अम्लेखगञ्ज–बरौनी चल्ने ट्यांकरहरू विमानस्थलमा व्यवस्थापन
सारांश
- नेपाल आयल निगमले बरौनीबाट पेट्रोल ढुवानी गर्ने ट्यांकरहरूलाई विमानस्थलमा व्यवस्थापन गरेको छ।
- मोतिहारी-अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आउन थालेपछि निगमले ट्यांकरलाई हवाई इन्धनमा प्रयोग गर्दैछ।
- ट्यांकर सञ्चालकहरूले काठमाडौँ, भैरहवा र विराटनगर विमानस्थलमा इन्धन ढुवानी गर्नेछन्।
बारा । नेपाल आयल निगमले बरौनीबाट पेट्रोल ढुवानी गरिरहेका ट्यांकरहरूलाई विमानस्थलमा व्यवस्थापन गरेको छ ।
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन सुरु भएपछि निगमले १०४ वटा ट्यांकरहरूलाई हवाई इन्धन ढुवानी गर्न विमानस्थलमा व्यवस्थापनमा गरेको हो । मंसिर १२ गतेभित्र रुट परिवर्तनका लागि ट्यांकर सञ्चालकहरूसँग निवेदन दिन निगमले सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा ट्यांकर सञ्चालकहरूले निवेदन दिएका थिए । सोही निवेदनका आधारमा काठमाडौ, भैरहवा र बिराटनगर विमानस्थलमा हवाई इन्धन ढुवानीमा व्यवस्थापन गर्ने निर्णय भएको निगमले जनाएको छ ।
नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख प्रलयङ्गकर आचार्यले अम्लेखगञ्ज–बरौनी रुटमा पेट्रोल ढुवानी गर्ने १०४ ट्यांकरहरूलाई निगमले व्यवस्थापन गर्न सुरु गरेको बताएका छन् । आचार्यले हवाई इन्धन ढुवानीका लागि प्रयोग गर्ने ट्यांकरहरूको मर्मतसम्भार, इपिकोट, क्यालिब्रेस, रंगरोगन लगायत सम्पुर्ण प्राविधिक सुधार गर्न सूचना गरिसकेको जनाए ।
मोतिहारी–अम्लेखगञ्ज पेट्रलियम पाइपलाइन २०७६ भदौदेखि सञ्चालनमा आएको हो । पहिलो चरणमा डिजेल मात्रै आयात भएपनि गतवर्षदेखि पाइपलाइनबाट पेट्रोल र मट्टीतेल समेत ल्याउन सुरु भइसकेको छ ।
पाइपलाइनबाट डिजल,पेट्रोल र मट्टीतेल आयात हुन थालेपछि निगमले व्यवस्थापन गर्न बाँकी रहेका ट्यांकरहरूलाई यस वर्ष व्यवस्थापन गरेको हो ।
पेट्रोलियम ढुवानी व्यवसायी संघ बाराका अध्यक्ष मानसिङ्ग लामाले १०४ ट्यांकरहरूलाई हवाई इन्धन ढुवानीमा व्यवस्थापन गर्ने भनिएपनि कुन–कुन विमानस्थलमा खटाउने भन्ने जानकारी नआएको बताएका छन् । ‘हाम्रो ट्यांकरहरू काठमाडौ, भैरहवा, विराटनगर विमानस्थल पठाउने भन्ने सुनेका छौ, तर कहा कतिवटा ट्यांकरहरू पठाउने भन्ने जानकारी हामीलाई पनि छैन,’ संघका अध्यक्ष लामाले भने, ‘बिहीबार र शुक्रबार हामीलाई केन्द्रीय कार्यालय छलफलमा बोलाईएको छ, त्यसपछि टुंगो लाग्ला ।’
व्यवस्थापनको अन्तिम चरणमा रहेका १०४ मध्ये अधिकाशं ट्यांकरहरू अम्लेखगञ्जकै स्थानीयहरूको हो । ढुवानी व्यवसायी संघका अध्यक्ष लामाले कुनै कारणवश पाइपलाइनमा समस्या भएमा स्थानीय ट्यांकरहरू प्रयोग ल्याउन सकिने बताउछन् ।
मोतिहारीबाट पाइपलाइनमार्फत आयात गरिएको पेट्रोलियम पदार्थ अम्लेखगञ्जबाट देशभरका ठुला साना सहरहरूमा ढुवानी हुने गर्दछ । अम्लेखगञ्ज डिपोबाट काठमाडौँ, पोखरा, जनकपुर, बिराटनगर, वीरगञ्ज लगायत देशभरका मुख्य ठुला सहरहरू र स्थानीय बजारमा गरेर दैनिक ३५० ट्यांकर पेट्रेलियम पदार्थ लोड भएर ढुवानी हुने निगमले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण