बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेसमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी, कसले पाउला ?

बिहीबार, १८ मङ्सिर २०८२, १३ : ५३
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ।
  • प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस र लोसपा नेपालले मुख्यमन्त्रीमा दाबी गरेका छन्।
  • सात दलबीचको बैठकमा सहमति हुन बाँकी छ, जसमा सभामुख, मुख्यमन्त्री र मन्त्री पदको विषयमा छलफल हुनेछ।

काठमाडौँ । मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले बुधबार संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।  

तर दलहरुबिच सहमति बनिसकेको छैन । मुख्यमन्त्रीमा हालसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दाबी देखिएको छ । 

सात दलको बैठकमा भएको सहमतिले त्यसबारेमा तय गर्ने माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले बताए । ‘लोसपा र कांग्रेसले मात्र होइन, सात दलीय गठबन्धनमा रहेका सबै दलले सरकारको नेतृत्व गर्न पाऊँ भनेर दाबी गरेका छन् । कसले पाउँछ भन्ने कुरा छलफलले टुंगो लगाउँछ,’ उनले भने । 

यसअघि माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल, जनमत र लोसपा नेपालसहितको पाँच दलीय गठबन्धनबाट लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए । विश्वासको मतको प्रक्रिया सुरु नहुँदै उनले राजीनामा दिएपछि प्रदेशसभाको ठुलो दलको हैसियमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर यादवको नियुक्ति अवैधानिक भएको भन्दै कांग्रेस, माओवादी, जनमत, लोसपा, जसपा नेपालसहित सात दलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
 
सुनुवाइपछि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । तर मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत नलिँदै राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भएको हो । 

लोसपा नेपालका नेताहरु जितेन्द्र सोनलले विशेष परस्थितिमा राजीनामा दिएर सात दलीय गठबन्धनको नेतृत्व गर्दै आन्दोलन गरेकाले पहिलो दाबी आफ्नो पार्टीको नै हुने बताउँछन् । लोसपाका महासचिव डा. सुरेन्द्र झा भन्छन्, ‘सोनलले कुन अवस्थामा कसरी राजीनामा दिए सात दलकै नेताहरुलाई थाहा छ ।‘

तर कांग्रेस संसदीय दलका नेता कृष्ण यादव गठबन्धनमा ठुलो दलको हैसियतले मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताउँछन् । ‘हरेक दलले पालो पालो मुख्यमन्त्री चलाइसके । अब कांग्रेसको दाबी हफ । तर सबै दलको यसमा सहमति हुनुपर्छ,’ उनी भन्छन् । 

पाँच दलको गठबन्धन बनेर सोनललाई मुख्यमन्त्री बनाउँदा कांग्रेस एमालेको साथमा थियो । सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिइसकेपछि कांग्रेस बल्ल पाँच दलीय गठबन्धनमा आएको हो । 

जसपा नेपालका एक नेता भन्छन्, ‘कांग्रेसले सुरुमै एमालेको साथ छाडेर पाँच दलीय गठबन्धनमा आएर मुख्यमन्त्रीमा सोनललाई विश्वासको मत दिएको भए अहिलेको अवस्था हुने थिएन । तर कांग्रेसले आफू मुख्यमन्त्री पाउनका लागि यो सब खेल गरेको हो ।‘

सात दलभित्र यी सबै विषयमा छलफल हुने र जसमाथि सहमति हुन्छ, उही दलले मुख्यमन्त्री पाउने ती नेता बताउँछन् । 

माओवादी केन्द्र संसदीय दलका नेता साह अब प्याकेजमै सहमति हुने बताउँछन् । ‘सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका हरेक विषयमा छलफल हुन्छ । सात दलभित्र प्याकेजमै सहमति भएपछि मुख्यमन्त्रीको टुंगो लाग्छ,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप