शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा नेपाली कम्युनिस्ट पार्टीको हैसियत दोस्रोमै सीमित

बिहीबार, १८ मङ्सिर २०८२, १९ : १७
बिहीबार, १८ मङ्सिर २०८२

सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरण भएका छन् ।

केन्द्रमा माओवादीसहित दलहरूबिच एकता भएसँगै बुधबार कर्णाली प्रदेश सभाका यी दुई दलबिच एकता भएको हो ।

दुई दलबिच एकता भए पनि कर्णाली प्रदेश सभामा नवनिर्मित पार्टीको हैसियत भने साविकको माओवादी केन्द्रकै (दोस्रो स्थान) मा सीमित भएको छ ।

२०७९ को प्रदेश सभा निर्वाचनमा १३ सिट जित्दै माओवादी दोस्रो ठुलो दल बनेको थियो भने एकीकृत समाजवादीको १ सिट (समानुपातिक) मात्र थियो ।

गणितीय रूपमा दुई दल मिल्दा सांसद सङ्ख्या १४ पुग्नुपर्ने हो, जसले १४ सांसद रहेको नेपाली कांग्रेससँग बराबरीको हैसियत राख्थ्यो ।

तर, बुधबार नै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएसँगै यो अङ्कगणित प्रभावित भएको छ । शर्माको सांसद पद गुम्ने निश्चित प्रायः रहेकाले एकीकृत समाजवादी मिसिँदा पनि पार्टीको कुल सांसद सङ्ख्या १३ मै सीमित छ । 

यसले गर्दा १४ सांसदसहित नेपाली कांग्रेस नै प्रदेश सभाको सबैभन्दा ठुलो दलको रूपमा यथावत् रहनेछ ।

कर्णाली प्रदेश सभामा १० सिटसहित नेकपा एमाले तेस्रो स्थानमा छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ सिट छ । यस्तै, एक जना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही छन् । 

शाही राजनीतिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरिसके पनि प्रदेश सभा सचिवालयमा सोबारे औपचारिक जानकारी नआइसकेकाले उनलाई हालसम्म स्वतन्त्र सांसदकै हैसियतमा राखिएको सचिवालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप