भूपिनका तीन कविता
बागलुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका भूपिन तीन दशकभन्दा बढी समयदेखि कविता लेखनमा सक्रिय छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उप–प्राध्यापकसमेत रहेका भूपिनले नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार (अमेरिका), उत्तम शान्ति पुरस्कार, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनी ‘संरक्षण कविता आन्दोलन’ का संस्थापक हुन् । ‘जिन्दगीले मलाई कवि बनायो कि जिन्दगीलाई मैले कविता बनाएँ’ भन्ने भूपिन आफ्ना कवितामा सधैँ विभेद विरुद्ध उभिन्छन् र राज्यको क्रूरता छताछुल्ल पार्छन् । रातोपाटीमा यस पटक हामीले उनै भूपिनका तीन कविता पस्केका छौँ–
- ट्रक ड्राइभर
खतरनाक हुन्छ
बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।
दिलमाया, म ट्रक चलाइरहेछु ।
बैँसको भीर कोतरेर बनाएको
सपनाहरूको कच्ची बाटो,
जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औँला,
र यो बाटै नदेखिने गरी
हुस्सु लागेको मनको घुम्ती !
दिलमाया, म ट्रक चलाइरहेछु ।
थिच्दा थिच्दै
हर्नको घाँटी सुख्खा भइसक्यो
ट्रकको सिसा आँसुले भरियो र वाइपर बिग्रियो
ब्रेकलाई अल्जाइमर भयो
थाहा छैन
कति नजिकै पर्खेर बसिरहेछ दुर्घटना ।
दिलमाया, म ट्रक चलाइरहेछु ।
यो मेरो जिन्दगीको अहम् लडाइँ हो दिलमाया ।
जिन्दगीको झुपडीभित्र बसेर
मलाई कुरिरहेका छन्-
सपनाका भोका बच्चाहरूले ।
उनीहरू निदाउनुअघि
कि त मैले ढुङ्गा उमालिरहनुपर्छ छातीको डेक्चीमा
कि रोटी कमाउनु पर्छ
कि कतै सडक छेउबाट
हाम फाल्नु पर्छ नदीमा ।
दिलमाया
नदीमा हाम फाल्न
बनेको होइन म ट्रक ड्राइभर ।
बाटै नदेखिने गरी
हुस्सु पालेर बसेकिछौ तिमी वर्षौंदेखि-
दिलमाया ।
म त्यहीँ चलाइरहेछु-
एउटा थोत्रो ट्रक ।
- तेह्र सय ग्राम मस्तिष्क
५.९७ बिलियन ट्रिलियन मेट्रिक टन पृथ्वीको वजन भन्दा
तेह्र सय ग्रामको मानव मस्तिष्क
किन गह्रुँगो छ ?
यही बुद्धिको तौलले ?
यही सिर्जनाको वजनले ?
हो, चराका टाउकाहरू ससाना छन्
किटपतङ्का टाउका ससाना छन्
पुतलीका टाउकाहरू त झन् मसिना छन्
केही जनावरका टाउकाहरू पनि हलुका छन्
तर मानिसलाई
किन हात्तीको दाँत गह्रुँगो
तर टाउको
मानिसको भन्दा धेरै हलुका लाग्छ ?
किन गैँडाको खाग गह्रुँगो
र टाउको
मानिसको भन्दा निकै हलुका लाग्छ ?
किनभने मानिसको टाउकोसँग बम छ
विध्वंसको बम
अहङ्कार, स्वार्थ र आक्रोशको बम
किनभने मानिसको टाउकोसँग बम छ
शासक बम….!
किनभने मानिससँग मात्र छ झुटो कथा रच्ने खुबी
कि पृथ्वीको अधिपति केवल मानिस हो ।
कि पृथ्वीको शासक केवल मानिस हो ।
पृथ्वीको सम्पूर्ण वजनभन्दा
तेह्र सय ग्रामको मानव मस्तिष्क
किन महँगो छ ?
किनभने
छयासी बिलियन न्युरोनका तारजालीहरू भएको
कुनै एक मानव मस्तिष्क सट भयो भने
पूरा पृथ्वी पड्किन्छ ।
हिटलर न्युरोनहरू सट भए
यहुदीहरू मारिए ।
स्टालिन न्युरोनहरू सट भए
रुसीहरू मारिए ।
कुनै एक अमेरिकी न्युरोन सर्ट हुन्छ
र इराक ध्वस्त हुन्छ ।
र अफगानिस्तान ध्वस्त हुन्छ ।
र सिरिया ध्वस्त हुन्छ ।
पुटिन/जेलेन्स्की न्युरोन सट हुन्छ
युक्रेन ध्वस्त हुन्छ ।
हाम्रा बुद्धि र सिर्जना सट हुन्छन्
र हाइ भोल्टेज करेन्ट लागेको मानिसझैँ
पृथ्वी पछारिन्छ र मुर्छा पर्छ ।
मेरो प्यारो सन्तान
मैले त पृथ्वीलाई हिमालको थाप्लोबाट
झरिरहेका हिमनदीहरूमा देखेँ
जो बग्दैबग्दै समुद्रसम्म पुग्थे…!
मैले त पृथ्वीलाई घना जङ्गलमा बाँचिरहेका
रुख पातहरूको हरियालीमा भेटेँ
जनावर, कितपतङ्ग र चराका आँखाहरूमा देखेँ….!
तिमीले पृथ्वीलाई कहाँ देख्यौ ?
माफ गर मेरो प्यारो सन्तान
मैले तिमीलाई यो प्रश्न त्यतिबेला सोधिरहेको हुनेछु
जतिबेला
पृथ्वी अस्पतालको अपरेसन थिएटर हुनेछ !
- सर्दी
विकास बाबु
तिमीलाई कस्तो छ ?
मधेसलाई सर्दी लागेको छ ।
अब कुरा गर्दागर्दै मानिसका आवाजहरू जम्नेछन्
बहँदाबहँदै हावा जम्ने छ
बग्दाबग्दै नदी जम्ने छ ।
चुलोमा बलिरहेको आगो जम्ने छ ।
अब मुटु जम्ने छ छातीको देब्रे कोठामा
रगत जम्ने छ शरीरको हाँगा हाँगामा
कसरी गुहार माग्ने हामीले ?
चिच्याऊँ भनेपनि
घाँटीसम्म आएर आक्रोश जम्ने छ ।
आत्महत्याको लागि कतै पुलबाट हाम फालौँ कि ?
तर लाग्दैछ- शरीर हावामै जम्नेछ ।
पृथ्वीको गुरुत्व बल जम्ने छ ।
यस्तो लाग्दैछ-
मुखसम्म आएर प्राण जम्ने छ ।
विकास बाबु
तिमीलाई कस्तो छ ?
मधेसलाई सर्दी लागेको छ ।
यो मधेसमा
हतियार बोकेर आउँछन् हरेक वर्ष
सिमापारीबाट डाँकाहरूको हुल
र रित्ता बाकस, भकारी र घरसँग क्रोधित बनेर
बन्दुक पड्काउँदै फर्किन्छन् ।
यहाँ आउन बिराउने त अनाजको मूल्य हो, अस्पताल हो
यहाँ आउन बिराउने त नागरिकता हो, अमन हो
आउनु पर्नेले पर्खाइरहने
र नआउनु पर्नेले तर्साइरहने यो मधेसमा
तीन हत्यारा छन्, जो नबिराई आइरहन्छन्-
लु
बाढी
र शीतलहर ।
अहिले शीतलहर आएको छ ।
आउन त
नबिराई आउँछन् आन्दोलन पनि मधेसमा ।
विद्रोहको भुसमा आगो सल्किन्छ
रङ्गभेद विरुद्ध मुठी उठ्छ
कहिलेकाहीँ भाला र बन्चरा लिएर सडकमा उत्रिन्छन् मानिसहरू
मितेरी पुलमा ढुङ्गाको असिना बर्सिन्छ
देशै विरुद्ध नाकाबन्दी पनि चल्छ
सभा चल्छ । शब्दहरूको पटाका पड्किन्छ ।
कहिलेकाहीँ
भाषण कानबाट छिर्छ र पाखुराबाट निस्कन्छ ।
आउन त
नबिराई आउँछन् चुनाव पनि मधेसमा
मानिसहरू मतपेटिकामा आफ्नो भविष्य जम्मा गर्छन् ।
मानौँ ती बाकस होइनन्
मानिसहरूले सपना जम्मा गर्ने बैंक खाता हुन् ।
चुनाव परिणाम आउँछ
विजेता बन्छन्- पहिचान यादव, सङ्घीय ठाकुर र समावेशी महतो
देहात खुसीले अबिर जात्रा गर्छ ।
तर जब माला र अबिर लगाएर राजधानी छिर्छ चुनाव
ऊ फेरी मतपेटिका अघि नलगाएसम्म
कहिल्यै मधेस फर्किन्न ।
विकास बाबु
कसैले नपत्याए पनि
यो राज्यलाई अरूले जत्तिकै माया गर्छौँ हामी पनि
र माया गर्छौँ तिमीलाई पनि ।
तर तिमी किन बोल्दैनौँ ?
भन तिमी दरबारको कुन कुनामा निदाइरहेछौ ?
वा प्रदेश सरकारको कुन फाइलमा उँघिरहेछौ ?
बाबा भन्थे,
'विकाश फाइलमा जन्मिन्छ, फाइलमा च्यापिन्छ र फाइलमै मर्छ !'
के तिमी मरिसक्यौ ?
वर्षौँदेखि पर्खिरहेछौँ हामी तिमीलाई
मधेसलाई सर्दी लागेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण