शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

शनिबार, २० मङ्सिर २०८२, १४ : ५७
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाका नदी सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी रहेको बताए।
  • थापाथलीस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको निरीक्षण गर्दै उनले एडीबीको लगानी र रुख कटानीमा ढिलाइ भएको स्वीकार गरे।
  • मन्त्रीका अनुसार, टुकुचाको ढल सफा गरी पानी बागमतीमा फाल्ने योजना छ, र काठमाडौं र ललितपुरमा प्लान्ट निर्माण हुँदैछ।

काठमाडाैँ । सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् । थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको शनिबार निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरुलाई सफा गर्नको लागि धेरै प्रशोधन प्लान्ट आवश्यक पर्ने बताए । सबै नदी सफा गर्नको लागि प्रतिदिन ६ सय एमएलडीको प्लान्ट चाहिने उनले जानकारी दिए । उनका अनुसार हाल उपत्यकामा निर्माणधिन प्लान्टहरु यसको २० प्रतिशत मात्रै भएको बताए । उनले बागमती नदी सफा गर्नको लागि गुह्येश्वरीमा प्लान्ट बनेको र अन्य केही ठाउँहरुमा पनि बन्ने क्रममा रहेको जानकारी दिए ।

थापाथली करिडोरमा बनेको प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई बागमतीमा फाल्ने उनको भनाइ छ । उनले एडीबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माणको काम भइरहेको जानकारी दिए । प्लान्ट निर्माणमा केही ढिलाई भएको उनले स्वीकार गरे । रुख कटानीमा ढिलाई र लालितपुरतर्फ पर्ने भूभागमा स्थानीयको विरोधले काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिएको उनको भनाइ छ ।

विवाद समाधान गर्न आवश्यक छलफल गर्ने उनले जानकारी दिए । उनले काठमाडौंतिर बन्ने संरचनाहरु भने करिब डेढ वर्षभित्र सम्पन्न हुने बताए ।  प्लान्टको संरचना काठमाडाैँ महानगर र ललितपुरमहानगरमा बन्न लागेको छ ।

उनले भने, ‘वेस्ट वाटर ट्रिटमेण्ट प्लान्टले टुकुचाको सम्पूर्ण ढल सिष्टमलाई सफा गर्छ र पानीलाई वागमतीमा फाल्छ । एडीबीको सहयोगमा काम भइरहेको छ । दुई वटा कारणले अलिकति ढिलो भएको छ, यो । एउटा रुख कटानीमा डेढदुई वर्ष लाग्यो, यो क्षेत्रमा साईट क्लिरियन्स गर्न । यसको कही पार्ट ललितपुर महानगरपालिका पट्टी पर्छ, त्यो पार्टमा स्थानीयको विरोध भएको हुनाले काम गर्न सकिएको छैन । पारीपट्टीको काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिन्छ । यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरेर अगाडी बढाउँछौँ ।’

उनले भने, ‘यता बनिरहेको स्टक्चरहरु चाहीँ करिव करिब एक डेढ वर्षभित्र सम्पन्न हुने देखिन्छ । यस्तै ट्रिटमेन्ट प्लान्टहरु हामीले धेरै ठाउँमा बनाउने योजना गरेका छौँ । यसले बाग्मतीलाई सफा गर्छ । फोहोर बागमती सफा देखाउनको लागि ट्रिटमेण्ट प्लान्टहरु बनाउनपर्छ । गुह्येश्वरीमा बनेको छ, एउटा । अरु एकदुई ठाउँमा पनि बनिरहेको छ, सानो सानो । बागमती, विष्णुमती, धोवीखोला सबैलाई सफा गर्नको लागी ट्रिटमेण्ट प्लान्टहरु धेरै नै चाहिन्छ । उपत्यकाका नदी सफा गर्नको लागि धेरै ट्रिटमेण्ट प्लान्टहरु बनाउने योजनामा छौँ ।’

उनले हरेक परियोजनामा रुख कटाईमा समस्या हुने गरेको बताए । सहजै रुख काट्न नपाइने कारण विकास निर्माणका काममा ढिलाई हुने उनको भनाइ छ । उनले नदीहरुका ढल प्रशोधनका लागि सरकारले काम गरिरहेको जानकारी दिए । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप