बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मूल्यवृद्धि

२० दिनमा ४ पटक बढ्यो अण्डाको मूल्य

सोमबार, २२ मङ्सिर २०८२, १४ : ००
सोमबार, २२ मङ्सिर २०८२

काठमाडौँ । मंसिरको २० दिनभित्र अण्डाको मूल्यमा चारपटक फेरबदल भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुनेगरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ । यो नयाँ निर्णयसँगै महिनाको सुरुवाती मूल्यको तुलनामा अहिले अण्डाको भाउ महँगिएको छ ।

संघले सार्वजनिक गरेको तथ्यांक हेर्दा मंसिर ३ गते ४५० रुपैयाँ प्रतिक्रेट रहेको ठुलो अण्डाको मूल्य त्यसको २० दिनपछि अर्थात् मंसिर २३ गते आइपुग्दा ५६५ रुपैयाँ पुगेको छ । यस अवधिमा ठुलो अण्डा प्रतिक्रेट ११५ रुपैयाँले मूल्य वृद्धि भएको देखिन्छ । संघले सुरुमा मंसिर ३ गते, त्यसपछि ७ गते र १३ गते मूल्य बढाएको थियो । 

Egg Price Mangsir 2

Egg Price Mansir 6

पछिल्लो पटक १३ गते ५४५ रुपैयाँ तोकिएको ठुलो अण्डाको मूल्य मंगलबारदेखि लागु हुनेगरी ५६५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै ‘एक्स्ट्रा लार्ज’ (एक्स एल) अण्डाको मूल्य ५८० रुपैयाँ र मिडियम अण्डाको मूल्य ५५० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।

Egg Price Mansir 12

छोटो समयमै पटक–पटक मूल्यमा भएको यो उतारचढावलाई नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बजारको सामान्य चक्रको रूपमा व्याख्या गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले अण्डाको मूल्य पूर्णतः माग र आपूर्तिको सिद्धान्तमा चल्ने बताए । 

‘बजारमा माग बढ्दा र उत्पादन घट्दा मूल्य बढ्नु स्वाभाविक हो । अण्डा सिमेन्ट वा रडजस्तो लामो समय भण्डारण गरेर राख्न नमिल्ने भएकाले बजारको माग अनुसार महिनामै धेरैपटक पनि मूल्य तलमाथि हुन सक्छ,’ उनले भने । माग उच्च भएको अहिलेको अवस्थामा मूल्य बढ्दा किसानले राहत महसुस गरेको उनको भनाइ छ । 

संघले तोकेको यो मूल्य किसानले पाउने ‘फार्म रेट’ मात्र हो । उपभोक्ताको भान्सासम्म पुग्दा यसको मूल्य अझै बढ्छ । अध्यक्ष पोखरेलका अनुसार फार्मबाट उपभोक्तासम्म पुग्दा ढुवानी भाडा, बाटोमा अण्डा फुट्ने जोखिम (ब्रेकेज) र वितरकको मार्जिन जोडिन्छ । ढुवानीका क्रममा प्रतिगोटा ५० देखि ७५ पैसा खर्च लाग्ने र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा औसतमा एक क्रेटमा दुईवटासम्म अण्डा फुट्ने जोखिम रहने उनी बताउँछन् । यसबाहेक सप्लायर्स र खुद्रा बिक्रेताको नाफा समेत जोडिँदा उपभोक्ता मूल्य फार्म रेटभन्दा बढी पुग्छ । 

संघले चितवनलाई आधार मानेर यो मूल्य निर्धारण गरेको हो । चितवनबाट बाहिरी जिल्लाका डिपोमा अण्डा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप शुल्क लाग्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप