जेनजी आन्दोलनपछि प्रहरीको मनोबल बढाउन के गरियो ?
सारांश
- जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा आगजनी हुँदा ७४ भवन पूर्ण रूपमा र २ सय २ आंशिक रूपमा जले।
- प्रहरी अधिकारीहरू लुक्न बाध्य भए भने प्रदर्शन नियन्त्रणमा प्रहरी असफल भएको विश्लेषण गरियो।
- आन्दोलनकारीको आक्रमणबाट प्रहरीको मनोबल घटेको र आवश्यक स्रोत साधनको अभाव रहेको प्रतिवेदन छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा आन्दोलनकारीले देशभरका प्रहरी कार्यालयमा आगजनी गरे । प्रहरीको आन्तरिक प्रतिवेदन अनुसार आगजनीमा प्रहरीका ७४ वटा भवन पूर्ण रूपमा जले भने २ सय २ वटा भवन आंशिक रूपमा जलेका छन् ।
पहिलो र दोस्रो जनआन्दोलन भोगेको प्रहरी भदौ २३ र २४ को आन्दोलनमा रक्षात्मक अवस्थामा पुग्यो । प्रहरी अधिकृतहरू युनिफर्म परिवर्तन गरेर सैनिक ब्यारेकमा लुक्न बाध्य भए । जेनजी प्रदर्शनसँगै हुलदंगा नियन्त्रणमा प्रहरी असफल भएको विश्लेषण गरिएको छ ।
महाराजगञ्जमा प्रदर्शनकारीले निर्घात कुटपिट गरेर दुईजना प्रहरीको हत्या गरे । महाराजगञ्जमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रदर्शनकारीको आक्रमणमा परेर उपत्यकामा ३ जना प्रहरीको मृत्यु भएको थियो ।
जेनजी प्रदर्शनमा जलेका संरचना बनाउन राज्यले प्रहरीलाई आर्थिक सहयोग गरेन । प्रहरीले स्थानीयलाई आग्रह गरेपछि उनीहरूले चन्दा उठाएर जलेका भवन बस्नयोग्य बनाइदिए । अझै पनि आगजनी भएका सबै ब्यारेकहरू बस्नयोग्य भैसकेका छैनन् । प्रदर्शनकारीको आक्रमण र आगजनीपछि प्रहरीको मनोबल घटेको छ ।
फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउनेबारे प्रहरी हेडक्वार्टरले छलफल गरे पनि ठोस योजना आएको छैन । धेरै जवान र हवल्दारका मोटरसाइकल आन्दोलनकारीले आगजनी गरे । जुनियर तहका कर्मचारीले मोटरसाइकलसमेत गुमाउँदा निराश छन् । धेरैले तेस्रो पक्ष बिमा मात्र गरेको भेटिएको छ । प्रहरीको मनोबल बढाउने प्याकेज ल्याउन सरकारले ढिला गरेको पूर्वएआईजी उत्तमराज सुवेदी बताउँछन् । सुवेदी भन्छन्, ‘प्रहरी संगठनले पनि मनोबल उठाउने कार्यक्रम ल्याउनुपर्छ ।’
जुनियर तहका कर्मचारीको मनोबल उठाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृतसम्मलाई आपत्कालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन् । वरिष्ठ सईसम्मले कल्याणकोषबाट आपत्कालीन कर्जा पाउँछन् ।
३३ औं आईजीपी नियुक्त भएपछि कार्कीले त्यस्तो कर्जा पाँच लाखसम्म दिने निर्णय गरेका हुन् । निवेदनका आधारमा जुनियर अधिकृतसम्मलाई मापदण्ड बनाएर कर्जा दिने निर्णय प्रहरीको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बाट पारित भएको छ । आपत्कालीन अवस्थाको सो कर्जा डेढ वर्षभित्र तिरिसक्नुपर्ने कार्यविधि बनेको छ । प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘आपत्कालीन कर्जाले जुनियर प्रहरीलाई राहत हुन्छ ।’
प्रहरीका अधिकृतहरू मनोबल बढाउन ठोस प्रयास नभएको बताउँछन् । मुलुकको राजधानी सहर काठमाडौँ उपत्यकामा पर्ने ललितपुरमा नै जलेका भवन पुनर्निर्माण हुन सकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्ले प्रहरीको मनोबल उठाउन निष्पक्षता र तटस्थताका आधारमा परिचालन गर्ने नीति लिइएको बताउँछन् । ‘प्रहरी कर्मचारीको वृत्ति विकासमा तटस्थताको नीति अवलम्बन गरिएको छ,’ उनी बताउँछन् । प्रधानमन्त्री र गृहमन्त्रीले मनोबललाई प्राथमिकतामा राखेको काफ्लेको भनाइ छ । भन्छन्, ‘प्रहरीलाई आवश्यक स्रोत साधन जुटाउँदै छौँ ।’
निर्वाचनमा प्रहरीलाई आवश्यक १८५ वटा गाडी खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
प्रहरीका अधिकृतहरू मनोबल बढाउन ठोस प्रयास नभएको बताउँछन् । मुलुकको राजधानी सहर काठमाडौँ उपत्यकामा पर्ने ललितपुरमा नै जलेका भवन पुनर्निर्माण हुन सकेको छैन ।
इमाडोल र बाँडेगाउँका प्रहरी भवन स्थानीय निकायले बनाइदिँदै छन् । आगजनी भएका २१ वटामध्ये अहिलेसम्म १९ वटा बनेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृत भन्छन्, ‘जति बनेका छन्, ती सबै स्थानीयले चन्दा संकलन गरेर बनाएका छन् ।’ तर, भवन बनाउन र पुनर्निर्माण गर्न राज्यकोषबाट एक रुपैयाँ पनि निकासा गरिएको छैन ।
रातोपाटीसँगको अनौपचारिक कुराकानीमा प्रहरीका एकजना उच्च अधिकृतले भने, ‘चिसो बढ्दै छ, ब्ल्याङ्केट पनि माग्नुपर्ने अवस्था छ ।’ प्रहरीलाई सशक्त नबनाउँदा अहिलेको अवस्था आएको अधिकृतहरू बताउँछन् । प्रहरीका एकजना उच्च अधिकृत प्रश्न गर्छन्, ‘पुरानै मनोबलबाट कसरी चुनावमा परिचालन गर्ने ?’

चुनावमा प्रहरीलाई चाहिने सामग्री खरिद गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको सहसचिव काफ्लेले बताए । उनले भने, ‘मनोबल उकास्न प्रहरीले पाउँदै आएको रासन सुविधा बढाउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौँ, यी सबै प्रयास मनोबल बढाउनका लागि गरिएको हो ।’
प्रहरीभित्र भनसुन र नातावादको अन्त्य गर्न सकेमा सकलदर्जाको मनोबल दीर्घकालीन रूपमा नै बढाउन सकिने गृह मन्त्रालयका पूर्वसचिव चण्डी प्रसाद श्रेष्ठ तर्क गर्छन् । उनले भने, ‘आवश्यक भौतिक सुविधा तत्काल उपलब्ध गराउनुपर्छ र कानुन अनुसारको काममा प्रहरीलाई हस्तक्षेप नगरेमा मनोबल दीर्घकालीन रूपमा नै बढाउन सकिन्छ ।’
भिड नियन्त्रण गर्ने सामग्री अभाव
हुलदंगा नियन्त्रण गर्न प्रहरीलाई सामग्री अभाव भएकोबारे वर्षौंदेखि प्रश्न उठिरहेको छ । भिड नियन्त्रणमा म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको भनेर सधैँ प्रश्न उठिरहन्छ । तर, प्रहरी प्रधान कार्यालयले चाहिए जति अश्रुग्यास खरिद गर्न सकेको छैन । जेनजी प्रदर्शनमा हेलमेट नहुँदा चाहिए जति जनशक्ति परिचालन गर्न नसकिएको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् ।
जेनजी प्रदर्शनपछि प्रहरीले ६ सय वटा हेलमेट खरिद गरेको छ । ४ हजार थान ‘राइट कन्ट्रोल गियर’ पनि खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मंसिरमा प्राप्त गर्ने गरी ४ हजार थान ‘राइट कन्ट्रोल गियर’ खरिद सम्झौता भएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
२०७२ मा प्रहरीले ४ हजार ८ सय थान भिड नियन्त्रण गर्ने सामग्री खरिद गरेको थियो । त्यसपछि प्रहरीले ‘राइट कन्ट्रोल गियर’ खरिद गर्न सकेको थिएन ।
‘राइट कन्ट्रोल गियर’मा हेलमेट लगायत भिड नियन्त्रणमा आवश्यक सामग्रीहरू पर्छन् । २०७२ मा १६ हजार सेल अश्रुग्यास खरिद गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा दंगा नियन्त्रण गर्न आवश्यक ६ हजार थान शिल्डढाल खरिद गरिएको अधिकृतहरूको भनाइ छ ।
दंगा नियन्त्रण र तालिममा पनि अश्रुग्यास प्रयोग गरिन्छ । नेपाल प्रहरीका २६ सय युनिट छन् । अधिकांश युनिटमा अश्रुग्यास आवश्यक हुने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘सबै जिल्लामा अश्रुग्याँस र राइट कन्ट्रोल गियरको असाध्यै माग छ ।’
यसपटकको जेनजी आन्दोलनमा प्रहरीले १ हजार सेल अश्रुग्यास सशस्त्र प्रहरीसँग सापटी लिएर प्रयोग गरेको थियो । प्रतिनिधिसभा निर्वाचन अघि २४ हजार सेल अश्रुग्यास खरिद गर्ने गरी सम्झौता भए पनि ६ हजार ३ सय सेल मात्र चुनावअघि आइपुग्ने अधिकृतहरू बताउँछन् ।
पूर्व एआईजी सुवेदी भन्छन्, ‘भिड नियन्त्रणका सामग्री तत्काल खरिद गर्नुपर्छ ।’ भिड नियन्त्रणको विधि चुस्त नबनाउँदा जेनजी प्रदर्शनमा प्रहरी असफल भएको विश्लेषण गरिएको छ । प्रहरीका एकजना अधिकृत भन्छन्, ‘हामीले जेनजी प्रदर्शनबाट अझै शिक्षा लिन सकेका छैनौँ ।’
सशस्त्र प्रहरीले कीर्तिपुरको नीलवाराही गणलाई ‘दंगा नियन्त्रण रेजिमेन्ट गण’ बनाएको छ । प्रहरीमा पनि त्यस्तै प्रकृतिको फौजलाई भिड नियन्त्रणको जिम्मा दिनुपर्ने अधिकृतहरूकाे भनाइ छ ।
भिड नियन्त्रण गर्न प्रहरीलाई आवश्यक नन लेथल हतियारको खरिद प्रक्रिया अझै सुरु गरिएको छैन । काठमाडौँ उपत्यकामा दंगा नियन्त्रण बाहिनी आवश्यक छ । दंगा नियन्त्रण गर्न प्रहरीलाई उच्चस्तरको तालिम दिनुपर्छ । प्रहरीका अर्का उच्च अधिकृत भन्छन्, ‘भिड नियन्त्रणमा मात्रै प्रयोग गर्ने फोर्स बनाउन आवश्यक छ ।’
भिड नियन्त्रण गर्न नन लेथल हतियार र जनशक्ति प्रहरीलाई अभाव छ । उच्च प्रविधियुक्त ब्यारिकेट पनि नेपाल प्रहरीसँग छैन । भिड नियन्त्रणको लामो अनुभव सम्हालेका प्रहरीका एक अधिकृत भन्छन्, ‘विदेशमा ड्रोनबाट अश्रुग्याँस हान्ने प्रविधि छ तर, नेपाल प्रहरीसँग त्यस्तो प्रविधि छैन ।’
सशस्त्र प्रहरीले कीर्तिपुरको नीलवाराही गणलाई ‘दंगा नियन्त्रण रेजिमेन्ट गण’ बनाएको छ । प्रहरीमा पनि त्यस्तै प्रकृतिको फौजलाई भिड नियन्त्रणको जिम्मा दिनुपर्ने अधिकृतहरूकाे भनाइ छ ।
जेनजी प्रदर्शनमा प्रहरीले शान्ति सुरक्षाका लागि प्रयोग गर्दै आएका ५ सय ५१ वटा गाडी प्रदर्शनकारीले आगजनी गरेका थिए । तत्काल घटनास्थलमा पुग्न प्रयोग गरिने ३१९ वटा मोटरसाइकल जलेका छन् । प्रहरीको आन्तरिक प्रतिवेदन अनुसार ४ सय ९४ सवारी साधन पूर्ण क्षति भएका छन् भने ५७ वटामा आंशिक क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण