नारायणगढ–बुटवल सडक : अब हट्नेछ, दाउन्नेको सास्ती, केही महिनामै राहत
सारांश
- नारायणगढ-बुटवल सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ, जसले यात्रुहरूलाई छिट्टै राहत दिनेछ।
- सडक निर्माणको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ र आगामी साउनसम्ममा काम सक्ने लक्ष्य राखिएको छ।
- एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजनाको म्याद पटक-पटक थपिए पनि तोकिएको समयमै सम्पन्न गर्ने दाबी गरिएको छ।
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार करिब अन्तिम चरणमा पुगेको छ । साढे ७ वर्षदेखि सडकमा धुलो–हिलो र घण्टौँ लामो जामको सास्ती खेप्दै आएका यात्रुहरूका लागि अबको केही महिनाभित्रै राहत मिल्ने देखिएको छ ।
पटक–पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन नसकेर आलोचित बनेको यो आयोजनाको भौतिक प्रगति अहिले ७६ प्रतिशत पुगेको छ ।
आयोजनाका अधिकारीहरूले पछिल्लो समय कामको गति बढाउँदै लगिएको दाबी गरेका छन् । आगामी साउन महिनासम्म सडकको काम सकिनेछ र वर्षौँदेखि यात्रुले भोग्दै आएको विशेष गरी दाउन्ने खण्डको कष्टकर यात्रा इतिहास बन्ने दाबी छ । आयोजनास्थलमा अहिले जनशक्ति र उपकरणको परिचालन व्यापक बनाइएको छ, जसले निर्धारित समयमै काम सक्ने आधार खडा गरेको अधिकारीहरूको भनाइ छ ।
_P0Mczhl6nj.jpg)
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ चैत ८ गते सम्झौता भएर सुरु भएको यो आयोजनाको सुरुवाती म्याद २०७९ साउन २२ गतेसम्म थियो । तर, कोभिड महामारी, रुख कटानमा ढिलाइ, र निर्माण व्यवसायीको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन सकेन ।
विकास निर्माणका आयोजनामा प्रायः बजेट अभावको गुनासो सुनिने गरे पनि यस आयोजनामा भने आर्थिक समस्या नरहेको बताइएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित यो प्राथमिकता प्राप्त आयोजना हो । यसको रकम अन्यत्र रकमान्तर गर्ने, बजेट फ्रिज हुने वा नआउने समस्या छैन । तर तोकिएको म्यादमा सम्पन्न हुन नसकेर पटक–पटक म्याद थप गर्नुपरेको छ ।
पहिलो पटक थपिएको म्याद (२०८१ साउन ८) मा पनि काम नसकिएपछि दोस्रो पटक २०८२ साउन ८ सम्म म्याद थपियो । यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर २०८३ साउनसम्म पुर्याइएको छ । तर आयोजनाले भने अब म्याद थपको आवश्यकता नपर्ने र तोकिएको समयभित्रै ‘टेकिङ ओभर’ गर्ने लक्ष्य राखेको छ ।
कुल ११४ किलोमिटर लामो यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर (पूर्वी खण्ड) र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई प्याकेजमा विभाजन गरेर काम भइरहेको छ ।
१६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागतमा विस्तार भइरहेको यो सडक सम्पन्न हुँदा ७० किलोमिटर चार लेन, २९ किलोमिटर सहरी क्षेत्रमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन र दाउन्नेको १४ किलोमिटर सडक तीन लेनको हुनेछ ।
- पूर्वी खण्डमा साढे ४ किलोमिटर कालोपत्र हुन बाँकी
आयोजनाको पूर्वी खण्डमा हालसम्म ७६.६४ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । वित्तीय प्रगति पनि ६९ प्रतिशतको हाराहारीमा पुगेको छ । पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अब यो खण्डमा कालोपत्र गर्नुपर्ने काम निकै कम बाँकी छ ।
नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरको पूर्वी खण्डमा करिब साढे ४ किलोमिटर सडक मात्र कालोपत्र गर्न बाँकी छ ।
खनालले रातोपाटीसँग भने, ‘जसमा दाउन्ने क्षेत्रमा ३ किलोमिटर र अरुणखोला तथा चोरमारा पुलको मुख (एप्रोच) तर्फ डेढ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । बाँकी खण्डमा कालोपत्र जोडिसकिएको छ र सडक सञ्चालनमा कुनै अवरोध छैन ।’
यस खण्डमा संरचनागत कामहरू पनि अन्तिम चरणमा छन् । कुल ३४ वटा पुलमध्ये ३३ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । १२ वटा ठुला र २२ वटा साना पुलमध्ये अब अरुणखोलाको पुल मात्र निर्माणको चरणमा छ । ८ वटा स्पान रहेको उक्त पुलमा ३ वटा स्पानको काम सकिएको र ५ वटा बाँकी रहेको जानकारी दिए । साथै इन्जिनियर खनालले आगामी २ महिनाभित्र यो पुल पनि पूर्ण रूपमा तयार हुने बताए ।

सूचना अधिकारी खनालले थपिएको म्याद (जुलाई २३) भित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । ‘हामीले ९० प्रतिशत काम सकेपछि आयोजना सम्पन्न भएको मानेर ‘टेकिङ ओभर’ गर्छौँ, बाँकी १० प्रतिशत काम ५ वर्षे मर्मत सम्भार अवधिमा हुनेछ,’ उनले भने, ‘अहिलेको गतिमा काम हुँदा जेठ १५ गतेभित्रै (जुन महिनासम्म) मुख्य काम सकिने देखिन्छ ।’
आयोजनाको थपिएको म्यादअनुसार आगामी जुलाई २३ (२०८३ साउन ७) सम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ । सूचना अधिकारी खनालका अनुसार हालको कार्यप्रगति र गति हेर्दा तोकिएको समयभित्रै काम सम्पन्न हुने देखिएको छ ।

- पश्चिम खण्डमा के–के काम बाँकी छ ?
नारायणगढ–बुटवल सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा पनि कामले गति लिएको छ । पश्चिम खण्डको भौतिक प्रगति करिब ७६ प्रतिशत पुगेको छ । आयोजनाका सूचना अधिकारी विकास खनालले हालसम्म ७५.९४ प्रतिशत भौतिक र ७०.०५ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिएका छन् ।
खनालका अनुसार सडक कालोपत्रको काम ७५ प्रतिशत सकिएको छ भने अब २५ प्रतिशत सडकमा मात्र बाँकी छ ।
सबैभन्दा चुनौतीपूर्ण मानिएको दाउन्नेको उकालो क्षेत्रमा ५ किलोमिटर सडकलाई ‘रिजिड पेभमेन्ट’ (कंक्रिट ढलान) गरिँदै छ । जसमध्ये २ किलोमिटर काम सम्पन्न भइसकेको छ । दाउन्नेको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै काम छिटो सक्न निर्माण व्यवसायीले जनशक्ति थप बढाएका छन् ।
‘दाउन्नेमा रिजिड पेभमेन्टको काम छिटो सक्न कामदारको समूह २–३ वटाबाट बढाएर १० वटा पुर्याइएको छ,’ खनालले भने, ‘दाउन्ने खण्ड र केही एप्रोच रोडबाहेक अन्य स्थानमा ‘वान–वे’ सडक पूर्ण रूपमा क्लियर भइसकेको छ । विद्युत् पोल र खानेपानीको पाइप सार्ने काम पनि दाउन्ने बाहेकका स्थानमा सकिएको छ ।’
खनालले दाउन्ने खण्ड र केही एप्रोच रोडबाहेक अन्य स्थानमा ‘वान–वे’ सडक पूर्ण रूपमा क्लियर भइसकेको जानकारी दिए ।
यस्तै पश्चिम खण्डमा पर्ने ९ वटै ठुला पुल (मेजर पुल)को निर्माण कार्य सम्पन्न भइसकेको छ । साना पुलतर्फ भने ३४ वटा निर्माण सम्पन्न भएका छन् । बर्दघाटमा एउटा पुल निर्माणको चरणमा छ । उक्त पुलको अहिले ‘र्याफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यो पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

त्यस्तै यस खण्डमा रहेका २५३ वटा बक्स कल्भर्टमध्ये २४९ वटाको निर्माण सकिएको छ । बाँकी रहेका ३ वटा कल्भर्ट दाउन्ने क्षेत्रमा निर्माणाधीन अवस्थामा छन्, जसलाई माघ मसान्तसम्म सक्ने योजना रहेको खनालले बताए ।
निर्माण व्यवसायीले कामको गति बढाएको भन्दै आयोजनाले हाल थपिएको म्यादभित्रै काम सम्पन्न हुने दाबी छ ।
‘हामीले म्यानपावर र उपकरणहरू म्यादभित्रै काम सक्ने गरी परिचालन गरेका छौँ । अब म्याद थप्नुपर्ने अवस्था आउँदैन, तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेका छौँ,’ खनालले भने ।
हाल सडकमा सर्भिस लेनको बेस बनाउने, मिडियममा टर्फिङ गर्ने र बजार क्षेत्रमा रोड मार्किङ गर्ने कामहरू पनि तीव्र गतिमा भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण