बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

आईक्यान र मणिपाल विश्वविद्यालयबीच सदस्यहरुको स्नातकोत्तर उपाधिसम्बन्धी समझदारी

आइतबार, १४ मङ्सिर २०८२, १६ : ३६
आइतबार, १४ मङ्सिर २०८२

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास, स्रोत साधनको आदानप्रदान तथा संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो समझदारी गरिएको हो । 

ललितपुरको सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा आईक्यानका तर्फबाट संस्थाका तर्फबाट संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालय जयपुरका तर्फबाट अध्यक्ष डा. नीति निपुण शर्माले हस्ताक्षर गरे ।

यो सम्झौताले दुई संस्थाबीच सहकार्यका लागि शैक्षिक पहुँच तथा योग्यताको पारस्परिक मान्यता, संयुक्त अनुसन्धान र शैक्षिक विकास, विशिष्टीकृत शैक्षिक मोड्युल, स्रोत–साधनको पहुँच, प्राध्यापक, विशेषज्ञ तथा विद्यार्थी आदान–प्रदान लगायत प्रयोजनको लागि संयुक्त समन्वय संयन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको आईक्यानले जनाएको छ । 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले यसलाई एउटा उत्कृष्ट पहलको संज्ञा दिए । उनले आइक्यानले यसलाई उच्च प्राथमिकतामा राखेको भन्दै यो समझदारीले आइक्यानका सदस्यहरुले आफ्नो शैक्षिक तथा अनुसन्धानउन्मुख करिअरलाई थप विकास गर्ने अवसर पाउने बताए ।

मणिपाल विश्वविद्यालयका अध्यक्ष डा. नीति निपुण शर्माले आइक्यानसँग यो साझेदारीलाई औपचारिकता दिन पाउनु खुसीको विषय भएको बताए । ‘आइक्यानले स्थापित गरेको उच्च शैक्षिक र व्यावसायिक मानकले एमयूजेलाई आइक्यानका पेशाकर्मीहरुको क्षमतालाई मान्यता दिँदै आफ्ना कार्यक्रमहरूमा एक वर्षको छुट दिन सक्षम बनाएको छ’ उनले भने, ‘हामी एमयूजेमा आइक्यानका प्रतिनिधिलाई एमयूजेमा गेस्ट लेक्चरको रुपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहज बनाउन तत्पर छौं । यो त सुरुआत मात्र हो, हामीले यो कार्यक्रमलाई विस्तार गर्ने र प्रभावकारी तरिकाले अगाडि बढाउने परिकल्पना गरेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप