मुस्ताङका उच्चलेकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
सारांश
- मुस्ताङमा हिउँ चितुवाको संख्या पत्ता लगाउन क्यामेरा ट्र्यापिङ सुरु गरिएको छ।
- हिउँ चितुवाको आहारा प्रजाति, जलवायु परिवर्तन र मानव-हिउँ चितुवा द्वन्द्वबारे अध्ययन हुनेछ।
- मुस्ताङमा हिउँ चितुवा र मानिसबीचको द्वन्द्व बढेकाले संरक्षणमा चुनौती थपिएको छ।
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या एकीन गर्न विस्तृत अध्ययन अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा यो कार्य थालिएको हो।
बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या, उनीहरूको आहारा प्रजातिको अवस्था, मानव-हिउँ चितुवाबिचको द्वन्द्व तथा जलवायु परिवर्तनको प्रभावबारे जानकारी लिन क्यामेरा ट्यापिङ सुरु गरिएको हो।
गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी लगायतका उच्च लेकहरूमा १५ वटा क्यामेरा जडान गरिएको छ। आजदेखि घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्च लेकमा थप क्यामेरा जडान गरिने कार्यक्रम छ।
बायोकोस र एक्यापका प्राविधिक टोलीले हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रलाई केन्द्रित गरी क्यामेराहरू जडान गरेका हुन्। यी क्यामेराहरू हिउँद यामभरि (दुई महिनासम्म) लेकमा राखिनेछन्।
बायोलोजिस्ट गुरुङले दुई महिनापछि क्यामेराहरू झिकेर डाटा विश्लेषण गरिने र सङ्कलित सबै डाटा एक्यापलाई हस्तान्तरण गरिने जानकारी दिए। बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न भागमा नाउर (ब्लु सिप) अध्ययनको साथसाथै हिउँ चितुवाको पनि अध्ययन गर्दै आएको छ। मुस्ताङमा यस प्रकारको कार्यक्रम पहिलो पटक भएको गुरुङले बताए।
पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानवबिचको द्वन्द्व बढेको पाइएको छ। जलवायु परिवर्तनका कारण उच्च लेकमा चरनक्षेत्रको घाँस पलाउन छोडेको र पानीका स्रोत सुक्दै जाँदा नाउर लगायतका आहारा जनावरहरू खोला र बस्तीतिर झर्छन्। हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक पुग्दा पशुपालकहरूको गोठमा क्षति पुर्याउने घटनाहरू दोहोरिएका छन्। यसले हिउँ चितुवाको संरक्षण र मानवसँगको सहअस्तित्व कायम गर्न चुनौती बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण