शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जनसहभागिताको उत्कृष्ट नमुना

वडाबासीले बनाइदिए जेनजी आन्दाेलनमा क्षतिग्रस्त वडा कार्यालय

शनिबार, १३ मङ्सिर २०८२, १५ : ४२
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • पोखरा महानगरपालिका वडा नम्बर १३ को कार्यालयमा आगजनी र तोडफोड भएपछि स्थानीयले भवन पुनःनिर्माण गरे।
  • ६६ दिनमा वडाबासीको सक्रियतामा २७ लाखको लागतमा भवन निर्माण सम्पन्न भयो, र हस्तान्तरण गरियो।
  • भवन निर्माणका लागि स्थानीय टोल विकास संस्था, क्लब, र विदेशमा रहेका नागरिकहरूले आर्थिक सहयोग गरे।

पोखरा । गत भदौ २४ गते पोखरा महानगरपालिका वडा नम्बर १३ को कार्यालयमा आगजनी र तोडफोड भयो । अपरिचित व्यक्तिहरू आएर आगजनी गरेपछि कार्यालय जलेर ध्वस्त भयो । 

स्थानीयले जोगाउने प्रयास नगरेका होइनन्, सफल भएनन् । कार्यालय जलेपछि नजिकै रहेको टहराबाट वडाले सेवा सुचारु गर्‍यो ।

सेवासँगै कार्यालय भवन निर्माणका लागि वडाबासी जम्मा भए, आफै समिति बनाए । ६६ दिनमा पहिलेभन्दा राम्रो कार्यालय तयार गरेर हस्तान्तरण गरे ।

शनिबार स्थानीयले तयार गरेको वडा कार्यालय हस्तान्तरण गरिएको हो । साढे २७ लाख लागतमा भवनको पुनः निर्माण गरिएको निर्माण समितिका संयोजक खुसीमान गुरुङले जानकारी दिए ।

‘यत्रो पैसा कसरी जुट्ला भन्ने लागेको थियो । तर भवन निर्माण सुरु गरेपछि जनताहरू आफै आएर सहयोग गरे,’ उनी भन्छन्, ‘अन्तिममा पैसा धेरै भएर नदिनुस् भन्नुपर्ने अवस्था आयो ।’ भवन बनाउन २७ लाख ५८ हजार खर्च भएकोमा त्यो भन्दा धेरै २८ लाख ९६ हजार रकम उठेको उनले जानकारी दिए । कात्तिक १९ गतेदेखि सहयोग रकम नउठाइएको उनले बताए । ‘अहिलेसम्म उठाएको भए ५० लाख उठिसक्थ्यो । धेरै पैसा उठाएर के गर्नु ?,’ उनले भने, ‘कोही सहयोग गर्छु भनेपनि हामीलाई आवश्यक परेन भनेर फर्कायौँ ।’ जनता नै जुटेर कार्यालय तयार गरेको पोखराको पहिलो वडा हो, १३ नम्बर । अहिले वडा कार्यालय पहिलाको भन्दा पनि चिरिच्याट्ट छ ।

भवन हस्तान्तरण कार्यक्रममा सहयोगीदाताहरु सबैलाई निर्माण समितिले खादा लगाएर सम्मान गर्‍यो । वडाभित्र रहेका टोल विकास संस्था, विभिन्न महिला समूह, युवा क्लबदेखि व्यवसायी र सर्वसाधारण नागरिकले समेत आर्थिक र जिन्सी सहयोग गरेका छन् । विदेशमा भएका वडाका नागरिकहरूले पनि सहयोग रकम पठाएका पुनः निर्माण समितिका कोषाध्यक्ष केदार राज सिग्देल बताउँछन् ।

‘आन्दोलनमा जलेपछि हाम्रो वडा हामीले नै बनाउनुपर्छ भन्ने भावनाका साथ हामी जुट्यौँ । एउटा समिति गठन भयो,’ उनी भन्छन्, ‘सार्वजनिक रूपमा अपिल नै नगरी धमाधम पैसा आउन थाल्यो । छुट्टै बैंक खाता खोलेर निर्माण सुरु गर्‍यो । सरकारलाई आवश्यक पर्दा जनताले पनि साथ दिन्छन् भन्ने यो बलियो उदाहरण भएको छ ।’

भवन हस्तान्तरणसँगै अब नयाँ भवनबाटै सेवा सुरु हुने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘आन्दोलन चाहिँ सरकारप्रति रुष्ट भएर जनताले गरे । व्यापक आगजनी र तोडफोड पनि भयो । तर, हाम्रो वडामा जनताले नै सरकारको भवन बनाइदिए,’ उनी भन्छन्, ‘यस्तो उदाहरणीय कामको लागि सबैप्रति आभार व्यक्त गर्छु । हामीले जनताको विश्वास बटुलेका रहेछौँ भन्ने लागेको छ ।’ 

भवन बनाउन ४४ वटा टोल विकास संस्थाबाट १२ लाख २३ हजार ५ सय ३९ रुपैयाँ उठेको थियो भने जनप्रतिनिधिहरूले आफै ६० हजार २ सय ११ सहयोग गरे । क्लब, समाज र सहकारी तथा समितिहरूले ३ लाख ५२ हजार १ सय ८१ रुपैयाँ दिए । ५१ जनाले व्यक्तिगत रूपमा सहयोग गरेका थिए । उनीहरूबाट ५ लाख ७९ हजार ४ सय ५ सङ्कलन भएको समितिले जनाएको छ ।

यस्तै, २१ वटा शैक्षिक संस्था र व्यावसायिक प्रतिष्ठानले ६ लाख ६० हजार ७ सय ७१ सहयोग गरेका छन् । यो रकम जिन्सीका रूपमा प्राप्त भएको कोषाध्यक्ष सिग्देलले जानकारी दिए । पुरानो सामान विक्रीबाट १० हजार, बैंकको ब्याज २ हजार ५ सय ९९ र नगदमा आएको छुट रकम ८ हजार २ सय ६४ रुपैयाँ परिचालन गरिएको उनले बताए ।

कार्यालय परिसरमा सीसीटीभी क्यामेरा जडानको काम भने बाँकी नै छ । आइतबार क्यामेरा जडान हुने वडाध्यक्ष बरालले बताए । 

जेनजी आन्दोलनका क्रममा महानगरपालिकाका २५ वटा वडा कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप