एनआरएनएलाई 'पशुपतिनाथ मन्दिर' जस्तै साझा थलो बनाउनु पर्छ : शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले संघलाई पशुपतिनाथ मन्दिरजस्तै सबैको साझा थलो बनाउनुपर्ने बताएका छन्। संघको ऐतिहासिक एकता घोषणापछि आइतबार बालुवाटारस्थित सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले अब संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए।
शर्माले एनआरएनए अर्बपतिहरूको मात्र नभई खाडीमा पसिना बगाउने सामान्य श्रमिकको पनि उत्तिकै अपनत्व हुने संस्था बन्नुपर्ने धारणा राखे।
उनले भने, 'यो संस्था अर्बपति नेपालीको मात्र होइन, खाडीमा महिनाको ५०० रियाल कमाउने श्रमिकको पनि उत्तिकै अपनत्व हुने संस्था बन्नुपर्छ। बाध्यताले विदेशिएका नेपालीहरूको यो साझा मन्दिर (पशुपतिनाथ) मा धनी र गरिबको विभेद हुनुहुँदैन।'
संघको स्थापना 'पवित्र उद्देश्य' का साथ भए पनि पछिल्लो समय राजनीतिले धमिलिएको स्वीकार गर्दै उनले भने, 'हामी मन्दिर (एनआरएनए) जाँदा मदिराका बोतल (राजनीति/स्वार्थ) लिएर गएझैँ भएको आभास सबैलाई भएको छ।'
उनले पवित्र सामाजिक संस्थामा राजनीति घुसाएर विश्वभरका ८० लाख गैरआवासीय नेपालीलाई धोका दिएको भन्दै अब सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताए।
विगत चार वर्षदेखि संस्थामा देखिएको विवाद र गुटबन्दी अन्त्य गर्न १८ देखि २० घण्टासम्मको निरन्तर बैठक र डा. बद्री केसी, महेश श्रेष्ठ तथा डिबी क्षेत्रीसहितको प्रयासले एकता सम्भव भएको उनले सुनाए।
'हामीले ८० लाख नेपालीलाई धोका दिएको महसुस गरेका छौँ,' शर्माले भने, 'बल्ल-बल्ल एक ठाउँमा उभिएका छौँ, अब साना-साना कमजोरी र गल्ती गर्ने छुट कसैलाई छैन। विगत चार वर्ष कोही पनि राम्रोसँग अगाडि बढ्न सकेनौँ, अब झगडा गरेर कुनै पक्षले जित्ने अवस्था छैन।'
एकतासँगै अब संघले गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष र श्रमिकका समस्यालाई मुख्य एजेन्डा बनाउनुपर्ने शर्माको भनाइ थियो। विशेषगरी '१० अर्बको लगानी कोष' सञ्चालनमा ढिलाइ भएको र त्यसमा श्रमिकको प्रतिनिधित्व नभएकोप्रति उनले असन्तुष्टि जनाए।
'लाइसेन्स पाएको ५ वर्ष भइसक्यो तर कोष सञ्चालनमा आएन। अझ दुखद कुरा, यो कोषको बोर्डमा श्रमिक क्षेत्रको प्रतिनिधित्व नै छैन,' उनले भने, 'श्रमिकहरू 'बिचरा' होइनन्, उनीहरू लगानीकर्ता हुन्। उनीहरूको सानो-सानो पुँजी लगानी गर्ने वातावरण बनाउनुपर्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण