बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको नौ अर्ब ६३ करोड लगानी

मङ्गलबार, १६ मङ्सिर २०८२, ०९ : ५७
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकले नौ अर्ब ६३ करोड लगानी गर्ने भएका छन्।
  • आयोजनाबाट वार्षिक ३६६.४८ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने लक्ष्य छ।
  • निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

काठमाडौँ । मनाङमा आयोजनास्थल रहेको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् ।

नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । हिमाली जिल्ला मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१ दशमलव ११ मेगावाट बिजुली उत्पादन गरिनेछ ।

आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्नेगरी सोमबार लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नारखोला जलविद्युत् आयोजनाको ग्रसहेड ५८८ दशमलव ८२ मिटर रहनेछ भने आयोजनाबाट वार्षिक ३६६ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाले वार्षिक रु दुई अर्ब १० करोड बराबरको बाँधका संरचना नार्पा भूमि गाउँपालिकामा र विद्युत्गृह नासो गाउँपालिकामा निर्माण हुनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित धारापानीमा निर्माणाधीन सवस्टेसनमा जोडिने छ ।

आयोजनाको कूल लागत रु १२ अर्ब ८४ करोड रहेकामा बैंकले रु नौ अर्ब ६३ करोड लगानी गर्नेछन् । यस्तै, लगानीकर्ताले स्वपुँजीका रूपमा रु तीन अर्ब २१ करोड लगानी गर्नेछन् । स्वपुँजीमा सिँगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनाले पहुँचमार्ग निर्माण सुरु गरिसकेकाले आगामी तीन महिनाभित्र मुख्य संरचना निर्माण सुरु गरी तीन वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप