बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपासँग एकताका लागि उज्यालो नेपालको प्रस्ताव : चुनाव चिह्न ‘घण्टी’ मान्छौँ, कार्यकारी वरिष्ठ उपाध्यक्ष चाहियो

शनिबार, १३ मङ्सिर २०८२, १४ : २९
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीले रास्वपासँग पार्टी एकता र सहकार्यको लागि निरन्तर संवाद गरिरहेको जनाएको छ।
  • उज्यालो नेपाल रास्वपाको चुनाव चिह्न घण्टी लिएरै अघि बढ्न तयार रहेको छ।
  • रास्वपाले पटक-पटक नयाँ सर्त राखेका कारण सहकार्यको सम्भावना सुनिश्चित हुन सकेको छैन।

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता र सहकार्यका लागि निरन्तर संवाद भइरहेको जनाएको छ ।

पार्टीका प्रवक्ता डा. राजु थापाले लामो समयदेखि रास्वपासँग सहकार्यको प्रयास भइरहेको तर रास्वपाको सर्तका कारण निष्कर्षमा पुग्न नसकिएको रातोपाटीलाई बताए । 

डा. थापाका अनुसार उज्यालो नेपाल पार्टी रास्वपाको चुनाव चिह्न घण्टी लिएरै अघि बढ्न तयार रहेको छ। एकता प्रक्रियामा पार्टीको नाम मिलाएर जाने, चुनाव चिह्न रास्वपाकै राख्ने र केन्द्रीय समितिलाई समायोजन गर्ने मोडालिटीमा छलफल भइरहेको उनको भनाइ छ । 

dr-thapa
डा‍. राजु थापा

नेतृत्व व्यवस्थापनको सवालमा भने उज्यालो नेपालले ’कार्यकारी भूमिका सहितको वरिष्ठ उपाध्यक्ष’ पद सिर्जना गरेर जानुपर्ने प्रस्ताव अघि सारेको छ ।

प्रवक्ता थापाले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता हुन ढिलाइ हुनुको एउटा प्रमुख कारण रास्वपासँगको अनौपचारिक संवाद नै रहेको बताए । पार्टी दर्ता भइसकेपछि पनि आफूहरूले संवादलाई निरन्तरता दिएको उनको भनाइ छ ।

तर, वार्ता सकारात्मक हुँदाहुँदै पनि रास्वपा पक्षबाट पटक–पटक नयाँ सर्तहरू आउने गरेको गुनासो उज्यालो नेपालले गरेको छ। प्रवक्ता थापाले भने, ‘रास्वपाले पटक–पटक एकपछि अर्को सर्त राखिरहेकोले अझै सहकार्यको सम्भावना सुनिश्चित हुन सकेको छैन ।’

उनले आफूहरू अझै अर्थपूर्ण संवाद र सहकार्यको प्रयासमा रहेको बताए । यसैबिच उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ ।  पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि घिसिङ रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप