खिचेँ । त्यो दिन पनि बित्यो, रात पर्यो र हामी क्याम्पबाट तल ओरालो झर्यौँ ।
गन्तव्यमा पुग्नु जति रमाइलो हुन्छ, फर्कनु त्यति नै नरमाइलो र गाह्रो । अपि, अपिको फेद, फाँटा, कालीढुंगा र चमेलिया मुहानलाई बिदाइ गरेर ओरालो झर्दै गर्दा मेरा घुँडा काप्न थालेका थिए । उकालो चढ्दा सास फुल्थ्यो, ओरालो झर्दा घुँडा काम्थे । त्यो रात पनि धौलीओडारमै बित्यो ।
मंसिर ९ गते बिहानै हामी फर्कियौँ । फर्किंदा ओरालो बाटो बढी थियो, त्यसैले केही सहज भयो । धौलीओडारबाट फर्किएर हामी सिती गाउँमा बास बस्यौँ । मंसिर १० मा सिती गाउँबाट हामी मकरीगाडका लागि हिँड्यौँ । नाली, घुसा हुँदै हामी रज्यौडाको बाटो हुँदै मकरीगाड गयौँ । अपि बेस क्याम्प जानेबेला राखेका सामानहरू नौपाता होमस्टेबाट खच्चडमा मकरीगाड पुर्याइएको थियो । मकरीगाड पुग्ने बेला रज्यौडाका स्थानीयले फलाएका रसिला मौसमी र उखुले हाम्रो तिर्खा मेटायो ।

मकरीगाड पुग्दा साँझको ५ बजिसकेको थियो । हामी मकरीगाडबाट जिप चढेर धनगढीका लागि फर्कियौँ । मंसिर ११ गते बिहान धनगढी पुग्यौँ ।
अपि बेस क्याम्पको यात्रा मेरो जीवनको महत्त्वपूर्ण सिकाइ हो । मैले अपिको सुन्दरता र रहस्य देखेँ । अपिका लागि टाढा–टाढाबाट आउने विदेशीको लगाव देखेँ । अपि, चमेलिया नदी, कालीढुंगा ताल, हिमालका चुचुरा, झरना र खोलानाला सबैले मलाई हाँस्न सिकाए ।
अपिको लुकेको सौन्दर्य र त्यहाँको अथाह सम्भावना देखेर मैले महसुस गरेँ– म संसारको धनी देशको नागरिक रहेछु । अपिले दिएको सम्भावनाले अपि हिमाल गाउँपालिकाका मान्छेको जनजीवनमा आएको परिवर्तन देखेँ । सम्मान–सत्कार गर्ने, होमस्टे सञ्चालन गर्ने, क्याम्पमा होटल चलाउने र आम्दानी गर्ने गरेको देख्दा खुसी लाग्यो । विगत दुई वर्ष यता यहाँ संरचना बनेको र पर्यटकहरूको आवागमन निकै बढेको स्थानीयले सुनाए । अपि हिमाल गाउँपालिकाले मन्त्रालय, पर्यटन बोर्ड, अपिनाम्पा संरक्षण क्षेत्र र एसटीडी प्रोजेक्टसँग मिलेर पर्यटकीय गतिविधि बढाएको देख्दा त्यस क्षेत्रको भविष्य अझै उज्ज्वल पाएँ ।

अपि हिमाल गाउँपालिकाले पर्यटनप्रति देखाएको चासो, पर्यटन मन्त्रालयको सक्रियता र स्थानीयको उत्साह देख्दा मलाई विश्वास छ— अपि ओझेलमा पर्ने छैन । बाटो गाह्रो छ, पूर्वाधारको कमी छ, तर त्यहाँ पुग्दा पाइने आनन्दको तुलनामा ती दुःखहरू नगण्य छन् । यद्यपि, अपिमा सबैभन्दा ठुलो समस्या बाटोको छ । सडक सुविधा भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो । सामानहरू ढुवानी गर्न र बिरामी पर्दा अस्पताल जान सहज हुन्थ्यो । सडक, विद्युत्, स्वास्थ्य र शिक्षामा अझै लगानी बढाउनुपर्छ भन्ने मेरो यात्राले बुझायो ।

भौतारिरहेको जीवनलाई एक दिशा दिन र जीवनमा शान्ति पाउन अपिले मलाई ठुलो ऊर्जा दिएको छ । अपिको यात्राबाट मलाई जीवन बदल्ने अनुभव मिलेको छ ।
यो यात्रामा मलाई साथ दिने मेरो भिडियोग्राफर भाइ उत्तम, लौरो समातेर डोर्याउने गाउँपालिकाका कर्मचारी विसन ठेकरे दाइ, पाइला–पाइलामा साथ दिने र बाटोबारे बताउने खडक दाइ, उमेश दाइ, मन्त्रालय तथा पर्यटन बोर्डका कर्मचारीहरू, आत्मीयता र निःस्वार्थ भावना बोकेका भारतीय कन्टेन्ट क्रिएटरहरू, विशेष गरेर अपि हिमाल गाउँपालिका, न्यानो माया दिने नौपाता र सितीका दिदी–आमाहरू र यो अवसर दिने गाउँपालिकालाई धन्यवाद ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण