बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
टिप्पणी

नेकपाको एकता सन्देश सभा : नयाँपुस्तालाई आत्मसात, ओलीप्रति आक्रामक

सोमबार, १५ मङ्सिर २०८२, १९ : ३०
सोमबार, १५ मङ्सिर २०८२

१६ वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देशसभा गरेको छ । सभामा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालदेखि राष्ट्रवादी नेता भीम रावल र पहिचानवादी नेताहरू राजेन्द्र श्रेष्ठ, गोपाल किरातीसम्म एउटै मञ्चमा उभिएर एकताको मन्तव्य दिए । 

यो सभाको सबैभन्दा सबल र सकारात्मक पक्ष भनेको विभाजित कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकृत गर्ने ‘संकल्प’ थियो । मञ्चमा देखिएको शीर्ष नेताहरूको उपस्थिति र उनीहरूको अभिव्यक्तिले वर्तमान सत्ता समीकरण र विशेषगरी नेकपा एमालेको वर्चस्वलाई कडा चुनौती दिएको थियो ।
 
कार्यक्रममा एमाले मोरङका पूर्वसचिव रुपेश खतिवडा पार्टी प्रवेश गरे । २०४५ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका र बौद्धिक छवि बनाएका खतिवडाले एमालेभित्रको ‘विधिहीनता’ र ‘दासत्व’ विरुद्ध विद्रोह गरेको घोषणा गर्दै नयाँ पार्टी रोज्नुले यो एकता अभियानमा दम छ भन्ने सन्देश दियो ।

सभामा अर्को सकारात्मक पक्ष नेताहरूको नयाँ पुस्ताप्रतिको दृष्टिकोणमा आएको परिवर्तन हो । प्रायः आफूलाई सर्वज्ञानी ठान्ने पुराना पुस्ताका नेताहरूले यसपटक मञ्चबाटै जेनजी (नयाँ पुस्ता) आन्दोलनबाट आफूहरू झस्किएको र पाठ सिकेको स्वीकार गरे । साथै सभामा दुई जना जेनजी युवाहरू रोहित मण्डल र प्रीतम साहलाई मन्तव्य राख्न दिइयो । उनीहरुले पार्टीभित्र जेनजी युवाहरुको प्रतिनिधित्वलाई व्यवहारमै देखाउनुपर्नेमा जोड दिए । पार्टी संयोजक प्रचण्डले जेनजी युवाहरूलाई धन्यवाद दिँदै उनीहरूबाट सिक्न तयार रहेको बताए । ‘विचार बूढो र तन्नेरी हुँदैन, छोराछोरी र नातिनातिनासँग सिक्न थालौं,’ प्रचण्डले भने । 

विचारधाराको हिसाबले नेताहरूले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता उपलब्धिलाई उल्ट्याउन खोज्ने ‘प्रतिगामी’ शक्तिहरूविरुद्ध एकताबद्ध हुने सन्देश दिए । राजेन्द्र श्रेष्ठदेखि माधव नेपालसम्मले जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरू खतरामा परेको भन्दै त्यसको रक्षाका लागि यो एकता अपरिहार्य रहेको जिकिर गरे । 

NCP Biratnagar Program1

एकता सभाको मञ्चमा सबैभन्दा ठुलो विरोधाभास वैचारिक धरातलमा देखियो । एउटै मञ्चमा भीम रावल, गोपाल किराती र राजेन्द्र श्रेष्ठको उपस्थिति आफैंमा अन्तरविरोधपूर्ण थियो ।

एकातिर भीम रावलले ‘हामी राई, लिम्बू, मधेसी जे भएपनि पहिला नेपाली हौं’ भन्दै सैद्धान्तिक र अखण्ड राष्ट्रवादको वकालत गरे । उनले देशको सिमाना र सार्वभौमसत्तालाई सर्वोपरी राखे । तर ठीक विपरीत पहिचानवादी नेता गोपाल किरातीले ‘कोशी नाम खारेजी पार्टीको बटमलाइन’ भएको घोषणा गर्दै पहिचानविरोधी ‘प्रदेश १ बाट लखेटिने’ चेतावनी दिए । राजेन्द्र श्रेष्ठले पनि जातीय सभ्यताको आधारमा राज्य पुनर्संरचनाको कुरा उठाए ।

एमालेको ‘कोशी’ नामकरणमा हस्ताक्षर गरेर आएका भीम रावल र कोशी खारेजीलाई मुख्य एजेन्डा बनाएका किरातीबिचको यो एकता दिगो होला ? यो वैचारिक अस्पष्टताले भोलिका दिनमा पार्टीभित्र समस्या निम्त्याउन सक्ने देखिन्छ । 

मन्तव्यका क्रममा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो स्पष्ट रोडम्याप र आर्थिक कार्ययोजना प्रस्तुत गर्नुभन्दा बढी समय प्रतिस्पर्धी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्नमा पनि खर्चियो । प्रचण्डले ओलीले वृद्धवृद्धाको पार्टी भनेको र कतिपयले आफूलाई बूढो नेता भनेको विषयमा चुनौती दिँदै भने, ‘मसँग दौडिने कोही छ ? ।’ 

भीम रावलले ओलीलाई लक्षित गर्दै ‘हेलिकप्टरबाट भागेको’ विषय उप्काए । ‘उहाँलाई न देशको सुरक्षाको चिन्ता भयो, न जनताको,’ रावलले भने, ‘अहिले गुण्डु निवासबाट युवाहरूलाई धम्की दिँदै हुनुहुन्छ ।’ राजेन्द्र श्रेष्ठले पहिचान विरोधी कांग्रेस र एमालेलाई भोट दिनु ‘थारो गाईलाई घस्याउनु’ जस्तै भएको बताए । उनले जेनजी युवाहरुमाथि प्रतिकारमा उत्रिने एमालेको शैली मण्डले प्रवृत्ति भएको बताए । 

नेताहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले विगतमा आफ्ना पार्टीहरुले विपरीत ध्रुवका पार्टीहरुसँग मिलेर सत्तामा जाने कुराको विरोध गरे । तर त्यस विषयमा पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले केही खुलाएनन् । 

कार्यक्रमको मुख्य आकर्षण मानिने प्रचण्ड र माधव नेपाल बोल्ने समयमा अधिकांश सहभागीहरू घर फर्किसकेका थिए । लामो र भद्दा कार्यक्रम भएको कारण अन्तिम समयमा कार्यकर्ताहरु लाखापाखा लागेका थिए । माधव नेपालले भाषण गर्दागर्दै प्रचण्डले ‘मान्छे त हिँडे’ भनेर कानेखुसी गरेको प्रसंगै सुनाएका थिए । नेपालले ‘कुर्सीलाई भए पनि सुनाउँछु’ भन्दै भाषण सुरु गरेका थिए । 

‘उहाँले मेरो कानमा खुसुक्क भन्दै हुनुहुन्थ्यो, कुर्सी त खाली खाली छ त । ठीकै छ, कुर्सीलाई भए पनि सुनाउनुपर्‍यो,’ नेपालले भने । उनले नयाँ पुस्ता (जेनजी) को आकर्षण आफ्नो पार्टीमा रहेको दाबी गर्दै आगामी चुनावमा सबैभन्दा ठुलो शक्ति बन्ने जिकिर गरे । यद्यपि एकता सन्देश सभामा बोल्ने नेताहरुले एकताका कुरा र अनेकताका कुरा दुवै गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप