बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पुराना दल सत्ताकै गोलचक्करमा, तेस्रो राजनीतिक ध्रुवको उदय कति सम्भव ?

मङ्गलबार, १६ मङ्सिर २०८२, १० : ५५
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भयो, तर समीक्षा बास्कोटाले यसलाई विलय नभई 'प्रलय' भएको बताइन्।
  • एकता सभामा दुवै पक्षले पाँचबुँदे सहमति पत्रमा हस्ताक्षर गरे, तर विवेकशील साझाको लिगेसीको प्रमाण भेटिएन।
  • विश्लेषकहरूका अनुसार, नयाँ दलहरूबाट वैकल्पिक तेस्रो ध्रुवको सम्भावना कम देखिएको छ, र पुरानै दलहरूको प्रभाव रहने सम्भावना छ।

काठमाडौँ । नेपालमा वैकल्पिक राजनीतिको सूत्रधार मानिने विवेकशील साझा पार्टी आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विलय भयो । यद्यपि साविक विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले रास्वपामा विलय भएको आरोपलाई खण्डन गरिन् । 

राष्ट्रियसभा गृहमा भएको एकता सभामा दुवै पक्षले हस्ताक्षर गरेको पाँचबुँदे सहमति पत्रमा एजेन्डा बाहेक विवेकशील साझाको लिगेसी अस्तित्वमा प्रमाण भेटिँदैन । सभा हलमा भरिभराउ नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकमाझ भएको एकता घोषणामा बास्कोटाले आरोपबारे प्रष्टीकरण दिएकी थिइन् ।

बास्कोटाले भनेकी थिइन्’, ‘कतिले भन्नुहुन्छ- तपाईँहरू विलय हुनुभयो । होइन हजुर यो विलय होइन, यो प्रलय हो । फागुन २१ मा जुन मतक्रान्ति हुन्छ, त्यसको लागि विलय हुन जरुरी छ । विलय भएपछि न प्रलय हुन्छ !’

विवेकशील नेपालीको पृष्ठभूमिबाट आएका रास्वपा सचिवालय सदस्य विराजभक्त श्रेष्ठले एकताको अर्थ केवल औपचारिक एकीकरण मात्र नभई वैकल्पिक राजनीतिक आन्दोलनको अर्को चरणमा प्रवेश गरेको जिकिर गरे ।

‘वैकल्पिक राजनीतिक आन्दोलनको अर्को चरणमा प्रवेश गरेको घोषणा गर्दछु । देश जहिले पनि दुईवटा ध्रुवमा बाँडिराखेको हुने, कहिले वाम गठबन्धन कहिले के गठबन्धन हुने, तर आज यसले ठुलो सन्देश दिएको छ’, श्रेष्ठले भने, ‘सुसंस्कृत तरिकाले तेस्रो ध्रुव पनि देशमा उदायो । तेस्रो ध्रुवको उदयले राजनीतिलाई सन्तुलित बनाउनेछ । राजनीतिक, सांस्कृतिक र सामाजिक अन्तरविरोधलाई यसले सम्बोधन गर्दै अगाडि बढ्छ भन्ने म पनि संकल्प गर्न चाहन्छु ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको २० वर्षसम्म नेतातन्त्र र दलतन्त्रको गोलचक्करमा फसेको देशको राजनीति भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा विस्फोट भयो । जेनजी विद्रोहले आशा र निराशा दुवै पाटाबाट राजनीतिक वृत्तमा चर्चा भइराखेको छ । आशा यस अर्थमा कि वर्षौंसम्म कांग्रेस र कम्युनिस्टका एउटै व्यक्तिले राज्य संयन्त्र कब्जा गरिराखेको अवस्थामा जेनजी विद्रोहले निकम्मा बनाइदियो ।

नयाँ पुराना सबै राजनीतिक दलको सांगठनिक संरचना नै खलबलाई दिएको छ । दलतन्त्रको आडमा मौलाएको भ्रष्टाचार र बेथिति अन्त्य गर्न जेनजी विद्रोहले तेस्रो वैकल्पिक राजनीतिको उदय हुने विश्लेषण भइरहेको छ । तर असंगठित युवाहरूको विद्रोहपछि राजनीतिमा जुन खालको शून्यता देखा परेको छ, त्यसले आगामी निर्वाचनमा पुरानै राजनीतिक दलहरू फर्किने हो कि भन्ने संशय पनि त्यत्तिकै छ । जेनजी विद्रोहले पुरानो राज्यसत्ता त ढल्यो, तर वैकल्पिक धारको नेतृत्व दिनसक्ने गरी भरपर्दो वैकल्पिक शक्ति आउन नसक्दा आगामी निर्वाचनबाट आउने संसद् झन् अस्थिर बन्न सक्ने जोखिम त्यत्तिकै छ । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि १२० दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । तीमध्ये १०८ दल पुरानै रहेका छन् । विश्लेषक डम्बर खतिवडा परम्परागत लिगेसी बोकेका कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीको भोट बढ्न सक्ने सम्भावना नरहेको बताउँछन् । 

‘कांग्रेस–एमालेको पनि २० प्रतिशत भन्दा बढी भोट बढ्दैन । कुनै एउटा पार्टीले पूरै बहुमत पनि ल्याउँदैन । खेर जाने समानुपातिक भोट १०–१२ प्रतिशत हुन सक्छ । सबैको टुक्रे–टुक्रे भएर एउटा चुनाव यसरी नै जाने सम्भावना देखिन्छ ,’ उनी भन्छन्, ‘यो चुनावको अनुभवपछि बल्ल ध्रुवीकरण हुने सम्भावना देखिन्छ ।’

अहिलेकै स्थितिमा नयाँ दलहरूमध्येबाट वैकल्पिक तेस्रो ध्रुवको सम्भावना नदेखिएको खतिवडाको विश्लेषण छ । विगतमा रास्वपाले वैकल्पिक राजनीतिको केन्द्र बन्न सक्ने सम्भावना देखाएको, तर पुरानै पार्टीको सत्ता साझेदार भएकाले त्यो अवसर गुमाएको खतिवडा बताउँछन् । 

‘रास्वपा वैकल्पिक राजनीति भिन्नै केन्द्र बन्न सक्थ्यो तर अवसर गुमायो । किनभने ऊ पुरानै पार्टीको सत्ताको साझेदार हो भनेर व्यवहारमा देखियो’, उनी भन्छन्, ‘अर्को कुरा रवि लामिछानेले व्यक्तिगत रुपमा ठगी गरेको राजनीतिमा को हिँड्छ ? त्यहीँ बसेकालाई बाध्यता होला । नयाँ मान्छे त्यहाँ किन जान्छन् ? गएपनि आत्मसर्मपण गरेर जान्छन् । हर्क, बालेन, सुदन, कुलमानको समर्थन नभइसकेपछि रास्वपाको भोट बैंक हिजोको बिन्दुमा पनि रहँदैन ।’

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनको पाँच महिनाअघि मात्रै खुलेको रास्वपाले २१ सिट जितेको थियो । समानुपातिकतर्फ ११ लाख ३५ हजार मत पाएर चौथो राजनीतिक दलमा स्थापित भएको थियो । अहिले रास्वपाले वडा तहसम्म संगठन विस्तार गरिसकेको छ ।

निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भएर सहभागी भए । दुईपटक गरी महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पार्टीलाई दिलाए । पहिलो पटक नागरिकता प्रकरणमा अदालतबाट दोषी ठहर भएका रविले ४५ दिनमै सरकार छोड्नु परेको थियो । सांसद पद पनि गुमाएका थिए ।

दोस्रो पटक प्रचण्ड सरकार नै ढलेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । केपी ओली नेतृत्वको कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले सहकारी ठगी गरेको आरोपमा अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दा विभिन्न अदालतमा विचाराधीन अवस्थामा छ । रवि अहिले नख्खु कारागारमा छन् । जेनजी विद्रोहको क्रममा कारागार प्रशासनको अनुमति नलिई बाहिरिएको, देशभरका कैदीबन्दीलाई भगाउन प्रेरित गरेको आरोपबाट समेत रवि मुक्त हुन सकेका छैनन् ।

राजनीतिक विश्लेषक डा. भाष्कर गौतम गत चुनावमा स्वतन्त्र या रास्वपाबाट केही शक्ति उदाएर साङ्गठनिक विकल्प दिएपनि राजनीतिक आइडियोलोजीको हिसाबले तेस्रो वैकल्पिक धार बन्ने अवस्था नदेखिएको बताउँछन् । 

images

‘त्यो लोकतान्त्रिक चिन्तनको विकल्प हो या अरू किसिमले भन्दा समाजवादी चिन्तनको विकल्प हो भन्ने खालकै नै स्थिति अहिले म त्यति देख्दिनँ’, गौतम भन्छन्, ‘जसरी लोकतान्त्रिक चिन्तन या समाजवादी चिन्तनभित्र टेक्नोक्र्याटहरू हाबी छन्, त्यसरी नै यिनीहरू पनि त्योसँग अलि सुशासनको रिपरको टेक्नोक्र्याटहरू मात्रै हुन् ।’

सङ्कटको ठाउँमा दल विस्थापित हुने भन्दा पनि अब कस्तो किसिमको राजनीतिक संस्कार, चिन्तन र विचारधाराको उदय हुन्छ भन्ने हिसाबले अहिले अलिकति खाली ठाउँ जस्तो देखिएको गौतमको विश्लेषण छ । तर त्यो ठाउँ कसले लिन्छ भन्नेमा कांग्रेस, एमाले वा माओवादी हट्दैमा अर्कोले त्यो विचारधाराकै विस्थापन गर्ने अवस्थामा नपुगिसकेको उनी बताउँछन् । 

प्राध्यापक लोकराज बराल रास्वपा मात्र होइन, अहिलेको अवस्थामा काठमाडौँ महानगरपालिकाका मेयर बोलन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ, कुलमान वा अन्य नयाँ समूहबाट पुराना दललाई धक्का दिने अवस्था नदेखिएको जिकिर गर्छन् । 

‘एउटा बत्ती बाल्दियो भन्दैमा कुलमान आउने, हर्क साम्पाङ अस्ति प्रधानमन्त्री बन्न कुदेर आएकाले आफ्नो रुप देखाइसकेकै छन् । व्यक्ति आफैं केही होइन, निर्वाचनमा दुई-चार सिट ल्याउलान् तर त्यसले राष्ट्रिय राजनीतिलाई फरक पार्दैन । केही भोट काटिएला, तर धेरै ठुलो हाँक हुँदैनन्’, बरालको विश्लेषण छ ।

अहिले राजनीति विचार र सिद्धान्तको नभई स्वार्थको ध्रुवीकरणमा गएको बराल बताउँछन् । यद्यपि जेनजी विद्रोहपछि पुराना राजनीतिक दलहरू हल्लिएको उनको बुझाइ छ ।

‘जेनजी विद्रोहपछि राजनीतिक दलहरूलाई हल्लाएको छ । सधैं ठग्ने बाटोमा लाग्नु हुँदैन, मार्ग परिवर्तन गर्नुपर्छ भन्ने चेत आएको छ । अलिकति राजनीति हल्लिएको छ, तर कति दीर्घकालीन हुन्छ भन्ने अवस्था छैन’, उनी भन्छन् । 

कांग्रेसले पुस अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरिसकेकाले चुनावअघि नै नयाँ नेतृत्व आएर राजनीतिक परिदृष्य बदलिन सक्ने बरालको विश्लेषण छ । आगामी दिनमा पनि कांग्रेस र एमाले नै राष्ट्रिय राजनीतिको केन्द्र बिन्दुमै रहन सक्ने उनी जिकिर गर्छन् । ‘अब आउने पनि कांग्रेस र कम्युनिस्ट नै हुन् । योपटक केही कम भोट आउन सक्छ,’ उनी भन्छन् । 

तर एमालेमा सच्चिने छाँटकाँट नदेखिएको बराल बताउँछन् । ‘एमालेमा केपी ओली र ईश्वर पोखरेलबिच सैद्धान्तिक केही भिन्नता छैन । पुरानो भोट ब्याङ्कले मात्र काम गर्दैन । नयाँ पुस्ताले भोट हाल्छन् जस्तो मलाई लाग्दैन’, उनको विश्लेषण छ ।

२००७ सालको क्रान्तिपछि पञ्चायती शासनकाल (२०१७–२०४६) बाहेक सत्ता राजनीतिमा कांग्रेस र कम्युनिस्टकै हालीमुहाली छ । बिचबिचमा नानीमैयाँ दाहाल प्रवृत्ति (२०३८ सालको निर्वाचनमा दलका नेतालाई अत्यधिक मतले हराएकी) ले नेतातन्त्र र दलतन्त्रलाई हल्लाए पनि स्थायी वैकल्पिक शक्ति निर्माण हुन सकेको थिएन । २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरेपछि राजनीतिमा कांग्रेस र एमालेको सिण्डिकेट तोड्न नेकपा माओवादीले २०५२ सालमा तत्कालीन शाही सत्ता विरुद्ध सशस्त्र विद्रोह गर्‍यो ।

२०६२/०६३ सालमा कांग्रेस, एमाले लगायत सात दलसँग मिलेर माओवादीले राजतन्त्र ढाल्न सफल भयो । तर माओवादीले पनि विकल्प दिन सकेन । राजनीतिमा प्रधान शत्रु करार गरेका तीनै शक्तिसँग मिलेर आलोपालो सत्ताको खेलमा हराउँदा वर्गीय मुद्दा भुल्यो । क्रान्तिबाट स्थापित भएका माओवादी नेताहरू नै भ्रष्ट र तस्करसँग मिलेर राजनीतिक सौदाबाजी गरेको आरोप लागेको छ । 

भ्रष्टाचार र बेथिति विरुद्ध उज्ज्वल थापाले २०६९ सालमा वैकल्पिक राजनीतिको नयाँ अध्याय सुरु गरे । तराई-मधेसमा मधेस आन्दोलन र पश्चिममा थरुहट आन्दोलन भयो । उज्ज्वल थापाले खोलेको विवेकशील नेपाली अभियानबाट २०७४ सालको निर्वाचनमा परम्परागत दलहरूको क्याम्प हल्लायो । त्यतिबेला देशभरबाट झण्डै दुई लाख मत थापा नेतृत्वको विवेकशील साझा पार्टीले प्राप्त गरेको थियो । 

निर्वाचनअघि पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकता गरी वैकल्पिक राजनीतिलाई थप बलियो बनाउने अभियानमा थापा लागेका थिए । एकतापछि बनेको विवेकशील साझा पार्टीभित्र थापा र मिश्र पक्षबिच द्वन्द्वका कारण सुसंस्कृत वैकल्पिक राजनीतिको दियो बालेको पार्टी छिन्नभिन्न हुँदै १२ वर्षपछि अस्तित्व नै गुमायो ।

थापाले सुरु गरेको अभियानबाट प्रेरित भएर डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति अभियान चलाए । रवि लामिछानेले सञ्चार कर्म छोडेर रास्वपा स्थापना गरे । काठमाडौँमा बालेन, धरानमा हर्क, सुदूरपश्चिममा गोपी हमाल, रेशम चौधरी, तराई-मधेसमा डा. सीके राउत जस्ता व्यक्ति स्थापित भए । रास्वपा पहिलो प्रयासमै संसद्को चौथो ठुलो दल बन्यो भने चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र राउत अध्यक्ष रहेको जनमत पार्टीले स्थापना भएको छोटो समयमै तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल भए । 

तर केहीमा वैचारिक अस्पष्टता, केहीमा सैद्धान्तिक विचलन र केही दलमा आन्तरिक गुटबन्दी व्याप्त हुँदा राष्ट्रिय राजनीतिमा विकल्प दिन असफल भए । आफूलाई वैकल्पिक राजनीतिको मूलधार भएको दाबी गर्ने यिनै दलहरूबाट तेस्रो ध्रुवको जन्म हुने सम्भावना नदेखिएको विश्लेषक खतिवडा बताउँछन् । 

‘रास्वपाले आफूलाई तेस्रो ध्रुवको मुख्य शक्ति दाबी गर्न पाउने भयो । चुनावपछि उसको दाबी देखिन्छ । अहिलेसम्म बाबुरामको नयाँ शक्ति असफल भयो । विवेकशील साझा पार्टी फेल भयो । मधेसमा सीके राउतको जनमत पार्टी फेल भयो । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी फेल भयो । त्यसैले रास्वपा पनि वैकल्पिक शक्तिको केन्द्र भएको भए हर्क, कुलमानको भिन्नै पार्टी किन बन्ने थिए ?’ खतिवडाको प्रश्न छ ।

जेनजी विद्रोहपछि एक ठाउँमा आउने अनुमान गरिएका बाबुराम, रवि, सीके, रेशम, बालेन, हर्क, गोपी, कुलमान, सुदन लगायत विभिन्न जेनजी समूहबिच देखिएको शक्ति संघर्षले पनि खतिवडाको तर्कलाई नजरअन्दाज गर्न सकिँदैन । कम्तीमा रवि, बालेन, कुलमान र हर्कलाई एक ठाउँमा ल्याउन तीन महिनादेखि लगातार प्रयास भएपनि सफल हुन सकेको छैन । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी पार्टीलाई नै कब्जा गर्ने उद्देश्यले गतिविधि हुन थालेपछि एकता सम्भव नभएको जिकिर गर्छन् । 

‘रास्वपा वैकल्पिक राजनीतिको मूल धार हो । किनकि हामीले विघटित संसदमा २१ सिट जितेर चौथो शक्तिमा स्थापित भइसकेका छौँ’, उनी भन्छन्, ‘हामीले एउटै छातामुनि ल्याउन कुलमानजी, बालेनजी लगायत नयाँ खुलेका १२ वटा दलसँग छलफल गरिराखेका छौँ । पार्टी नै कब्जा गर्नेगरी प्रस्ताव आएपछि त्यसमा सहमत हुन सकिएन । यद्यपि, प्रयास अझै जारी राखेका छौँ ।’

विश्लेषक भाष्कर गौतम अहिले युवाहरूले कांग्रेस-कम्युनिस्ट भन्दा पनि राजनीतिमा भएको कुसंस्कार, कुशासन, भ्रष्टाचारविरुद्ध आवाज उठाएको बताउँछन् । 

‘उहाँहरूको राजनीतिक आवाज पनि त्यस्तै छ । विश्व दृष्टिकोणको हिसाबले र राजनीतिक आइडियोलोजीको हिसाबले जसरी कांग्रेस, एमालेभित्र टेक्नोक्र्याटहरूको हाबी छ,’ उनी भन्छन्, ‘त्यो भनेको केही प्राविधिक, विधिगत कुराले संरचनाको जटिलतालाई सम्बोधन गर्छ भन्ने सपाट दृष्टिकोण राजनीतिमा संसारभर हाबी छ । त्यो नेपालमा पनि छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप