बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेकपा एमालेको ११औँ महाधिवेशन

सुदूरपश्चिमबाट सचिव बन्न नेताहरूबिच हानथाप, को–को छन् दौडमा ?

आइतबार, २१ मङ्सिर २०८२, १४ : ००
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा पार्टीको नेतृत्व तहमा पुग्न नेताहरूको दौडधुप तीव्र भएको छ।
  • सचिव पदका लागि लेखराज भट्ट, कर्ण थापा, ऐन महर र दामोदर भण्डारी लगायतका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ।
  • महाधिवेशनमा पदाधिकारीको संख्या घटाइएपछि सुदूरपश्चिमबाट कति जना समेटिन्छन् र को अटाउने भन्ने चासो बढेको छ।

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा पार्टीको नेतृत्व तह (पदाधिकारी) मा पुग्न नेताहरूबिच दौडधुप तीव्र बनेको छ । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनबाट पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न सुदूरपश्चिमका पुराना तथा प्रभावशाली नेताहरू यतिबेला आन्तरिक लबिङ र शक्ति सन्तुलनको जोड–घटाउमा व्यस्त देखिएका छन् ।

खासगरी सचिव पदमा सुदूरपश्चिमबाट कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीको माथिल्लो तहमा पुग्नका लागि सचिव पद पहिलो खुट्किलो हुनका साथै विधान संशोधनमार्फत पदाधिकारीको सङ्ख्या घटाइएको कारण पनि यहाँका नेताहरूका लागि यो महाधिवेशन ‘फलामको चिउरा’ सरह हुने विश्लेषण गर्न थालिएको छ ।

चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा सुदूरपश्चिमबाट तत्कालीन माओवादी पृष्ठभूमिबाट आएका नेता लेखराज भट्ट सचिवमा निर्वाचित भएका थिए । यस पटक पार्टीले पदाधिकारीको सङ्ख्या १९ बाट घटाएर १५ बनाउने तयारी गरेको छ, जसमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने व्यवस्था हुन सक्ने चर्चा छ । पद घट्दा स्वतः प्रतिस्पर्धा पेचिलो बन्ने छ ।

यस्तो अवस्थामा सुदूरपश्चिमबाट केन्द्रीय पदाधिकारीमा कति जना समेटिन्छन् भन्ने चासो एकातिर छ भने अर्कोतिर ‘को अटाउने’ भन्ने होड उत्तिकै रोचक बनेको छ । सुदूरपश्चिमको भूगोल र पार्टी सङ्गठनमा लामो समय योगदान गरेका नेताहरूका लागि सचिव पद प्रतिष्ठाको विषय बनेको छ ।

अहिले पदाधिकारी सङ्ख्या घट्दा सुदूरपश्चिमबाट मात्रै आधा दर्जनभन्दा बढी नेता आकाङ्क्षी देखिएका छन् ।

  • लेखराज भट्ट सुरक्षित कि अप्ठ्यारोमा ?

सुदूरपश्चिमबाट अहिले पनि सचिवको जिम्मेवारीमा रहेका लेखराज भट्ट ११औँ महाधिवेशनमा पनि पदाधिकारीमा दोहोरिने लगभग निश्चित जस्तै देखिन्छ । पूर्वमाओवादी खेमाबाट आएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकको सम्बन्ध बनाएका भट्टको व्यवस्थापन एमाले नेतृत्वका लागि रणनीतिक महत्त्वको विषय हो ।

स्रोतका अनुसार भट्टले सचिवभन्दा माथिल्लो पद (उपमहासचिव वा उपाध्यक्ष) मा दाबी गर्ने तयारी गरेका छन्, तर पदाधिकारी सङ्ख्या कटौती भएर उनले सचिवमै चित्त बुझाउनुपर्ने अवस्था आएमा सुदूरपश्चिमका अन्य आकाङ्क्षीको ढोका बन्द हुन सक्ने जोखिम छ ।

भट्ट पदाधिकारीमा रहँदा अर्को एक जनालाई सचिवमा लैजान भूगोल र सन्तुलनका हिसाबले नेतृत्वलाई सकस पर्ने देखिन्छ ।

सुदूरपश्चिमबाट सचिव पदका लागि स्थायी कमिटी सदस्य कर्ण थापा पनि सबैभन्दा बलिया दाबेदारका रूपमा देखिएका छन् । लामो समय एमालेको राजनीतिमा सक्रिय रहेका र सुदूरपश्चिममा पार्टी संगठन हाँकेका थापा यस पटक जसरी पनि पदाधिकारीमा छिर्ने दाउमा छन् । पूर्वप्रदेश इन्चार्ज समेत रहिसकेका थापा १० औँ महाधिवेशनमा पनि सचिवका आकाङ्क्षी थिए, तर समीकरण मिलाउँदा उनी बाहिर रहनुपरेको थियो । यस पटक उनी कुनै पनि हालतमा सचिव वा सो सरहको भूमिकामा जाने तयारीमा छन् । पुराना एमाले नेता कार्यकर्ता माझ उनको पकड राम्रो मानिन्छ ।

  • ऐन महरको बलियो दाबेदारी

युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य ऐन महरले पनि सचिव पदमा बलियो दाबी प्रस्तुत गरेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका महर अनेरास्ववियुको अध्यक्ष भइसकेका प्रभावशाली युवा नेता हुन् । निजामती र फौजी सङ्गठनमा जस्तै पार्टीमा युवाहरूको क्षमता रोकिन नहुने भन्दै उनले खुला प्रतिस्पर्धाबाटै भए पनि नेतृत्वमा स्थापित हुने बताउँदै आएका छन् । देशव्यापी नेटवर्क भएका महरले युवाहरूको कोटा र भूगोलको प्रतिनिधित्व दुवैलाई आधार बनाएर सचिवमा दाबी गरिरहेका छन् ।

  • दामोदर भण्डारीको दाबी

सचिव पदका लागि सुदूरपश्चिमबाट पूर्वउद्योगमन्त्री तथा निवर्तमान सांसद दामोदर भण्डारी पनि सशक्त दाबेदार हुन् । बैतडीबाट लगातार चुनाव जितेर आफ्नो प्रभाव सिद्ध गरेका भण्डारी पार्टी अध्यक्ष ओलीसँग निकट मानिन्छन् ।

  • नारदमुनि राना पनि आकाङ्क्षी

पोलिटब्युरो सदस्य नारदमुनि राना पनि पदाधिकारीका आकाङ्क्षी हुन् । उनी राना थारु समुदायको प्रतिनिधित्व र भूगोलको सन्तुलन मिलाउन आफूलाई पदाधिकारीमा समेट्नुपर्ने तर्क गरिरहेका छन् ।

  • ‘क्लस्टर’ र सङ्ख्याको सकस

एमालेका सुदूरपश्चिमका एक नेताका अनुसार, यस पटक कोशी प्रदेशबाट पदाधिकारीमा धेरै दाबेदार देखिएकाले सुदूरपश्चिमलाई कति ‘स्पेस’ दिने भन्नेमा नेतृत्व दबाबमा छ । ‘लुम्बिनी र कोशीबाट धेरै नेता छन् । सुदूरपश्चिमबाट लेखराज कमरेड पदाधिकारीमा पक्काजस्तै हुनुहुन्छ, त्यसपछि अर्को एक जना सचिव थप्नका लागि कर्ण थापा र ऐन महरबिच कडा टक्कर हुने देखिन्छ,’ ती नेताले भने ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएमा सुदूरपश्चिमबाट १ वा २ जनामात्र पदाधिकारीमा अटाउन सक्ने सम्भावना छ, तर निर्वाचन भएको खण्डमा भने यहाँका नेताहरूले प्यानल बनाएर वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले नेतृत्वले पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य कटौती गरेका कारण सचिव पदमा सुदूरपश्चिमका पुराना नेता कर्ण थापा र उदाउँदा युवा नेता ऐन महरबिचको प्रतिस्पर्धा रोचक हुने निश्चित छ । सुदूरपश्चिमको भूगोल, जातीय सन्तुलन र पूर्वमाओवादी व्यवस्थापनको त्रिवेणी मिलाउँदा कसको पल्ला भारी हुन्छ, त्यो भने महाधिवेशन स्थलमै देखिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप