सुदनको दौडधुपः रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभ्याउन सक्लान् ?
सारांश
- जेनजी आन्दोलनपछि 'हामी नेपाल'का सुदन गुरुङ वैकल्पिक शक्तिहरूलाई एक बनाउने अभियानमा लागेका छन्।
- गुरुङले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन प्रयास गरिरहेका छन्, र यसको उद्देश्य पुराना दलहरूलाई हराउनु हो।
- उनले रवि लामिछानेसँग भेट गरी जेनजी आन्दोलन र रास्वपाको समर्थनबारे छलफल गरे, र आफू गोरखाबाट चुनाव लड्ने संकेत दिए।
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङ चर्चामा छन् । उनी अहिले जेनजी अगुवाहरूमध्ये प्रभावशाली मानिन्छन् ।
उनी सरकार गठन गर्ने प्रक्रियादेखि सरकारी काममा खबरदारी गर्नेसम्मको भूमिकामा देखिँदै आएका छन् । उनले भदौ २३ गते राज्यको तर्फबाट भएको गोली प्रहारमा संलग्नहरूलाई कारबाहीको माग गर्दै आएका छन् । साथै, जेनजी आन्दोलनमा सहभागीहरूलाई ‘सरकारी अपराधी’ करार गरेर धमाधम कारबाही गरिरहेको भन्दै उनले तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् ।
सरकार र गृहमन्त्रीप्रति खुलमखुला असन्तुष्टि व्यक्त गर्दै आएका गुरुङ सरकारले गति लिन नसकेको बताउँछन् । ‘हामीले के सोचेर सरकार बनाउन सहयोग गर्यौँ, तर अहिले के भइरहेको छ ? सरकारले अहिलेसम्म अपराधी समात्न सकेको छैन, उल्टै हाम्रा साथीहरूलाई थुनेर जेनजीलाई तर्साउने काम गरिरहेको छ,’ गुरुङ भन्छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न सरकारलाई दबाब दिँदै आएका गुरुङलाई सरकारले सुनुवाइ गर्न छाडेपछि उनी अहिले वैकल्पिक शक्तिहरूलाई एक बनाउने अभियानमा होमिएका छन् ।
‘अहिलेको सरकार पनि पुरानै ढर्राको भएपछि जेनजीहरू थप खतरामा परेका छन् । वैकल्पिक शक्तिहरू एक नभए पुराना दल फेरि सत्तामा आउँछन् । उनीहरूको शासनमा जेनजी आन्दोलनमा सहभागीहरूलाई प्रतिशोध साँधेर अपराधी करार गरिन्छ । त्यही डरमा हामी पनि छौँ । त्यसका लागि नयाँ र वैकल्पिक शक्ति एक हुनैपर्छ,’ उनीनिकट एक जेनजी अगुवा भन्छन् ।
जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरूप्रति वितृष्णा थप बढेको छ । यही बेला नयाँ र वैकल्पिक भनिएका शक्तिहरू पनि छिन्नभिन्न अवस्थामा छन् । यही अवस्थालाई चिर्दै ‘हामी नेपाल’ का संस्थापक तथा अभियन्ता सुदन गुरुङ यी शक्तिहरूलाई एउटै सूत्रमा बाँध्न तीव्र दौडधूपमा लागेका हुन् ।
पछिल्लो समय उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन), उज्यालो अभियान पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एकै ठाउँमा ल्याउने महत्त्वाकांक्षी योजनासहित भेटघाटमा सक्रिय देखिएका छन् ।
बिहीबार रास्वपा सभापति लामिछानेलाई भेट्न जाँदा उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ ।’
भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको गुनासो सुदन गुरुङसँग गरेका थिए । गुरुङसँगको कुराकानीका क्रममा लामिछानेले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएका हुन् ।
भेटबारे जानकारी दिँदै गुरुङले भने, ‘उहाँले आफूमाथि अन्याय भएको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।’ लामिछानेले अहिले चलिरहेको जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए । ‘मुख्यतः दुईवटा कुरामा छलफल भयो, पहिलो जेनजी आन्दोलनमा रास्वपाको समर्थन र अर्को रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको विषय,’ गुरुङले भने ।
सुदनको बुझाइमा रवि लामिछानेको संगठन, बालेनको क्रेज र कुलमान घिसिङको कार्यकुशलता एकै ठाउँमा मिसिने हो भने पुराना दलहरूको ‘सिन्डिकेट’ तोड्न सम्भव छ । ‘सबै मिलेर लड्यो भने त शतप्रतिशत जितिन्छ, हराइदिने हो,’ सुदनले आफू निकटहरूसँग भन्ने गरेका छन् ।
लामिछानेको भनाइ उद्धृत गर्दै गुरुङले भने, ‘हामी जेनजीको साथमा छौँ, उहाँहरूको माग र आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहनेछ ।’ करिब एक घण्टा चलेको उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबीचको एकताका विषयमा समेत छलफल भएको उनले बताए ।
सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले आफूले भेट्ने वातावरण मिलाएको भए तापनि सँगै नगएकाले भित्री कुरा थाहा नभएको बताए । ‘भित्र त म गइनँ, भेट्ने वातावरण मिलाउन आग्रह भएपछि भेट भएको हो । साढे २ बजेदेखि भेट भएको थियो,’ उनले भने ।
किन जोड्न खोज्दैछन् रवि, बालेन र कुलमानलाई ?
मंगलबार नक्खु कारागारमा रवि लामिछानेसँग भेट गरेपछि सुदनले आफ्नो ध्येय प्रस्ट पारे– ‘एक्लाएक्लै लडेर होइन, मिलेर जानुपर्छ ।’ उनले भने, ‘सबैलाई मिलाउनुपर्यो भनेर म हिँड्याहिँड्यै छु । चुनाव भए एक भएर जाने तयारी हो ।’
सुदनको बुझाइमा रवि लामिछानेको संगठन, बालेनको क्रेज र कुलमान घिसिङको कार्यकुशलता एकै ठाउँमा मिसिने हो भने पुराना दलहरूको ‘सिन्डिकेट’ तोड्न सम्भव छ । ‘सबै मिलेर लड्यो भने त शतप्रतिशत जितिन्छ, हराइदिने हो,’ सुदनले आफू निकटहरूसँग भन्ने गरेका छन् ।
‘म जसरी पनि पुराना बुढाहरूलाई हटाउन नयाँ र वैकल्पिक शक्ति मिलाउन हिँडिरहेको छु । त्यो सत्य हो । मिलाइएन भने अपराधीहरूले फेरि राज गर्दैनन् र ?’ रातोपाटीसँग उनले भने ।
गुरुङले बालेन निकटहरूसँग पनि छलफल गरिरहेको बताए । ‘बालेन र कुलमानलाई मिलाउन लागेका छौँ, यसका लागि हामीले छलफल पनि गरिरहेका छौँ । अरूलाई पनि मिलाउने हो, अब यसका लागि म आफैँ पनि कुदिरहेको छु,’ उनले भने ।
अन्यायविरुद्धको मोर्चाबन्दी होः गुरुङ
सुदनले भेटघाटलाई चुनावी तालमेलभन्दा पनि ‘अन्यायविरुद्धको मोर्चाबन्दी’ का रूपमा व्याख्या गर्छन् । ‘चुनावको कुरा पछि हो, तर अहिले सरकारले अपराधीहरूलाई समात्न सकेको छैन । अहिले पनि मिल्नुपर्छ । फेरि पुराना टाउकाहरू उठ्न थालिसके । यसका लागि पनि मिल्नुपर्छ, हामीले अन्यायविरुद्ध लड्ने भनेका हौँ,’ गुरुङ भन्छन् ।
गुरुङको अभियानमा हिँडिरहेका अर्का एक जेनजी अभियन्ता भन्छन्, ‘रवि लामिछानेलाई राज्यले अन्याय गरेको र जेनजीमाथि पनि सरकारले भविष्यमा प्रतिशोध साँध्न सक्छ । त्यसको विरुद्धमा बालेन र कुलमान जस्ता पात्रहरू पनि एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश उनले प्रवाह गर्न खोजिरहेका छन् ।’
गोरखाबाट लड्ने संकेत
वैकल्पिक शक्तिहरूलाई मिलाउने अभियानमा रहेका सुदनले आफैँ पनि नेतृत्व लिने संकेत गरेका छन् । उनले आफू गोरखाबाट चुनाव लड्न सक्ने संकेत गरेका हुन् । केही दिनअघि उनी गोरखा पुगेर 'आफू नेपाली भएको प्रमाण देखाउन आएको' भन्दै व्यंग्यसमेत गरेका थिए । ‘गोरखाबाट लड्यो भने त जितिन्छ,’ उनी रातोपाटीसँग भन्छन्, ‘लड्नै परे म लड्छु, जित्ने कुरा पनि छ, तर चुनावको कुरा पो के हो !’
गुरुङले वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनुको मुख्य उद्देश्य नै दशकौँदेखि सत्तामा रहेका पुराना र शीर्ष नेताहरूलाई आगामी निर्वाचनमा पराजित गर्नु रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण