शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

भूपिनका तीन कविता

शनिबार, १३ मङ्सिर २०८२, १८ : ३०
शनिबार, १३ मङ्सिर २०८२

बागलुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका भूपिन तीन दशकभन्दा बढी समयदेखि कविता लेखनमा सक्रिय छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उप–प्राध्यापकसमेत रहेका भूपिनले नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार (अमेरिका), उत्तम शान्ति पुरस्कार, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनी ‘संरक्षण कविता आन्दोलन’ का संस्थापक हुन् । ‘जिन्दगीले मलाई कवि बनायो कि जिन्दगीलाई मैले कविता बनाएँ’ भन्ने भूपिन आफ्ना कवितामा सधैँ विभेद विरुद्ध उभिन्छन् र राज्यको क्रूरता छताछुल्ल पार्छन् । रातोपाटीमा यस पटक हामीले उनै भूपिनका तीन कविता पस्केका छौँ–

  • ट्रक ड्राइभर

खतरनाक हुन्छ

बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।

दिलमाया, म ट्रक चलाइरहेछु ।

 

बैँसको भीर कोतरेर बनाएको

सपनाहरूको कच्ची बाटो,

जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औँला, 

र यो बाटै नदेखिने गरी

हुस्सु लागेको मनको घुम्ती !

दिलमाया, म ट्रक चलाइरहेछु । 

 

थिच्दा थिच्दै

हर्नको घाँटी सुख्खा भइसक्यो 

ट्रकको सिसा आँसुले भरियो र वाइपर बिग्रियो

ब्रेकलाई अल्जाइमर भयो 

थाहा छैन

कति नजिकै पर्खेर बसिरहेछ दुर्घटना ।

दिलमाया, म ट्रक चलाइरहेछु ।

 

यो मेरो जिन्दगीको अहम् लडाइँ हो दिलमाया ।

जिन्दगीको झुपडीभित्र बसेर

मलाई कुरिरहेका छन्-

सपनाका भोका बच्चाहरूले ।

उनीहरू निदाउनुअघि

कि त मैले ढुङ्गा उमालिरहनुपर्छ छातीको डेक्चीमा 

कि रोटी कमाउनु पर्छ

कि कतै सडक छेउबाट

हाम फाल्नु पर्छ नदीमा । 

 

दिलमाया

नदीमा हाम फाल्न

बनेको होइन म ट्रक ड्राइभर ।

 

बाटै नदेखिने गरी

हुस्सु पालेर बसेकिछौ तिमी वर्षौंदेखि-

दिलमाया ।

म त्यहीँ चलाइरहेछु-

एउटा थोत्रो ट्रक ।

 

  • तेह्र सय ग्राम मस्तिष्क

५.९७ बिलियन ट्रिलियन मेट्रिक टन पृथ्वीको वजन भन्दा

तेह्र सय ग्रामको मानव मस्तिष्क

किन गह्रुँगो छ ? 

 

यही बुद्धिको तौलले ? 

यही सिर्जनाको वजनले ?

 

हो, चराका टाउकाहरू ससाना छन् 

किटपतङ्का टाउका ससाना छन् 

पुतलीका टाउकाहरू त झन् मसिना छन् 

केही जनावरका टाउकाहरू पनि हलुका छन्

तर मानिसलाई 

किन हात्तीको दाँत गह्रुँगो 

तर टाउको 

मानिसको भन्दा धेरै हलुका लाग्छ ?

किन गैँडाको खाग गह्रुँगो 

र टाउको 

मानिसको भन्दा निकै हलुका लाग्छ ?

 

किनभने मानिसको टाउकोसँग बम छ 

विध्वंसको बम 

अहङ्कार, स्वार्थ र आक्रोशको बम

किनभने मानिसको टाउकोसँग बम छ

शासक बम….! 

 

किनभने मानिससँग मात्र छ झुटो कथा रच्ने खुबी

कि पृथ्वीको अधिपति केवल मानिस हो । 

कि पृथ्वीको शासक केवल मानिस हो । 

 

पृथ्वीको सम्पूर्ण वजनभन्दा 

तेह्र सय ग्रामको मानव मस्तिष्क

किन महँगो छ ? 

 

किनभने 

छयासी बिलियन न्युरोनका तारजालीहरू भएको 

कुनै एक मानव मस्तिष्क सट भयो भने 

पूरा पृथ्वी पड्किन्छ । 

 

हिटलर न्युरोनहरू सट भए 

यहुदीहरू मारिए ।

 

स्टालिन न्युरोनहरू सट भए 

रुसीहरू मारिए । 

 

कुनै एक अमेरिकी न्युरोन सर्ट हुन्छ 

र इराक ध्वस्त हुन्छ ।

र अफगानिस्तान ध्वस्त हुन्छ । 

र सिरिया ध्वस्त हुन्छ ।

 

पुटिन/जेलेन्स्की न्युरोन सट हुन्छ

युक्रेन ध्वस्त हुन्छ । 

 

हाम्रा बुद्धि र सिर्जना सट हुन्छन् 

र हाइ भोल्टेज करेन्ट लागेको मानिसझैँ 

पृथ्वी पछारिन्छ र मुर्छा पर्छ । 

 

मेरो प्यारो सन्तान 

मैले त पृथ्वीलाई हिमालको थाप्लोबाट 

झरिरहेका हिमनदीहरूमा देखेँ 

जो बग्दैबग्दै समुद्रसम्म पुग्थे…! 

 

मैले त पृथ्वीलाई घना जङ्गलमा बाँचिरहेका 

रुख पातहरूको हरियालीमा भेटेँ 

जनावर, कितपतङ्ग र चराका आँखाहरूमा देखेँ….!

 

तिमीले पृथ्वीलाई कहाँ देख्यौ ? 

माफ गर मेरो प्यारो सन्तान 

मैले तिमीलाई यो प्रश्न त्यतिबेला सोधिरहेको हुनेछु  

जतिबेला 

पृथ्वी अस्पतालको अपरेसन थिएटर हुनेछ !

 

  • सर्दी

विकास बाबु 

तिमीलाई कस्तो छ ?

मधेसलाई सर्दी लागेको छ । 

 

अब कुरा गर्दागर्दै मानिसका आवाजहरू जम्नेछन् 

बहँदाबहँदै हावा जम्ने छ

बग्दाबग्दै नदी जम्ने छ । 

चुलोमा बलिरहेको आगो जम्ने छ । 

 

अब मुटु जम्ने छ छातीको देब्रे कोठामा  

रगत जम्ने छ शरीरको हाँगा हाँगामा  

कसरी गुहार माग्ने हामीले ?

चिच्याऊँ भनेपनि 

घाँटीसम्म आएर आक्रोश जम्ने छ । 

 

आत्महत्याको लागि कतै पुलबाट हाम फालौँ कि ? 

तर लाग्दैछ- शरीर हावामै जम्नेछ । 

पृथ्वीको गुरुत्व बल जम्ने छ । 

 

यस्तो लाग्दैछ- 

मुखसम्म आएर प्राण जम्ने छ । 

 

विकास बाबु 

तिमीलाई कस्तो छ ?

मधेसलाई सर्दी लागेको छ ।

 

यो मधेसमा 

हतियार बोकेर आउँछन् हरेक वर्ष

सिमापारीबाट डाँकाहरूको हुल 

र रित्ता बाकस, भकारी र घरसँग क्रोधित बनेर

बन्दुक पड्काउँदै फर्किन्छन् । 

यहाँ आउन बिराउने त अनाजको मूल्य हो, अस्पताल हो 

यहाँ आउन बिराउने त नागरिकता हो, अमन हो 

आउनु पर्नेले पर्खाइरहने 

र नआउनु पर्नेले तर्साइरहने यो मधेसमा 

तीन हत्यारा छन्, जो नबिराई आइरहन्छन्-

लु 

बाढी

र शीतलहर । 

 

अहिले शीतलहर आएको छ ।

 

आउन त 

नबिराई आउँछन् आन्दोलन पनि मधेसमा ।

विद्रोहको भुसमा आगो सल्किन्छ

रङ्गभेद विरुद्ध मुठी उठ्छ 

कहिलेकाहीँ भाला र बन्चरा लिएर सडकमा उत्रिन्छन् मानिसहरू

मितेरी पुलमा ढुङ्गाको असिना बर्सिन्छ 

देशै विरुद्ध नाकाबन्दी पनि चल्छ 

सभा चल्छ । शब्दहरूको पटाका पड्किन्छ ।

कहिलेकाहीँ

भाषण कानबाट छिर्छ र पाखुराबाट निस्कन्छ । 

 

आउन त 

नबिराई आउँछन् चुनाव पनि मधेसमा 

मानिसहरू मतपेटिकामा आफ्नो भविष्य जम्मा गर्छन् । 

मानौँ ती बाकस होइनन्

मानिसहरूले सपना जम्मा गर्ने बैंक खाता हुन् । 

चुनाव परिणाम आउँछ 

विजेता बन्छन्- पहिचान यादव, सङ्घीय ठाकुर र समावेशी महतो 

देहात खुसीले अबिर जात्रा गर्छ । 

तर जब माला र अबिर लगाएर राजधानी छिर्छ चुनाव

ऊ फेरी मतपेटिका अघि नलगाएसम्म 

कहिल्यै मधेस फर्किन्न  । 

 

विकास बाबु

कसैले नपत्याए पनि 

यो राज्यलाई अरूले जत्तिकै माया गर्छौँ हामी पनि 

र माया गर्छौँ तिमीलाई पनि ।

तर तिमी किन बोल्दैनौँ ? 

भन तिमी दरबारको कुन कुनामा निदाइरहेछौ ? 

वा प्रदेश सरकारको कुन फाइलमा उँघिरहेछौ ?

बाबा भन्थे, 

'विकाश फाइलमा जन्मिन्छ, फाइलमा च्यापिन्छ र फाइलमै मर्छ !' 

के तिमी मरिसक्यौ ? 

वर्षौँदेखि पर्खिरहेछौँ हामी तिमीलाई 

मधेसलाई सर्दी लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप