‘कसलाई भोट दिनु खोइ ? कसैको विश्वासै लाग्दैन’
सारांश
- आगामी फागुनमा हुने निर्वाचनको तयारी भइरहँदा सुदूरपश्चिमका मतदातामा खासै उत्साह देखिएको छैन।
- अधिकांश मतदाताले नेताप्रति विश्वास गुमाएका छन्, र विकास नभएको गुनासो गरेका छन्।
- मतदाताहरूले यस निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने अवसरको रूपमा लिएका छन्, र योग्य उम्मेदवार छान्नुपर्नेमा जोड दिएका छन्।
कैलाली । देशमा ‘जेनजी आन्दोलन’ पछि बनेको नयाँ सरकारले आगामी फागुनमा प्रतिनिधिसभाको आम निर्वाचन गराउने घोषणा गरिसकेको छ। सोही अनुसार सरकारले चुनावको तीव्र गरिरहेको अवस्थामा त्यसको प्रभाव सुदूरपश्चिमका ग्रामीणदेखि सहर बजारका आम मतदातामा भने खासै परेको देखिएको छैन।
यहाँका विभिन्न ठाउँका मतदातालाई चुनावबारे तयारी के छ ? भनेर सोधपुछ गर्दा अधिकांशबाट ‘खै, कसलाई भोट दिनु ? विश्वास त कसैको छैन’ भन्ने जवाफ आउने गरेको छ। रातोपाटीले सुदूरपश्चिमका हिमाली जिल्लादेखि सुगम मानिएका तराईका जिल्लाका केही मतदातासँग सोधपुछ गर्दा चुनावपछि पनि देशको अवस्था फेरिनेमा खासै विश्वास गरेको पाइँदैन।
धनगढी उपमहानगरपालिका–१३ की ५० वर्षीया हरिना रानाको दैनिकी खेती किसानीमा बित्छ। केही आफ्नो र धेरैजसो अर्काको जमिन अधिया (बटैया) कमाएर उनी परिवारको गुजारा चलाउँछिन्। देशमा ठुला–ठुला राजनीतिक परिवर्तन भएपनि, व्यवस्था नै फेरिए पनि हरिनाको जीवन भने फेरिएन।
‘देशको राजनीतिबारे मलाई खासै चासो पनि छैन र जानकारी पनि छैन,’ हरिना भन्छिन्। उनलाई यति थाहा छ कि देशमा केही ‘गडबड’ छ।
जेनजी आन्दोलनबारे उनले समाचार र गाउँलेबाट सुनेकी छिन्। ‘पुराना नेताले गर्दा देश बिग्रियो भन्छन्, अब चुनाव भए नयाँ मान्छेलाई भोट दिन्छौँ,’ उनी भन्छिन्। नयाँ पुस्ताले केही गर्छन् कि भन्ने उनको झिनो आशा छ।
उनको गाउँमा भोट माग्न नेताहरू आइसकेका छैनन्। यसअघि जब भोट हाल्ने दिन आउँथ्यो, तब उनको निर्णय आफ्नै हुँदैन थियो। ‘अहिले पनि अन्तिममा परिवारले र गाउँलेले जे भन्छन्, त्यही गर्नुपर्ने अवस्था छ,’ उनी सुनाउँछिन्, ‘हुन त हामीलाई भोट हाल्नु र नहाल्नुमा केही फरक छैन।’
‘यहाँ बिरामी हुँदा अस्पतालमा सास्ती छ, छोराछोरीलाई पढाउन उस्तै सकस छ । पढेकालाई रोजगार छैन। मेरो श्रीमान् भारतको सिमलामा स्याउ टिपेर घर खर्च पठाउनुहुन्छ, हामी यहाँ खेतीपाती गरेर जिन्दगी काट्छौँ,’ उनी भन्छिन्, ‘दुःख धेरै छ नि ! चुनावमा जसलाई जिताए पनि हाम्रा दुःख यस्तै हुन्।’
सुदूरपश्चिमका पहाडी जिल्लाहरूको समस्या अझ बढी छ। प्रदेशको हिमाली जिल्ला दार्चुलाको अपि हिमाल गाउँपालिका–१ की हिरामती लोथ्याललाई काठमाडौँको कुर्सीमा को बस्छ भन्ने कुराले छुँदैन। उनको चिन्ताको विषय आम नेपालीझैँ छ– सडक, बिजुली र अस्पताल।
हिरामती पनि खेतीकिसानी नै गर्छिन्। उनको गाउँमा अहिलेसम्म सडक पुगेको छैन। बिरामी हुँदा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता अझै हटेको छैन। हिरामती भन्छिन्, ‘हाम्रो ठाउँमा सडक बनाउने, गाउँमा अस्पताल ल्याउने र बाटोघाटो बनाइदिने नेतालाई मात्र भोट दिन्छौँ।’
सोही ठाउँका अन्य स्थानीयहरू पनि हिरामतीकै जस्तै बिचार सुनाउँछन्। उनीहरूको बुझाइमा चुनाव भनेको नेतालाई सुख दिने माध्यम मात्र भएको छ। ‘हामीलाई सुख दिने नेता खै ? देशमा खासै काम गर्लान् भन्ने त विश्वासै छैन,’ वीरमान धामीले भने। उनले मतदाताले पटक–पटक नेताहरूलाई जिताएर पठाए पनि विकास कहिल्यै देख्न नपाएको गुनासो गरे।
सुदूरपश्चिमका हरेक गाउँको अवस्था यस्तै हो। सडक नहुनु, अस्पताल नहुनु, विद्युत् नहुनु, उच्च शिक्षा गाउँमै बसेर हासिल गर्ने अवस्था नहुनु, गाउँमा फलाएको तरकारीले बजार नपाउनु, रोजगारी नहुनु लगायतका समस्याबाट गुज्रिएका आम नागरिक अहिले चुनावबारे खासै खुसी देखिँदैनन्।
सहरमा पनि समस्या धेरै छन्। धनगढी उपमहानगरपालिका–८ शिवनगरका ५० वर्षीय रोगाही चौधरी दिनभर मजदुरी गर्छन्। उनी भन्छन्, ‘काम गरेर खान्छु, मलाई राजनीतिको के मतलब ?’
रोगाहीलाई देशको कुनै पनि नेता मनपर्दैन किनकि उनलाई लाग्छ– ‘हाम्रो दुःख बुझ्ने कोही छैनन्।’
‘चुनाव आउँदा टोलमा नेताहरूको लर्को लाग्छ, चिल्ला गाडी गुड्छन्, चुनाव सकिएपछि हाम्रो बेवास्ता गरिन्छ। नेताहरूले देशको हालत सुधार्लान् भन्ने त खासै विश्वास लाग्दैन,’ उनले भने।
आगामी फागुनमा हुने भनिएको निर्वाचनलाई लिएर आम मतदातामा मिश्रित प्रतिक्रिया पाइन्छ। एकथरीमा वितृष्णा देखिए पनि कतिपय मतदाताले भने यो चुनावलाई देशको बागडोर सही व्यक्तिको हातमा सुम्पिने ‘सुनौलो अवसर’ का रूपमा व्याख्या गरेका छन्।
विगतका निर्वाचनहरूमा विचार र योग्यताभन्दा पैसाको बलमिचाइ हाबी हुने गरेको भन्दै यस पटक मतदाताहरूले ‘नोट’ (पैसा) को प्रभाव चिरेर ‘भोट’ को सही सदुपयोग गर्नुपर्ने आवाज उठाउन थालेका छन्।
सिद्धान्त र भिजन भएका तर आर्थिक रूपमा कमजोर उम्मेदवारहरू पछि पर्ने, चुनावमा करोडौँ खर्च गर्न सक्छ उसैले भने बाजी मार्ने प्रवृत्ति बढ्दो छ। यही कारणले गर्दा संसद् र सरकारमा सक्षम नयाँ अनुहार आउनुको सट्टा पटक–पटक उही पुराना अनुहार दोहोरिने गरेको गुनासो मतदाताको छ।
यस्तो अवस्थामा कञ्चनपुरका कतिपय ठाउँका मतदाताको बुझाइ फरक छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय रामबहादुर चौधरी यो चुनावलाई गम्भीर जिम्मेवारीका रूपमा लिनुपर्ने बताउँछन्।
‘यो चुनावले देशमा सरकार चलाउन अब कसको हातमा दिने भन्ने अधिकार सिधै जनतालाई दिएको छ,’ चौधरी भन्छन्, ‘यस्तो महत्त्वपूर्ण अवसरलाई हामीले पैसामा बेच्नुहुँदैन।’
उनले मतदाताहरूलाई क्षणिक प्रलोभनमा नपर्न आग्रह गरेका छन्। ‘राम्रो पढेलेखेका, देश र समाज बुझेका र साँच्चै काम गर्ने हुटहुटी भएका उम्मेदवारलाई जिताउनुपर्छ,’ चौधरीले भने, ‘अहिले हामीले राम्रो उम्मेदवार छान्यौँ भने मात्र देशको भविष्य बन्छ। पैसामा भोट बिक्नु भनेको आफ्नै भविष्यमाथि खेलबाड गर्नु हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण