एमाले नेता नेपाली भन्छन्-‘समाजमा पानी नचल्ने थियो, एमालेले भोट पनि नचल्ने बनायो’
सारांश
- नेकपा एमालेको महाधिवेशनमा दलित समुदायले प्रतिनिधि छनौटको मापदण्डमा असन्तुष्टि जनाएका छन्।
- दलित नेता खेम नेपालीले दलितलाई साँघुरो घेरामा राखेको र विभेद गरेको आरोप लगाएका छन्।
- उनले पार्टीको निर्णयलाई जातीय छुवाछूत र कम्युनिस्ट आन्दोलनको अपमानको रूपमा व्याख्या गरे।
विराटनगर । नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि देशभर प्रतिनिधि छनौट प्रक्रिया चलिरहँदा पार्टीभित्रको दलित समुदायले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।
मोरङका एमाले नेता खेम नेपालीले प्रतिनिधि छनौटको मापदण्डले दलित समुदायमाथि विभेद गरेको र पार्टीभित्रै ‘अछुत’ व्यवहार गरिएको आरोप लगाएका छन् । पूर्व सांसद समेत रहेका नेपालीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै वर्गीयरहित समाज र समानताको वकालत गर्ने कम्युनिस्ट पार्टीले नै प्रतिनिधि चयनमा दलितलाई साँघुरो घेरामा राखेको बताए ।
नेता नेपालीले समाजमा विद्यमान जातीय छुवाछूतको पीडा पार्टीको आन्तरिक लोकतन्त्रमा पनि झल्किएको बताए । ‘दलितले दलित मात्र चुन्न र चुनिन पाउने प्रावधान राखेर सामाजिक–सांस्कृतिक रूपमा उपेक्षित हामी रैथाने दलितलाई झन् साँघुरो र सङ्कीर्ण बनाइएको छ,’ उनले भनेका छन्, ‘फेरि पनि एकदमै अछुत बनाइएको छ । समाजमा पानी अचल त थियो नै, यसपटक मत पनि नचल्ने बनाएको छ ।’
टेलिफोन संवादमा पनि नेता नेपालीले विगतको तुलनामा अहिलेको व्यवस्था प्रतिगामी भएको दाबी गरे । उनले भने, ‘विगतमा एउटा दलित उम्मेदवारलाई सबैले भोट हाल्ने व्यवस्था थियो । तर यसपटक सबैको भोट दलितलाई नचल्ने र हाम्रो (दलितको) भोट पनि अरूलाई नचल्ने बनाइयो । हामीले अरूलाई हाल्न पनि पाइएन, उनीहरुले हामीलाई हाल्न पनि पाएनन् । खाली दलितले दलितलाई मात्रै ।’
दलित निर्वाचन क्षेत्रलाई छुट्टै राखिएको भए पनि त्यसमा अन्य समुदायको सहभागिता (मतदान) निषेध गरिनुलाई उनले ‘ठुलो विभेद’ को संज्ञा दिएका छन् । खुला रूपमा मतदान गर्न पाउने अधिकार कुण्ठित गरी दलितलाई एउटा घेराभित्र मात्र सीमित गरिएकोमा उनले आपत्ति जनाए ।
मार्क्सवादी दर्शनलाई मार्गदर्शक सिद्धान्त मान्ने एमालेजस्तो पार्टीले कथित तल्लो/उपल्लो विभेद झल्कने निर्णय गर्नु कम्युनिस्ट आन्दोलनकै अपमान भएको नेता नेपालीको तर्क छ । ‘अर्थराजनीतिक दृष्टिकोणले सर्वाधिक उम्दा मानिएको मार्क्सवादी विज्ञाननिर्देशित हाम्रो मनोविज्ञान अहिले पनि कथित छुत/अछुत र तल्लो/उपल्लो विभेद झल्कने मानवताविरुद्धको प्रहारमा मौन छ,’ उनले लेखेका छन् ।
समतामूलक समाज निर्माणको पहिलो शर्त वर्गीय समानता हुनुपर्नेमा पार्टी नेतृत्वले ‘अवर्गीय गतिविधि’ गरेको उनको आरोप छ । उनले यो निर्णय लिने नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘यो विवेकहीन निर्णय लिने नेता, तिनको नेतृत्व क्षमता र विभेदजन्य यो व्यवहारको चर्को र उँचो शब्दमा घृणा, निन्दा र भर्त्सना व्यक्त गर्दछु ।’
एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भइरहेका छन् । यस्तोमा दलित समुदायबाट उठेको यो आवाजले एमालेको समावेशी नीति र व्यवहारिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण