मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सिनेमा

स्क्वीड गेमको विश्वयात्रा

शनिबार, २० मङ्सिर २०८२, १५ : ००
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • 'Squid Game' ले नेटफ्लिक्समा सर्वाधिक हेरिने वेब सिरिजको रेकर्ड बनायो, जसले विश्वभर चर्चा पायो।
  • सिरिजको दोस्रो र तेस्रो सिजन सन् २०२४ र २०२५ मा रिलिज भयो, र यो नेटफ्लिक्समा ट्रेन्डिङ सूचीमा रह्यो।
  • कथामा आधुनिक पुँजीवादभित्रको वर्गीय खाडल र मानवीयताको खोजीलाई देखाइएको छ, जसले दर्शकको मन जित्यो।

सन् २०२१ मा नेटफ्लिक्समा प्रदर्शनमा आएको कोरियाली ड्रामा ‘स्वीड गेम’ को पहिलो सिजनले सबैभन्दा धेरै हेरिने वेब सिरिजका रूपमा नेटफ्लिक्सको रेकर्ड कायम गर्‍यो । त्यसपछि विश्वका सिनेमाप्रेमी दर्शक कोरियाली टिभी शृङ्खला तिर आकर्षित भए । 

त्यस सिजनका बुढा प्लेयर ‘ओ इल नाम’ को  भूमिका निभाउने ओ यङ सुले बेस्ट सपोर्टिङ एक्टरको गोल्डेन ग्लोब अवार्ड पाएपछि यसको चर्चा विश्वभर फैलियो ।

यसको दोस्रो सिजन सन् २०२४मा र तेस्रो सिजन सन् २०२५मा रिलिज गरियो । रिलिज भएको लामो समयदेखि यो नेटफ्लिक्समा धेरै हेरिने वेब सिरिजमध्ये टप ट्रेन्डिङ सूचीमा छ । लेखक निर्देशक हान दोङ युकको कथामा अत्यधिक हिंसा रहेको कारण थुप्रै प्रोडक्सन हाउसले यसलाई निर्माण गर्न अस्वीकार गरेका थिए । 

तर करिब १० वर्षपछि अस्वीकार गरिएको त्यही ड्रामा माथि एकाएक नेटफ्लिक्सले रुचि देखायो र सिरिज अपत्यारिलो ढङ्गले सफलताको सिँढी चढ्न थाल्यो । यसो हुनु पछाडिका कारण के–के हुन् त ? आउनुस् त्यसबारे केही बात गरौँ ।

Netflix_SquidGameEmmyPC_2360

  • मौलिकता र आधुनिकताको फ्युजन

आख्यान होस वा सिने साहित्य आजको समयमा सफलताको जग मौलिकतामा टेकेको हुन्छ । आज मानिसले आफ्नै इतिहास लगभग बिर्सिँदै गइरहेको छ । अत्यधिक कल्पना र प्रविधिको प्रयोगले भविष्य कस्तो बन्ला भन्ने उ अनुमान त गर्न सक्छ, तर विगत कस्तो थियो भन्ने उसलाई अनौठो लाग्न थालेको छ ।

यसर्थ अन्तरकुन्तरका अनौठा कुराहरू नै कला जगतमा सृजनाका श्रोत हुन्छन् । त्यसैले विश्व सिनेमा  जतिसुकै अमूर्त वा काल्पनिक प्रविधिको प्रयोगशाला भएपनि, वास्तवमा दर्शकको मन जित्ने सृजना भने सधैँ मौलिक, मानवीय र परम्पराको जगमा टेकेको हुन्छ । 

निर्देशक हान दोङ युकले लगभग लोपोन्मुख, अस्ताउँदो पुस्ताको स्मृतिमा सीमित परम्परागत बालखेल ‘ओजिङ’ (अक्टोपस गेम) माथि कथा बुने । यही नै उनको कथा छनोटको पहिलो सफलता हो । यसले आधुनिक बजारमा ऋण, सामूहिक सामाजिक उत्पीडन भोगिरहेका पात्रहरूको पीडा र उन्मुक्तिको संघर्षमार्फत आधुनिक पुँजीवादभित्रको वर्गीय खाडल छर्लङ्ग देखायो । 

भौतिक समस्याबिच आफ्ना भावनात्मक सपनाको आदेशमा मानवीय अस्तित्व नै दाउमा लगाउने मानिसको स्वार्थी मनोविज्ञान बुझेर उनले कथाको आरम्भ आधुनिक समाजको शक्तिको केन्द्र ‘पैसा’ बाट गरे । जसका लागि मान्छे जुनसुकै मूल्य चुकाउन तयार हुन्छ ।

कथाको अन्त्य भने, के संसारमा मानवीयता पूर्ण रूपमा च्युत हुँदैछ ? मान्छेको वास्तविक सोच र भावना कस्तो हुनुपर्छ ? भन्ने जिज्ञासाको जवाफ उनले अन्तिम सिजनको अन्तिम दृश्यमा मुख्य पात्र सङ गी हुनको निर्दोष र सहयोगी भावनाबाट दिने प्रयास गरेका छन् । 

सिनेमा लेखनका ‘पाँच सी’ अर्थात् ‘चेन’, ‘कन्फन्ट्रेशन’, ‘कन्सिक्वेन्स’, ‘कम्प्लिकेशन’ र ‘कन्क्लुजन’ को शुत्रले सिनेमा जगतको कथ्यलाई थप शसक्त बनाई दिएको छ । यद्यपि मौलिक संस्कृतिलाई आजको विश्व बजारमा आधुनिक पुँजीवादी प्ल्याटफर्मकै माध्यमबाट प्रस्तुत गर्नुपर्ने बाध्यता भने छँदैछ ।

Squidgame_Unit_204_N064080

 

  • हिरो कथाको हिरो प्लेयर

हिरो के हो ? कस्तो हुन्छ ? भन्ने बहस पुरानै हो । सिनेमाको नायक चकलेटी अनुहार, चट्ट मिलेको  शरीर भएको तथा विज्ञापन बजारमा बिक्न सक्ने ‘फेस भ्यालु’ भएकालाई राम्रो मानिन्थ्यो । तर यो सिनेमाले पुरानो मान्यतालाई भत्काई दिएको छ । वास्तवमा कलाकारलाई उसको भूमिकाले नायक बनाई दिन्छ भन्ने यसले फेरि प्रमाणित गरिदिएको छ ।

लि जङ जे, जो दक्षिण कोरियाका सर्वाधिक सम्मानित र सफल अभिनेतामध्ये एक हुन् । उनी प्लेयर नम्बर ४५६ कथाको मुख्य पात्र ‘सङ गी हुन्’ को भूमिकामा छन् । उनी पहिलो सिजनमै खेल जितेर अर्बपति भइसकेका छन् । खेलमा ४५ अर्ब वोन जितेर पनि उनी खुसी छैनन् । 

विगतको चरम आर्थिक अभावलाई चिर्न त्यति रकम पर्याप्त मात्रै होइन, मनग्य नै हो । तर, पनि उनी खुसी छैनन् । एक वर्षपछि पनि उसको जीवन भावनात्मक रूपमा झनै विक्षिप्त बन्न पुग्छ । आफ्नै बाल्यकालका साथीलाई पराजित गरेर प्राप्त गरेको धनप्रति ऊ सन्तुष्ट छैन ।

सहरका पुराना गल्ली, परम्परागत रेस्टुरेन्ट, मदिरा र एक्लो पार्कमा हराएर उसको दैनिकी बित्छ । उसका लागि आत्मिक सुखका अघि भौतिक सुख बेकार छन् । बैंक खातामा रहेको ४५ बिलियनबाट सुको पनि खर्च गर्दैन । एकदिन बैंक म्यानेजरले भेटेर कफी गफमा चासो व्यक्त गर्दै भन्छ, ‘तपाईंले खातामा भएको त्यत्रो रकम त्यत्तिकै राख्नु भन्दा, मुनाफाका लागि निक्षेपमा राख्नुहोस्, त्यहाँ ब्याज राम्रो पाइन्छ ।’

Squid-Game

तर सङ गी हुन मौन बसिरहन्छ । बरु त्यस विपरित उसले बैंक म्यानेजरसँग १० हजार वोन सापट लिएर चुपचाप बाहिरिन्छ । जीवनभर पैसाको पछि कुद्ने, घोडा दौडमा जुवा खेल्ने तथा कर्जा लिएर क्रिप्टो र बिट क्वाइनमा पैसा गुमाएर घरबार बिछोड भएको खेलका सहभागी खेलाडी हुन् वा दर्शक सङलाई निहालेर वास्तविक खुसी के हो भनी आफ्नो आत्मा छाम्न पुग्छन् ।  

सङ गी हुनको उक्त आत्मस्वीकृति नै स्क्वीड गेम सिजनको भारी सन्देश हो । 

दोस्रो सिजनमा सङ गी हुन खेल जित्न होइन, बरु खेललाई अन्त्य गरेर सपना र मृत्युसँग जुधिरहेका खेलाडीलाई रिहा गराउन योजनाबद्ध प्रयास गर्छ । खेलका सहभागीहरू माझ उसको अपिल छ– खुनी खेलको जाँतोमा पेलिएर हाम्रो वास्तविक भावना सङ्कटमा छ । यहाँ खेल जसले जिते पनि चैनको निन्द्रा कसैले पाउने छैनन् ।

लेखकले गरिबहरूलाई मने–मार्ने खेल खेलाएर मनोरञ्जन लिने पश्चिमा कुलिन दर्शक वा पुँजीवाद भन्दा सामान्य सहयोग गर्दै हिँड्ने जो–कोही धेरै मानवीय छन् भन्ने सन्देश दिन खोजेका छन् । सङ गी हुनको भूमिका मार्फत ‘हामी मान्छे हौँ र हामीसँग पनि भावना छ भन्ने सन्देश दिन खोजिएको छ ।

यस बिन्दुसम्म आइपुग्दा, समाजमा एउटा मानिसको हैसियत पुँजीले मात्र निर्माण हुन्छ भनी मानिसकै वस्तुकरण गर्न खोजिए पनि सङ गी हुनले आफ्नै मृत्युले त्यसलाई उल्ट्याई दिन्छन् । त्यसैले नायकको मृत्युमा दर्शकले सहानुभूति होइन गर्व महसुस गर्छन् । 

उ आफैँ हारेर खेलाडी नम्बर २२२ को बालकलाई किन जिताउँछ ? भन्ने सामान्य दर्शकमा समेत गहिरो सन्देश पुग्छ । नयाँ जीवनको दृश्यले दर्शकलाई हामी वास्तवमा को हौँ ? र, हामीले होस नगुमाउने हो भने संसार बाँच्न लायक छ भन्ने आशाको दियो दर्शकमा बालिदिन्छ । समग्रमा सङ गी हुनको भूमिका तारिफ योग्य छ ।

  • कथाको क्लाइमेक्स

पहिलो सिजनमा खेलका अनौठा नियम र अत्यधिक हिंसात्मक दृश्यले दर्शकलाई अलमल पार्छ । समाजमा आर्थिक प्रताडनामा परेका पात्रहरूको सम्पूर्ण डाटा कसरी पुँजीपतिहरूको हातमा पर्छ ? खेलाडी खोज्ने टाई सुटधारी जासुसी पात्र को द्वारा परिचालित छन् ? सैनिकहरूले बलिया र स्वस्थ खेलाडीलाई उनका बहुमूल्य अङ्ग जोगाएर गोली हानी किन मृत घोषित गर्छन् ? अचेत बनाएर झिकिएका शरीरका ती अङ्गहरू कहाँ लगिन्छ ? सिनेमा हेर्दै जाँदा बुझ्न बेर लाग्दैन ।

210929133837-squid-game-netflix-03

ली ब्युङ हुन अर्थात् द फ्रन्ट म्यान खेल सञ्चालक एक रहस्यपूर्ण पात्र हो । उसको पूर्व पृष्ठभूमि पहिलो सिजनको अन्त्यतिर देखाइएको छ । उसको भाइ, जो एक पुलिस हो, ऊ दाइको खोजमा यस रहस्यमय टापुसम्म आइपुग्छ । उसैले आफ्नै भाइलाई गोली प्रहार गर्छ र यस शृङ्खलाको अन्त्य हुन्छ । 

त्यसपछि दर्शकलाई लाग्छ उसको कथा अझै बाँकी छ । ऊ त्यहाँसम्म कसरी आइपुग्यो ? ऊ पनि पूर्व पुलिस अफिसर हो । आर्थिक अभावबिच श्रीमतीसँग डिभोर्स पश्चात् वास्तवमै उसको हृदयमा केवल निष्ठुरता भरिएको छ । ऊ यस खेलको पूर्व विजेता खेलाडी हो । यही अनुभवका आधारमा खेल सञ्चालकको जिम्मा पाएको हुन्छ उसले ।

जब दोस्रो सिजनमा सोलको भव्य टावरमा ‘मृत’ भनिएका खेलाडी ‘ओ इल नाम’ अर्थात् प्लेयर नम्बर ००१ बुढोलाई शैयामा पल्टिरहेको अवस्थामा भेटिन्छ, तब उनीहरूबिच घनिष्ठता रहेको रहस्य खुल्छ । यो खेलको वास्तविक डिजाइनर यही बुढो प्लेयर हो र पछि उनले ‘द फ्रन्ट म्यान’ लाई हस्तान्तरण गरेको रहेछ । उ त खेलको मनोरञ्जन लिन सहभागी भएको रहस्य खुल्छ ।

  • दार्शनिक सन्देश 

सङ गी हुनलाई निगरानी गरिरहेको बुढोले अन्ततः उसलाई निमन्त्रणा दिन्छ । खेलको तलास गरिरहेको सङ गी हुन त्यही भव्य टावरमा पुग्छ । बुढोको घाटी समातेर ऊ सोध्छ ‘तिमी को हौ ? तिमीले यस्तो किन गर्‍र्यौँ ? निर्दोष मानिसलाई फसाएर किन मार्‍यौँ ? अनि मलाई मात्रै किन बचायौ ?’ 

तर बुढोले उल्टै प्रश्न गर्छ– तिमीले पैसा किन चलाएनौ ? खेलमा त्यति ठूलो रकम जितेर पनि तिमी खुसी किन छैनौँ ? 

अनौठो त के भने, बुढोले आफूसहित धनी साथीहरू मिलेर बुढेसकालको मनोरञ्जनका लागि अखडा बनाएको बताउँदा सङ गी हुन रिसले चुर हुन्छ । र, भन्छ, ‘तिमीले महापाप गर्‍यौ, तिमीलाई मृत आत्माले पनि छोड्ने छैनन् । ’ 

जवाफमा बुढो भन्छ, ‘मानिसले भोग्ने दुःख उसकै लालचको फल हो । सबै आफ्नै मर्जीले खेलमा आएका हुन्, म कसरी दोषी भएँ ?’ बुढोको निम्छरो तर्कले दार्शनिक अर्थ सम्प्रेषण गर्छ । बुढोले लगत्तै प्रश्न गर्छ– ‘संसारमा अझै मानवीयता बाँकी छ भन्ने तिमीलाई लाग्छ ?’

सङ गी हुन कठोर स्वरमा– ‘हो, मानवीयता अझै बाँकी छ’ भन्छ ।

211021134310-10-squid-game-netflix

  • सांस्कृतिक झलक

निर्देशक बान जुन होको सिनेमा ‘प्यारासाइट’ को ओस्कर यात्रा होस् वा गत वर्ष लेखिका हान काङको नोबेल साहित्य पुरस्कारको यात्रा कोरियाली सिनेमा र साहित्यको प्रभाव विश्वव्यापी हुँदैछ । 

आजको दुनियाँमा कुनै देशको सामाजिक सांस्कृतिक मूल्य बोकेको सिनेमा, साहित्य होस वा प्रविधि त्यसले एउटा मानक कायम गर्न सक्छ भने त्यो विश्वबजारमा अत्यधिक खपत हुन जान्छ ।

जापानी उपनिवेश हुँदै सन् १९५०को दशकसम्म दक्षिण कोरिया लगातार राजनीतिक सङ्कटबाट गुज्रियो । त्यतिबेलासम्म कोरियाको सामाजिक आर्थिक विकास पनि अन्य एसियाली मुलुकसरह नै थियो । तर उत्तर र दक्षिणबिच गृहयुद्ध र युद्धविरामपछि दक्षिण कोरियामा पश्चिमी राजनीतिक, सामाजिक र सांस्कृतिक चिन्तनको प्रभाव गहिरोगरि पर्न थाल्यो । 

त्यसैको प्रभाव स्वरुप दक्षिण कोरियामा निर्माण हुने विभिन्न टेलिभिजन शो र सिनेमामा पश्चिमी सांस्कृतिक सौन्दर्यको व्यापक प्रयोग पाइन्छ । 

कतिपयले आजको भूमण्डलीकृत दुनियाँमा यसलाई सांस्कृतिक रूपान्तरणको प्रक्रिया भन्ने गरेका छन् । तर वास्तवमा यो सांस्कृतिक विस्तारको झलक हो । उदाहरणका लागि, स्क्वीड गेममा प्लेयर र सोल्जरले प्रयोग गर्ने मास्क कुनै नौलो प्रयोग होइन । 

सम्भवतः त्यो सन् २०१७मा नेटफ्लिक्समा आएको चर्चित स्पेनिस सिरिज ‘मनी हाइस्ट’ को दृश्य शैलीबाट प्रभावित देखिन्छ । त्यसैले आज हामी जसलाई ‘विश्वव्यापी फेशन’ भन्छौँ, त्यो विशेषतः पश्चिमी उपभोक्तावादी संस्कृतिबाट मौलाएको हो ।

तसर्थ कतै यस्ता सिनेमाले मौलिक सांस्कृतिक तत्त्वहरू अवसान पो हुने हुन कि भन्ने जोखिम पनि बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिकर्ण मल्ल
डिकर्ण मल्ल
लेखकबाट थप