बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लैङ्गिक तथा जातीय आधारमा हुने हिंसाविरुद्ध निर्मम बन्नुपर्नेमा जोड

सोमबार, २२ मङ्सिर २०८२, २३ : १३
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • लैङ्गिक र जातीय हिंसाविरुद्ध निर्मम बन्नुपर्नेमा जोड दिइयो।
  • दलित महिला संघ (फेडो) ले कार्यक्रम आयोजना गर्‍यो, जसमा वक्ताहरूले विचार व्यक्त गरे।
  • राष्ट्रिय दलित आयोगका अध्यक्षले हिंसा मानवअधिकारको उल्लङ्घन भएको बताए।

काठमाडौँ। सोमबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले लैङ्गिक तथा जातीय आधारमा हुने हिंसाविरुद्ध निर्मम हुनुपर्नेमा जोड दिएका छन् । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा सोमबार दलित महिला सङ्घ (फेडो) ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले आधुनिक समाजमा जात र लिङ्गकै आधारमा हिंसा हुनु कानुनी र सामाजिक अपराध भएको उल्लेख गर्दै यस विरुद्ध सबै निर्मम भएर लाग्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले कुनै पनि बहानामा कसैमाथि हिंसा हुनु मानवअधिकारको गम्भीर उल्लङ्घन र समाज विकासको अवरोधक भएको बताए । उनले सामाजिक चेतना र व्यक्तिमा आफ्नो अधिकारबारे जागरूकता आएकाले हिंसा प्रतिरोधी भावना विकास भए पनि अवस्था अझै सन्तोषजनक नरहेको धारणा राखे । 

“हरेक व्यक्ति आफ्नो अधिकारबारे सचेत बन्दैछन्, तर सोहीअनुसार हिंसाका स्वरूप पनि बदलिँदै गएका छन् । यस कारण सरकार र सरकारका निकाय, अधिकारवादी सङ्घसंस्थाले पनि आफ्ना रणनीति बदल्दै हिंसाविरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्छ”, उनले भने । 

प्रगतिशील लोकतान्त्रिक पार्टी, अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवले सरकारी र गैरसरकारी संस्थाले हरेक वर्ष सार्वजनिक गर्ने तथ्याङ्कले समाजमा विविन्न कारणले कमजोर, दलित तथा सीमान्तकृत महिला तथा बालिका बढी हिंसामा पर्ने गरेको तथ्य उजागर गरे पनि सोअनुसार काम हुन नसकेको बताइन् । फेडोका संस्थापक अध्यक्ष सोवले तथ्य र तथ्याङ्कमा आधारित रहेर महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध अभियान सञ्चालन गर्न सरकार र सरकारका निकाय नै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै त्यसमा सामाजिक संस्था आवश्यक सहकार्य गर्न तयार रहेका बताइन् । 

संविधानसभा सदस्य कमला विश्वकर्माले समाजमा रहेका सबै प्रकारका विभेद र हिंसा न्यूनीकरणका लागि बनेका ऐन, कानुन कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने बताइन् । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी परियारले समय क्रममा सबै ठिक हुन्छ भनेर हिंसालाई सहन नसकिने भन्दै गलत प्रथा र परम्पराविरुद्ध सबैले आवाज उठाउनुपर्ने बताइन् । 

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि, फेडोका अध्यक्ष  कला स्वर्णकार, कार्यकारी निर्देशक डा रविना जी रसाइलीलगायतले सरकारका निकाय र अधिकारवादी संघ संस्था एकताबद्ध भएर हिंसा न्यूनीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप