शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसपालिको मेरो भोट लोकतन्त्रलाई

मङ्गलबार, २३ मङ्सिर २०८२, ११ : ४५
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • नेपालको संविधानले निर्दिष्ट गरेको मताधिकारको महत्व बुझ्न आवश्यक छ, किनकि हामी अझै मतको दान गर्ने प्रवृत्तिमा छौँ।
  • निर्वाचनमा मतदाता शिक्षा र चेतनाको कमीले गर्दा देशमा बेथिति र लाचारी बढेको छ, जसले नेताहरूको अकर्मण्यता र जवाफदेहिताको अभाव निम्त्याउँछ।
  • आगामी निर्वाचनमा आफ्नो मतको सही सदुपयोग गर्नुपर्छ र देश विकासका लागि राम्रो उम्मेदवार छनोट गर्नुपर्छ।

नेपालको संविधानले नेपाली जनताको सार्वभौम अधिकारको रूपमा निर्दिष्ट गरेको मताधिकारको मूल्य र मान्यताबारे हामी अझै अभ्यस्त भइसकेका छैनौँ । सामान्य बोलीचालीको भाषामा मतदान भनिएता पनि हामी अझै मतको दान नगरी बिक्री गर्ने प्रवृत्तिमै छौँ भन्दा अत्युक्ति हुँदैन ।

विगतमा सम्पन्न आम निर्वाचनले यस्तो प्रवृत्ति हामीमा अझै कायमै छ भन्ने प्रस्ट पारेको छ । मतदान भनेको आफूले रोजेको, स्वच्छ र पारदर्शी व्यक्तिलाई मत दिने हो । त्यसरी कुनै दल वा व्यक्तिलाई दिएको मतको दानले भोलीका दिनमा आफूलाई पार्ने प्रभाव, उक्त व्यक्ति वा दलको प्रकृतिबारे राम्रो जानकार हुनुपर्छ । 

कानुनी रूपमा स्पष्ट परिभाषित नभए पनि मतदाताको शिक्षा र चेतना निर्वाचनको प्रभावकारिताको अपरिहार्य तत्त्व हो ।

विगतमा हामीले आफ्नो मतको दान गरेको भए पक्कै पनि आज देशमा यस्तो हविगत, बेतिथि तथा लाचारी व्यहोर्न नपर्ने हुन्थ्यो होला । विविध शैलीका प्रलोभनको आधारमा भएको निर्णयले हामीलाई मात्रै अप्ठेरोमा पारेको छैन । निर्वाचन मार्फत जितेर गएका विजयी उम्मेदवारहरू पनि चुनावको खर्च उठाउने वा अर्को चुनावका लागि लगानीको तयारीमा केन्द्रित हुने समस्या देखिने गरेको छ । 

विजयी नेताको अकर्मण्यता तथा मतदाताको नैतिक धरातल कमजोर हुने अवस्थाले उत्तरदायित्व एवं जबाफदेहिता समेत सङ्कटमा पुग्ने अवस्था सिर्जना हुन पुग्यो । देश जनताले चलाउने हो । नेताले होइन । विडम्बना नै भन्नुपर्छ हाम्रो देश भने पार्टी र पार्टीका मुखियाले चलाउँछन् । 

उनीहरूले देश चलाउँदा आफ्नो पार्टीको सानो घेरा बाहेक केही हेर्दैनन् । उनीहरूको गल्तीमा औला उठाउने कोही हुँदैनन् । निर्वाचनताकाको लेनदेनका कारण ठुलो सङ्ख्याका मानिसहरूको आलोचनात्मक चिन्तनमा बिर्को लाग्छ । हाम्रो अधोगतिको सुरुवात त्यही बिन्दुबाट हुन्छ । यसैको गलत फाइदा गलत नेताहरूलाई पुग्न जान्छ ।

आफ्नो मतको दुरुपयोग हुनसक्ने बारे खबरदारी गर्नुपर्ने जिम्मेवारीबाट च्युत हुनुको परिणाम देशले गत भदौ २३ र २४ को घटना भोग्नुपर्‍यो । त्यही जिम्मेवारीको सन्दर्भ जेनजीहरुले उठाएका हुन् ।

देशको धरातलीय अवस्थाबारे नेता र उसका सहायकहरू जानकार हुँदैनन् । देशको आर्थिक अवस्था, सरकारले जनतालाई दिनुपर्ने आधारभूत सुविधाको अवस्था जस्ता आधारभूत विषय नै गौण हुन पुग्छन् । त्यसो हुँदा देश विकासको बाटोमा पछाडि पर्दै जान्छ । यी सबैको मूलमा निर्वाचनताका जनताको एउटा पङ्क्तिले सित्तैमा खाएको एक थाल भात आइपुग्छ । 

आफ्नो मतको दुरुपयोग हुनसक्ने बारे खबरदारी गर्नुपर्ने जिम्मेवारीबाट च्युत हुनुको परिणाम देशले गत भदौ २३ र २४ को घटना भोग्नुपर्‍यो । त्यही जिम्मेवारीको सन्दर्भ जेनजीहरुले उठाएका हुन् । उनीहरू खबरदारीकै लागि सडकमा आएका हुन् ।

०४६ सालयता हामी विविध स्वरूपका बहुदलीय निर्वाचनमा भाग लिँदै आएका छौँ । यस क्रममा विभिन्न दल तथा नेताहरूले आफ्ना घोषणापत्रमार्फत योजना तथा कार्यक्रमका खाका प्रस्तुत गरेकै छन् । निर्वाचन पश्चात् ती घोषणापत्र, कार्यक्रम तथा एजेन्डाको कार्यान्वयनको मूल्याङ्कन तथा लेखाजोखा भने हुने गरेकै छैन । त्यही कारण पनि हुनुपर्छ घोषणा पत्रमा हुने निर्जीव निबन्ध पढ्ने जाँगर समेत अधिकांशमा देखिन्न ।

यस्तो थिति सधैँ देशले झेल्न सक्दैन । नेपाली राजनीतिमा गलत राजनीतिको हालीमुहाली सधैँ रहनु हुँदैन । अब प्रत्येक नागरिकले  सरकारसँग प्रश्न गर्न सक्ने गरी आफ्नो मतको सदुपयोग गर्नुपर्छ । मतदाताको अधिकार र कर्तव्य राम्रोसँग ठम्याउन सक्नुपर्छ । राज्य, सरकार तथा आफ्ना जनप्रतिनिधिलाई जबाफदेही बनाउने नैतिक हक राख्नुपर्छ । 

चिटिक्कको अनुहार देखाएर हाम्रो मत लुट्नेहरूलाई पाखा लगाई देश जनताको हितमा सोच्नेलाई आफ्नो मत दिने साहस गर्नुपर्छ ।

आफ्नो अधिकारकै मात्र पनि पूर्ण एवं सही उपयोग गर्न सकेको अवस्थामा देशमा सुशासन सम्भव छ । जनताले सोचे जस्तो सरकारको निर्माणले देशले आर्थिक उन्नति गर्नबाट कसैले पनि रोक्न सक्दैन । अब हिम्मत गर्नै पर्छ । आफ्नो मतको सही उपयोग कहाँ हुने हो यस तर्फ गम्भीर रूपमा विचार गर्नुपर्छ । 

चिटिक्कको अनुहार देखाएर हाम्रो मत लुट्नेहरूलाई पाखा लगाई देश जनताको हितमा सोच्नेलाई आफ्नो मत दिने साहस गर्नुपर्छ । गलत व्यक्तिलाई मत दिँदै गर्दा तत्कालका लागि एक थाल मासु–भात त मिल्ला तर सही व्यक्तिको छनौट हुन नसक्दा अधिकांश परिवारहरू भोको रहनु पर्ने हुन्छ । त्यसैले यस विषयमा सबै मतदाता सचेत रहनु आवश्यक छ ।

यो चुनाव अरू कसैको होइन । हाम्रो हो । मतदाताको हो । मतले कहिल्यै पनि धनी र गरिबलाई छुट्ट्याउँदैन । धनीको एक मत र गरिबको एक मत बराबर हुन्छन् । अतः आवेग नरोजौँ । तत्कालीन प्रलोभनमा नफसौँ । राम्रो उम्मेदवार र पार्टी खोजौँ । राम्रो रोजौँ । आउने निर्वाचनमा आफ्नो मत विकासका लागि सुनिश्चित गरौँ । 

दृढता पूर्वक आफ्नो भोट नेपालको लोकतन्त्र र विकासका लागि हो भन्ने हिम्मत गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खडकसिंह रावल
खडकसिंह रावल
लेखकबाट थप