रमेश सायनका तीन कविता
१. तिमीसम्म पुग्ने बाटो
थाहा छैन
कुन बाटो जाँदा कहाँ पुगिन्छ ।
तर जुन बाटो जाँदा तिमीसम्म पुगिन्छ
त्यही बाटो जानुछ !
यी आँखालाई तिमी भए पुग्छ ।
यो हृदयलाई तिमी भए हुन्छ ।
रित्तो छु !
खाली छु !
सानो बालकले पहिलो अक्षर लेख्न खोज्दा पाना भरि कोरे जसरी
अथवा कुनै मूर्तिकारले ढुङ्गामा प्राण भरे जसरी
तिमी मलाई जसरी पनि भर्न सक्छौँ ।
मेरो कुनै आकार छैन !
तिमी मलाई तिम्रै आकारमा ढाल्न सक्छौ ।
तिमीसम्म पुग्नु बाहेक मेरो कुनै गन्तव्य छैन
तिमीलाई हेर्नू बाहेक मेरो कुनै दृश्य छैन
तिमीलाई छुनु बाहेक मेरो कुनै स्पर्श छैन !
मेरो सम्पूर्ण इन्द्रिय हौ तिमी !
तिमीसम्म नपुगुन्जेल
मेरो इन्द्रियको कुनै अस्तित्व छैन ।
भनिदेऊ !
यी हजारौँ बाटोहरूमध्ये कुन बाटो हिँड्दा तिमीसम्म पुग्छु ।
२.गल्ती
हामीले प्रेम यसरी गरेका हौँ
एक अर्काको गल्तीसमेत
फूल जत्तिकै कोमल लाग्थ्यो
माफी माग्थ्यौँ
माफी पाउँथ्यौँ !
त्यो माफी
बच्चाले ललिपप खाइरहेको जस्तो
वा दुनियाँ भुलेर खेलौनासँग रमाइरहेको जस्तो
सुन्दर हुन्थ्यो
जानेर वा नजानेर
एक अर्काको मन दुखाउँथ्यौ
अनि फेरी माफी माग्थ्यौँ
अँगालो हालेर खुब रुन्थ्यौँ
त्यो रुवाइ
कुनै प्रख्यात कलाकारको अभिनय जस्तो
सुन्दर हुन्थ्यो
कलेजमा पढ्यौँ
रोमियो एन्ड जुलियट र मुना मदन
त्यसै साल सुनायो
पानी पुरी बेच्ने दुकानवालले
लैला मजनूको कथा
संयोग त्यही साल म ताजमहल हेर्न पुगेँ
उनलाई ताजमहलको कथा सुनाएँ
त्यसपछि
म रोमियो बनेँ
उनी जुलियट बनिन्
म मदन बनेँ
उनी मुना बनिन्
म मजनू बनेँ
उनी लैला बनिन्
म शाहाजहाँ बनेँ
उनी रानी बनिन्
हामी प्रेमीबाट कथाको पात्र बन्यौँ
यति ठुलो गल्तीमा
न उनले माफी मागिन
न मैले माफी मागेँ
चुप चाप सधैँ सधैँका लागि छुट्यौँ !
३. एक महिना
कृषि विकास बैंकबाट
भैँसी किन्न लिएको रिनको ब्याज तिर्ने समय हो
जो मिल्लिक मिल्लिक आइरहन्छ
बिदामा घर फर्केको परदेशीको समय हो
जो प्रेमीको हात सुम्सुम्याउँदा सुम्सुम्याँउदै गई जान्छ
वृद्ध आमाबाको आँखामा डुब्दा डुब्दै हिँडिजान्छ
गाउँको फेरबदल हेर्दा हेर्दै उडी जान्छ
आगामी महिना मृत्युदण्ड सुनाइएको कैदीको समय हो
जो आफ्नो गल्तीबाट जीवन तिर फर्कँदा फर्कँदै डुबिजान्छ
जो ईश्वरको नाम लिन खोज्दा खोज्दै सक्कि जान्छ
गाउँमा स्कुले केटाकेटीको बर्खे विदाको समय पनि एकै महिना हो
जो खेतका गरामा पोठिया माछा समात्ता समात्तै
झरिमा रुझेर गंगटाको खुट्टा गन्दा गन्दै
चोर पुलिस खेल्दा खेल्दै
क्यालेण्डरबाट फुत्कि जान्छ
यति छोटो हुन्छ कि कुनै बेला एक महिना
मान्नुस्– त्यो उफ्रिरहेको खरायोको एक पाइला हो
मान्नुस्– त्यो तपाईँले फेरेको एक स्वासको एक अंश हो
तर त्यही एक महिना
जब भान्समा रासन सकिन्छ
र तलब थाप्ने दिन गन्न थालिन्छ
तब कहिल्यै नभेटिने टाकुरो झैँ लम्बिन्छ
मान्नुस्– पृथ्वी घुम्न छाडेर आराम गरिरहेको छ
मान्नुस्– घडीको सेकेन्ड सुइले समेत उहिल्यै आत्महत्या गरिसकेको छ
जिन्दगी भन्नु त !
कहिले– स्वाट्टै चिप्ली जाने महिना दिनसँगै चिप्लिनु रहेछ
कहिले– कहिल्यै नभेटिने टाकुरो जस्तो महिना दिनसँग जुधिरहनु रहेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण